जातीय चेतना
एक दिन मैले पढाइरहेको गौरीशंकर हाइस्कुल रामेछापमा आधा दिन हिँडेर एकजना वृद्ध मलाई भेट्न आउनुभयो। गोजीबाट दुईवटा गुहारु, मिरु (अण्डा) झिकेर टोपीमा राख्दै टेबलमा राखिदिनुभयो। चाउरिएको अनुहार, फुल्दै गरेको केश, फाटेको ठाउँमा टालेको कपडा, खाली खुट्टा भए पनि खुसी देखिनुहुन्थ्यो। गुहारुतर्फ देखाउँदै किन यो ल्याउनु भो? म के सहयोग गरौं भनेंर सोधेँ। खुसी हुँदै 'केही सहयोग गर्नुपर्दैन, हाम्रो जिल्ला (रामेछाप) मा पहिलोचोटि मगर ठूलो मान्छे भएर आएकाले तपाईंलाई भेट्न आएको हुँ। मगर परम्परामा ठूलो मान्छे भेट्न जाँदा खाली हात अशोभनीय हुने भएकाले घरकै गुहारु कोसेली लिएर आएको हुँ' भन्नुभयो। ती वृद्ध मगरको हार्दिकताले गोरेबहादुर खपाङ्गी मगरलाई प्रभावितमात्रै पारेन्, आफ्नो समुदायमा फर्कनसमेत बाध्य बनायो। रातभर मगर वृद्धको अनुहार र मगर जातिको तस्बिरले पच्छाइरहेको त्यो घटना हामीलाई धेरैपटक सुनाएका गोरेबहादुरले आफ्नो फेसबुकको आत्मकथा मगरमाला शृङ्खलामा पनि लेखेका थिए यसलाई।
गोरेबहादुर खपाङ्गी सामान्य व्यक्तिमात्र थिएनन्। भ्रमण, अनुसन्धान र भेटघाटले उनलाई यति तिखारेको थियो कि चिनेजानेकाहरु जातीय मुक्तिका विषय उठ्दासाथ उनलाई यसको विश्वविद्यालयकै पगरी गुथाइदिइहाल्थे।
वामपन्थी भए पनि मगर संघको संागठनिक विस्तारसँगै मगर जातिबारे गहन अध्ययन गर्न थाले। नेपाल मगर संघ (तत्कालीन नेपाल लाङ्घाली परिवार) को २०३९ फागुन १५ गते दमौली तनहुँमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनमा संस्थापक केन्द्रीय सदस्य हुँदै चौथो राष्ट्रिय महाधिवेशन, २०४८ काठमाडौंमा निर्विरोध अध्यक्ष चुनिए। २०६० सम्मको चौंथो कार्यकाल अवधिमा मगर मुक्तिका लागि (१) थरको पछाडि अनिवार्य मगर लेख्ने, (२) जन्मदेखि मृत्युसम्म बाहुन पुरेत नल्याउने, (३) दशैं परित्याग गर्दै जाने, (४) लखन थापा मगरलाई प्रथम शहीद घोषणा गर्न माग गर्ने, (५) मगर जातिको धर्म बौद्ध लेख्ने नेपाल मगर संघको पाँचवटा महत्वपूर्ण निर्णय दुर्गम, ग्रामिण क्षेत्रमा बसोवास गर्ने मगरप्रति लक्षित गरी मगरको ऐतिहासिक विरासत र जातीय अधिकारबारे सभा, सम्मेलनमा प्रभावशाली भाषणले जुरुक्क उचाल्दै मन्त्रमुग्ध पार्ने खुबी थियो।
राजनीतिक संघर्ष
गाउँकै त्रिभुवन मिडिल स्कुल पढ्दादेखि अन्याय, शोषण, दमनविरुद्ध आवाज उठाउन थालेका खपाङ्गी मगर १२ वर्षको उमेरमै स्थानीय वामपन्थी नेता कृष्ण दाहाल (मानन्धर समूहका पोलिटब्युरो सदस्य) को संगतले उनैले दिएको कम्युनिस्ट पार्टीको दस्तावेज, ब्रोसियर पहिलोचोटि अध्ययन गरेका थिए। २०२० सालमा रामसागर, रामस्वरूप (आरआर) डिग्री कलेज जनकपुरमा अध्ययनरत बखत चिनियाँ कम्युनिस्ट समर्थक मालेको भातृ संगठन