१ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

युवाविहीन गाउँ र पुनर्निर्माणका चुनौती

पासाङ ग्याल्बो ग्लान ८१ वर्ष पुगे। तर पनि ७८ वर्षीया श्रीमती छेबा तामाङसँगै दिनरात खेतीपातीमा घोटिनुको विकल्प छैन उनीसँग। हुन त उनका ३ छोरा र ३ छोरी थिए। तीमध्ये छोरीहरु बिहे गरी आआफ्नै घर गए भने २ छोरा–बुहारी विदेश गए। १ बुहारी पनि काठमाडौँमा छिन् सन्तानसहित। पासाङसँग एक छोरा त छन् तर उनी पनि अपांग नभएका भए यहाँ हुँदैनथे शायद। यी वृद्ध दम्पतीले अपांग छोरालाई समेत पाल्नुपरेको छ।

यो वास्तविकता हो– भूकम्पले सबैभन्दा बढी भौतिक र मानवीय क्षति पुर्‍याएको ठाउँमध्ये पर्ने सिन्धुपाल्चोकको ब्ााँसखर्क गाविसको काकचेत टोलको। जहाँ पासाङसहित ५४ परिवार बस्छन्। यो यस्तो गाउँ हो जहाँका प्रत्येक घरबाट २ देखि ३ जनाको दरले युवा विदेश गएका नहुन्। अर्थात् काठमाडौं र अन्य स्थानमा कामका लागि भौतारिएका नहुन्।

जबसम्म गाउँ युवामय हुँदैन तबसम्म न गाउँहरु धपक्क बल्छन् न त गाउँहरु वास्तविकरूपमै पुनर्निर्मित हुन सक्छन्। यो वास्तविकता बिर्सिएर सफल पुनर्निर्माण गर्नै सकिँदैन।

मुस्किलले युवा भेटिने यस गाउँमा यही कारण खेतीपाती, मेलापात र पर्व तथा मृत्यु संस्कारहरु पासाङ जस्तै वृद्धहरुको काँधमा आइलागेको छ। गाउँका युवा किन यसरी विदेशमा भौतारिरहेका होलान्? कृषि क्षेत्रको यो कर्म किन वृद्धहरुको काँधमा आइरहेका होला? उत्तर सबैको मुखमा एउटै भेटिन्छ– खेतीपातीले मुस्किलले ६ महिनामात्र खान पुग्छ। सहरबाट धागो लिएर घरमै १० देखि १५ दिन लगाएर गलंैचा बुने पनि गाँउमै बजार हँुदैन त्यसैले खरिद गर्न आउनेले एकदमै सस्तोमा खोज्छ। विकल्प अभावमा केही त गर्नैपर्‍यो।

हो पनि, जीविकाको विकल्प नभएपछि गर्नेले पनि के गरुन्। स्वदेशको मायामा मरिहत्ते हाल्दैमा पेट भरिन्न। त्यसैले गलैंचा बुन्ने/बेच्ने जस्ता व्यापार व्यवसायमा पहिलेदेखि नै संलग्न भएर पनि यो समुदाय यतिखेर भने समस्या चर्किएसँग समाधानको बाटो नखुलेका कारण विदेशिन बाध्य छन्। जसको असर गाउँभर देखिन्छ– खेतीपाती हुने ठाउँ बाँझा छन्। विकास निर्माणका काममा युवा देखिन्नन्। जोस र जाँगर अनि हिम्मत यही कारण सबै ठाउँमा पन्छिएको छ। समग्रमा विकासको गतिलाई नै यो अवस्थाले पछाडि पारिरहेको छ।

यो अवस्थाको प्रत्यक्ष असर गाउँघरमा हुँदै गरेको पुनर्निर्माणमा पनि देखिएको छ। भूकम्पले ध्वस्त पारेका घर निर्माण र समुदायका पूर्वाधार निर्माणमा महिला, वृद्ध र बालबालिकाको भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसबाट एकातिर बालश्रम, असमान ज्याला र वृद्धहरुमा कामको बोझ अझ बढ्ने निश्चित छ भने अर्कोतिर घर र पूर्वाधारको स्तरप्रति पनि चिन्ता गर्नुपर्ने अवस्था छ। गाउँमा निर्माण तालिम दिन खोज्ने संस्था पुगेका छन् तर तालिम लिनेहरु चाहिएजति भेटिन्नन्। ज्यालामा काम लगाउनेहरु प्रशस्तै छन् तर ज्यालामा काम गर्नेहरु पाइन्नन्। कमाइका अवसर थुप्रै भए पनि त्यसलाई टपक्क टिप्ने हातहरु जति खोज्दा पनि पाइँदैनन्। जसले पुनर्निर्माण जसरी जुन गतिमा हुनुपर्थ्यो त्यो हुन सकेको छैन। डेढ वर्ष बितिसक्दा पनि पुनर्निर्माणले गति लिन नसक्नुमा यो पनि एउटा महत्वपूर्ण कारण हो जसलाई कतैबाट पनि गम्भीररूपमा लिइएको पाइन्न।

