१० असार २०८१ सोमबार
image/svg+xml
विचार

व्यवहारमा बरालिएका बालेन

औपचारिक भेटपछि बालेन्द्र साहले अनौठो पाराले जिज्ञासा राखे। ‘तपाईंको मिडियाले मेरो अन्तर्वार्ता लिएको, समाचार प्रकाशन वा प्रसारण गरेबापत कति पैसा लिनुहुन्छ ?’ अपेक्षाभन्दा फरक किसिमको यो जिज्ञासाले मलाई अक्क न बक्क बनायो।  

उनको प्रश्न नबुझेजस्तै गरी मैले सोधें, ‘के भन्नु भएको ?’ दोहोर्‍याउँदै भने, ‘म र मेरो विषयमा मिडियाले समाचार देख्दैन। त्यसैले सोधेको। तपाईंको मिडियामा समाचार प्रकाशन वा प्रसारण गरेको कति पैसा लिनुहुन्छ ?’ उनको प्रश्नभित्रका शब्दको अन्तर्य अर्कै थियो। उनको घुमाउरो पाराको आशय थियो। मिडियामा स्थान नपाएको गुनासो थियो। ‘ब्लक बस्टर’ चलचित्रजस्तै अन्य मिडिया र युट्युबमा तहल्का पिटिरहेका उनका अन्तर्वार्ताले नेपाल रिपब्लिक मिडियामा पनि स्थान पाओस् भन्ने चाहना हुनु स्वाभाविक नै थियो।

२०७९ वैशाख १४ गते प्रसारित अन्तर्वार्ता उनको अनुरोधमा लिइएको अन्तर्वार्ता होइन। न त हाम्रोे व्यक्तिगत स्वार्थ नै केही थियो। एक मात्र स्वार्थ मिडिया धर्म निभाउनु थियो। त्यो निभायौं पनि। जुन भिडियो २ लाख ५० हजार बढीले हेरे। मिडियाको कभरेजले प्रचारप्रसार ह्वात्तै बढाएको र त्यसकै कारणले विजयको स्वाद चाख्न पाएका नगरपिता अहिले यिनै मिडियाका प्रश्नसँग भागिरहेका छन्। क्यामेराको नेपथ्यमा लुक्न खोजेका छन्। आम जनताका समस्यालाई नै सवालका रूपमा सोधिने प्रश्नसँग भाग्न खोजिरहेका छन्। उनले क्यामेरा, प्रश्न र पत्रकारसँगको दुरी यति टाढा राखेका छन् कि पारिवारिक वा साथीभाइका निजी समारोहमा जानु अघिसमेत त्यहाँ कुनै पत्रकार त हुँदैन भनेर पहिले नै सतर्क हुनेगरेका छन्। त्यस्ता कार्यक्रममा उनी पत्रकार आउने शंका लागे मात्रै पनि पन्छिने गरेको उनका नजिकका साथीभाइ बताउँछन्। यो अवस्थाको सिर्जना कसरी भयो मेयर सा’ब ?

चुनावताका विकास निर्माणका सवालमा घण्टौं बहस अनि सुझाव दिने बालेन्द्र अहिले लथालिङ्ग अवस्थाका विकासका कामलाई कालो चस्माले छेक्ने कोसिसमा छन्। सडकका सामान्य खाल्डाखुल्डीसमेत मिनेटभरमै पुर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको पूर्वाधार एम्बुलेन्स काम नगर्दा कसलाई कुरेर बसे होलान् ? विकासका बहसमा बुँदागत रूपमा जान चाहन्नँ तर लाखौं मानिस दैनिक आवतजावत गर्ने सुन्धाराअगाडिको सडकपेटी लथालिङ्ग भएको ६ महिनाबढी भइसक्दा नगरबासीले कसको प्रतीक्षा गर्ने हो ?

चुनावी सरगर्मी बढेका बेला उपत्यकासहित देशभर नयाँ चर्चाले स्थान पाइरहेको थियो। पाँच वर्षअघि निर्वाचित जनप्रतिनिधिले गरेका काम र उदासिनताको आक्रोश जनतामा थियो भने नयाँ प्रतिनिधि विजयी गराई आफ्नो गाउँ–समाज र सहरनिर्माण सुव्यवस्थित भएको हेर्न चाहने स्वार्थ पनि थियो। यो भेटमा उनले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिका चलाउँदा आवश्यक पर्ने पाटाको राम्रो अध्ययन गरेको सुनाए। शिक्षा, स्वास्थ्य, ट्राफिक म्यानेजमेन्ट, फोहोरमैला व्यवस्थापन, प्रशासन र वित्तीय क्षेत्रलगायतका सम्पूर्ण पक्षको अध्ययन गरेर उम्मेदवारी दिनुपर्ने अनुभव सुनाए।  

काठमाडौं महानगरपालिका मात्रै नभई अन्य १८/२० स्थानीय तहको अध्ययन गरेको बताउने उनी राम्रो–नराम्रो दुवै पक्षको अध्ययन गरेको हो भन्ने मेरो प्रश्नको उत्तरमा आफ्नो ज्ञानलाई प्रस्तुत गरिरहेका थिए। उनले कुनै पनि स्थानीय तहको सफलताको मापनबाट हेर्दा आफू सफल हुने विश्वास व्यक्त गरे।  