अनेरास्ववियुको सदस्यता लिएर विद्यार्थी राजनीति गर्न थाले। २०३० सालदेखि रामेछाप गौरीशंकर हाइस्कुलको हेडमास्टर सात वर्ष हुँदा सिडियोभन्दा बढी चर्चा खपाङ्गीको हुने गर्थ्याे। २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको महाधिवेशन संस्थापक सदस्य थिए। विद्यार्थीलाई आन्दोलन गर्न उक्साएको आरोपमा दुईपटक पक्राउ परे पनि विद्यार्थीको व्यापक विरोधपछि छुटेका थिए। तेस्रो पटक भने राति पक्रेर नौ महिनासम्म जलेश्वर कारागारमा राखियो। जेलबाट छुटेपछि महोत्तरीमा नै सक्रिय राजनीति गर्न थाले।
२०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यका लागि जनपक्षीय उमेदवारी दिएकामा पराजित भएका थिए। पार्टीको निर्देशनमा खुलारूपमा देखिने मालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चका सचिव पूर्णकालीन र भूमिगतरूपमा सञ्चालित बन्दी सूचना केन्द्रको सदस्यका रूपमा काम गरे। यसै क्रममा खपाङ्गीले पार्टीमा जातीय समावेशिताबारे छलफल गर्नुपर्ने प्रस्ताव राखे। अन्ततः माले पार्टीमा नेतृत्वको सोच, व्यवहार कम्युनिस्ट जस्तो नभएको भन्दै २०४५ सालमा छाडिदिए। २०४६ सालमा एमएस थापा मगरको अध्यक्षतामा गठित नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा (२०४७) का महासचिव बने। बाहुनवादविरुद्धको खपाङ्गीको तार्किक कुरामा बाहुनहरु पनि नतमस्तक हुन्थे।
दशैंको टीका
नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा र नेपाल जनजाति पार्टी एकीकरणपछि राष्ट्रिय जनमुक्ति पार्टी नामाकरण गरियो। महासचिव खपाङ्गी नै बने। सबै राजनीतिक पार्टीले खपाङ्गी र उनको पार्टीलाई अछूतसरहको व्यवहार गर्ने गर्थे। माओवादीले 'जनयुद्ध' गरिरहेका बेला ज्ञानेन्द्रले २०५९ मा राजकीय सत्ता लिएपछि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा मन्त्रिमण्डल गठन गर्यो। जसमा खपाङ्गी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बने। सरकारी परम्पराअनुसार उनले पनि दशैंको टीका राजाको हातबाट ग्रहण गरेपछि यो ठूलै चर्चा र आलोचनाको विषय बन्यो। यसबारे उनको प्रष्टोक्ति थियो– हाम्रो पार्टी कुनै धर्म, संस्कृति र जातिको विरोधी होइन। मैले राजाको हातको टीका मगर भएर होइन, मन्त्रीको हैसियतले लगाएको हुँ। राष्ट्र प्रमुखले मान्ने संस्कृति, परम्परालाई सम्मान गरेको हुँ।
जातीय मुक्तिका विश्वविद्यालय
नेपाली समाजमा विद्यमान जातीय विभेद, भाग्यवादको विकासमा जकडिएको रुढिबद्ध संस्कार, परम्परा, संस्कृति र धर्मको आडमा बनेको ऐन, कानुनले जातीय आधारमा एकपक्षीय दण्ड जरिवाना गर्ने नियमविरुद्ध सशक्त विरोधसहित जनपैरवीमा खपाङ्गी जुटिरहे। जन्मका आधारमा ठूलो सानो जाति हुने एकपक्षीय वर्गीकरणविरुद्ध आगो नै ओकले। अनि मुलुक अविकसित हुनुको प्रमुख जड ब्राह्मणवाद हो भन्ने दाबी पनि सम्प्रेषण गरे। पशुले छोएको खाने, मान्छेले छोएको नखाने रुढिवाद संस्कार थोपर्ने समाजप्रति छुवाछूत प्रथा संकीर्ण सांचको मानसिकता भएको दलिल पनि पेश गरे।