बढ्दो गरिबी र बेरोजगारीबाट मुक्त हुन तथा आधुनिक जीवनशैलीमा आफूलाई समायोजन गर्न युवायुवतीको पलायत अरब देशहरुमा हुने गरेको छ। उनीहरुले पठाउने रेमिट्यान्सबाट परिवार त चलेको छ तर यो दिगोपनामा देखिएको शंका वा दुरुपयोगका बढी अंश गइरहेको तथ्यले चिन्ता पनि उत्तिकै भित्राएको देखिन्छ। उसै त गरिबीले आक्रान्त यस्ता गाउँहरुलाई भूकम्पले झनै हरितन्नम् बनाएको छ। तर यसबारे न विदेशिनेलाई महसुसीकरण भएको छ न त भएर नै केही हुने अवस्था छ।

अहिले देशमा दुई प्रकारको बहस गर्माएको छ– भूकम्पपश्चातको पुनर्निर्माण र स्थानीय तहको पुनर्संरचना। देशकै सत्ता अदलबदल गर्न सफल ती दुवै बहस केन्द्रीय तहमा जति गरमागरम तरिकाले आए पनि त्यसले स्थानीय समुदायलाई भने खासै तताउन सकेको देखिन्न। जस्तो कि स्थानीय तहको पुनर्संरचना गर्दा जसरी राजनीतिक दलहरुले भनेजस्तो कति संख्या र कुन गाविस कता पार्ने भन्ने सवाल समुदायमा त्यति चासोको विषय बनेको छैन। बरु उनीहरुलाई हिजोको गाविसमा भएको भन्दा अझ धेरै सुविधा र अधिकार कसरी पाइन्छ भन्नेमात्र चिन्ता छ। हिजोको स्वास्थ चौकी र कृषि तथा पशु सेवा केन्द्रलगायतका सरकारी सुविधा अझ प्रभावकारी तरिकाले कसरी प्राप्त गर्ने भन्नेमा छ। यसरी हेर्दा अहिलेका राजनीतिक दलभन्दा समुदायका नागरिक नै व्यावहारिक देखिएका छन्। तर यी विषय जोडदाररूपले उठाउने हैसियत भएका तिनै युवा अहिले यहाँ छैनन्। जसका कारण मुख्य माग नै ओझेलमा परेको अवस्था पनि देखिन्छ गाउँमा।

अहिले सरकारको पुनर्निर्माण गति हेर्दा समुदायका घर बनाउने, भत्किएका सामुदायिक भवन र संरचना निर्माण गर्ने र पहिलेको अवस्थामा ल्याउनेमात्र देखिन्छ। तर पुनर्निर्माणको मर्म यतिले पुग्दैन। आगामी दिनमा रित्तिँदै गइरहेको नेपाली गाउँमा कसरी युवाहरुलाई फर्काउने? वृद्ध र अशक्तहरुले धानेको कृषि कर्म कसरी व्यावसायिक, विविधीकृत र रोजगारीमूलक बनाउने? भत्किएको हाम्रो सामाजिक तथा पारिवारिक सम्बन्ध र भावनालाई कसरी जोड्ने? भविश्यलाई नैराश्यता र अँध्यारोको पर्दाले छोप्न विवश बालबालिका र नवकिशोर/किशोरीलाई आफ्नो देश र भविश्यको सपनासँग कसरी बाँध्ने? यस्ता प्रश्नको उत्तर पनि छैनन् अहिले गाउँमा। त्यसैले जबसम्म गाउँ युवामय हुँदैन तबसम्म न गाउँहरु धपक्क बल्छन् न त गाउँहरु वास्तविकरूपमै पुनर्निर्मित हुन सक्छन्। यो वास्तविकता बिर्सिएर सफल पुनर्निर्माण गर्नै सकिँदैन। यो सबैले बुझे हुन्छ।

प्रकाशित: ३१ भाद्र २०७३ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App