समन्वयको अभाव, भ्रष्टाचारको परिणाम, बजेट भए पनि कार्यान्वयन हुन नसकेको अवस्था, अल्पमतमा समेत कतिपय मेयरले गरेका राम्रा कामको उदाहरण उनी सम्झिरहेका थिए। उनले भनेका कुरा उनकै शब्दमा सम्झन्छु म– ‘मेयर भनेको भिजन भएको, आइडिया भएको, आफ्ना सल्लाहकारको विचार लिएर त्यसलाई कार्यान्वयन गर्न सक्ने, आइडियालाई बुझ्न सक्ने र असल छविको भयो भने एकदम मजाले काम गर्न सक्छ। चाहे कार्यपालिकामा बहुमत पुगोस् वा नपुगोस्, उसको भिजन सही छ अनि उसले विकास गर्न खोजेको छ भने त्यसले काम गर्न सक्दो रहेछ।’  

स्कुलमा पढेको कुरा स्मरण गर्छन्, ‘अनेस्टी इज बेस्ट पोलिसी।’ परीक्षाका बेला अन्य साथीलाई उनी सम्झाउँथे रे। परीक्षामा चिट चोर्न मिहिनेत गर्नुभन्दा किताब पढेर पास हुन सजिलो छ। उनी नै भन्छन्, ‘यो तरिका हरेक क्षेत्रमा लागु हुन्छ।’ अहिले उनमा यही प्रश्न तेर्सिएको छ। अहिले उनको परीक्षाको घडी छ। चिट चोर्न मिहिनेत गर्नुभन्दा किताब पढेर पास भएर आफ्नो भिजनलाई सत्य साबित गर्नु नै अहिलेको व्यावहारिक यथार्थ हो। तर यो सत्य उनलाई तितो लागिरहेको छ।

उनले भनेका कुरा स्मरण गर्दै छु, ‘भिजन, एजेन्डा हुनु मात्रै ठुलो कुरा होइन। त्यो एजेन्डा कार्यान्वयन हुनु ठुलो कुरा हो।’ फेरि स्कुल नै याद गर्दै भन्छन्, ‘पाठ्यक्रम सबैका लागि एउटै भए पनि कक्षामा सबै फस्ट हुँदैनन्। सबैको फरक नतिजा आउँछ। त्यसकारण स्थानीय निर्वाचनमा व्यक्तिलाई हेर्नुप¥यो पार्टीलाई हेर्ने होइन। साच्चिकै सक्षम छ कि छैन, उसको अध्ययन कुन विषयमा छ, उसका कामहरू कुनकुन विषयमा भएका छन् भन्ने हेर्नुपर्छ।’ हामी पनि ‘वाच डग’का रूपमा भिजन र एजेन्डापछिको कार्यान्वयनलाई नै कुरेका छौं।  

चुनावको मुखैमा उनीसँगको औपचारिक कुराकानीमा मेरो प्रश्न थियोे– आम नागरिकबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ? उनले भनेका थिए, ‘उहाँहरूमा आफ्नो पार्टी, पार्टीका उम्मेदवारसँग एकदम दिक्दारी रहेछ। आफ्नो पार्टी विशाल पार्टी भए पनि मेयरचाँहि तपाईंलाई नै बनाउने हो भन्छन्। त्यो कुराले विश्वास र उत्साह थपेको छ।’

तपाईंको ऊ बेलाको विश्वास र उत्साहलाई वास्तविकतामा बदलेको पनि झन्डै वर्ष दिन हुन लागेछ। त्यो विश्वास र उत्साह जनताबाट तपाईंमाथि फर्केको छ। अहिले नै आलोचना गर्ने समय नआइसके पनि आलोचनाका आवाज भने उठ्न थालिसकेका छन्। ‘राजनीति भनेको राज्यको नीति हो, राज्य चलाउने नीति हो, राज्य चलाउने नीति भन्नुको अन्तर्य विकास हो। मैले गर्दै आएको काम पनि विकास हो। पछाडि पनि विकास नै गर्ने हो। प्रधानमन्त्री, मन्त्रीले पनि राजनीति गर्न छाडेर विकासका काम गर्न थाल्नुपर्छ। विकासका कुरा गर्नुपर्छ,’ त्यो बेला तपार्इंले बोलेका यी शब्द मेरा कानमा गुन्जिरहेका छन्– ‘एउटा नेताले अर्को नेतालाई गाली गर्न खर्चनु हुन्छ कि तपार्इंले साच्चिकै विकासको भिजन दिनुहुन्छ। त्यो तपाईंको कुरा हो। हामीचाहिँ विकासको कुरा मात्रै गर्छौं। जीवनकालभर विकासको कामबाहेक केही पनि गर्दिनँ।’

कति सकारात्मक कुरा, सुनिरहन मन लाग्ने। परिस्थितिलाई बुझेर यस्ता विचारलाई व्यवहारमा लागु गर्नुपर्ने कुरा होइन र मेयर सा’ब ?

अन्त्यमा उनले सम्पूर्ण मतदातालाई सम्बोधन गर्दै टुङ्ग्याएका थिए, ‘७५३ वटै स्थानीय तहमा पार्टी होस् वा बाहिरी मान्छे, योग्यलाई छान्नुस्। काम गर्न सक्ने मान्छे छान्नुस् किनभने पाँच वर्ष तपाईंले नै त्यो मान्छे भोग्नुपर्छ। तपाईं उसको एजेन्डामा हिँड्नुपर्छ।’

आम जनताले ७५३ वटै स्थानीय तहमा आफूलाई योग्य लागेका प्रतिनिधि रोजिसकेका छन्। पार्टी होस् वा स्वतन्त्र, योग्य होस् वा अयोग्य, काम गर्न सक्ने होस् वा नसक्ने जस्तो रोजे पनि अब जनताले तिनै प्रतिनिधिलाई भोग्ने छन् अनि उनैका एजेन्डामा केही वर्ष हिँड्ने छन्। 

प्रकाशित: २१ माघ २०७९ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App