नेपाल मगर संघमा रहेर देशभरका मगरसँग प्रत्यक्ष उठबसको अनुभव र व्यावहारिक ज्ञान आर्जन पार्टीको कार्यक्रममा देशभर घुम्दा आदिवासी जनजाति, दलित, मधेसी जातिको समस्या बुझ्ने मौका मिल्यो। त्यो अनुभव नै उनका लागि व्यावहारिक दर्शन थियो। जुन विश्वको नामी विश्वविद्यालयमा पढेर पनि प्राप्त गर्न सकिँदैनथ्यो। सरकारी तथ्याङ्कअनुसार ३७.४ प्रतिशत आदिवासी जनजातिलाई हतियार बोकाउने महत्वकांक्षा खपाङ्गीले कहिल्यै राख्नुभएन। बुलेटभन्दा ब्यालेटबाट सत्ता प्राप्त गर्ने कुरामा दृढ खपाङ्गी ब्राह्मणवादको अन्त्य सामाजिक क्रान्तिविना नहुने ठान्थे।
सद्भाव सहिष्णुताका लागि अन्य धर्म, संस्कृतिको सम्मान गर्दै टीका ग्रहण गर्नु, अनिवार्य संस्कृत शिक्षालाई ऐच्छिक बनाउन ठूलो चुनौती मोल्नु, ऐतिहासिक गौरवगाथा बोकेका जातिलाई राज्यको मूल प्रवाहमा समावेश गर भनेर आवाज उठाइरहनु र शान्तिपूर्ण आन्दोलनलाई महत्व दिनु खपाङ्गीको विशेषता हो। जसबाट हामी धेरै सिक्न सक्छौं।
अन्त्यमा
निरकुंश राणा शासनविरुद्ध पहिलोचोटि सशस्त्र विद्रोह गरेका लखन थापा मगरको सहादत भएको ७० वर्षपछि जन्मेका गोरेबहादुर खपाङ्गी प्रभावशाली आदिवासी मगर नेता थिए। २०४० पछि जातीय विभेद, असमानताको जड अध्ययन अनुसन्धान, अनुभवको ज्ञानबाट प्राप्त गरेपछि २५ वर्षे कम्युनिस्ट राजनीतिलाई तिलाञ्जली दिई जीवन निर्वाहका लागि केही महिना जगदम्बा प्रिन्टिङ प्रेसमा प्रुफ रिडर जागिरे भए। संघ र पार्टीको काममा देशभर डुल्दा जातीय विभेदले प्रत्यक्ष अपमान सहेर बाँचेका आदिवासी जनजाति, दलितका पीडा बुझेका उनले भाग्यवाद थोपरेर एकलौटी सत्तामा कुण्डली मारेका ब्राह्मणवादको जालो उघारिदिए।
प्रोफेसर बन्ने लालसाले शिक्षाप्रति तीव्र लगाव राख्ने खपाङ्गी अन्ततः जातीय मुक्तिका नायक चर्चित राजनीतिज्ञ प्रवाभशाली नेताको छविले चिनिए। सम्मानले गर्नेले उनलाई नेपालको नेल्सन मन्डेला भनेर पुकार्थे। पछिल्लो समय आदिवासी जनजाति, समजातिले अछूतजस्तो व्यवहार गरेपछि धोविघाट वरिपरि नजरबन्दीझैं बनेका गोरेबहादुर २०७० वैशाख १२ गते नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव उद्घाटन समारोहमा सहभागी हुन जाँदा पुरानो बसपार्क जेब्राक्रसमा मोटरसाइकलको ठक्करले अचेत बने। नेपाल र सिंगापुरमा उपचार गरेको तीन वर्ष चार महिनापछि अचेत अवस्थामै प्राण त्यागे। उनको निधनले आदिवासी जनजाति, दलितलाई ठूलो क्षति पुगेको छ।
प्रकाशित: ४ आश्विन २०७३ ०५:१२ मंगलबार