११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

सधैं ठगिने उनै जनता

भाग्यशाली अधिकारी 

सबैले भन्छन्– सुख भोग कसरी गर्ने। मैले दुःख पाऊँ कोही भन्दैन र पनि सबैले दुःख पाइरहेका छन्। सबैले भनेको सुनिन्छ– अरूले नै नियमकानुन मानेनन्। आफूले नियमकानुन मानिनँ भनेर कसैले भन्दैन। अरूले नियमकानुन मानेनन् भन्नुभन्दा पहिला आफूले नियमकानुन मान्नुपर्छ। यदि सबैले यति मात्रै महसुस गरेको खण्डमा भोलिदेखि नै यो संसार बेग्लै महसुस हुन्छ तर सबैले पालना गरेको हुनुपर्ने छ। एउटाले मात्रै पालना गरेन भने पनि संसारै भताभुङ्ग हुन जान्छ।  

सर्वप्रथम यातायातका कुरा गरौं। सर्वप्रथम आफूले जानेको थाहा पाएको कुरा गरौं। सामाखुसी चोकबाट रत्नपार्कसम्म गएको भाडा १३ रूपैयाँ तोकिएको थियो। कन्डक्टरले पन्ध्र रूपैयाँ लिने गर्थे। कति किलोमिटर पथ्र्यो थाहा छैन। पेट्रोलको भाउ घटेर निकै तल पुगेर बढे पनि एकदुई वर्ष त्यही रहिरह्यो। त्यसपछि कोरोना आयो। गाडी थन्किए। केही गाडी बीचमा पनि चलाएका थिए। त्यति बेला जनही पच्चीसतीस रूपैयाँ लिने गरियो। अहिले पनि त्यही हिसाबले लिइरहेका छन्। हाम्रो देशमा यातायात क्षेत्रमा कुनै वैज्ञानिक संयन्त्र नभएका कारण कन्डक्टरले जथाभावी भाडा असुल्ने कार्य भइरहेको छ। यो क्रम झनझन बढिरहेको छ। सर्वसाधारण व्यक्ति ठगिने कार्य चारैतिर बढिरहेको छ।  

बेला बेलामा कन्डक्टरले प्यासेन्जरलाई अपशब्द प्रयोग गरेर गाली गरिरहेका हुन्छन्। प्यासेन्जर चुप लागेर बस्न बाध्य छन्। यसर्थ पनि प्रत्येक बस, मिनिबस, माइक्रो बसका कन्डक्टरलाई एक दुई दिन प्यासेन्जरसँग बोल्ने भाषा, सम्बन्धमा तिनलाई ट्रेडिङ दिनुपर्छ। अर्को सडकको छेउमा हामीले किलोमिटर छुट्याएर सबैले देख्नेगरी राख्नुपर्छ र भाडा तोक्दा यति किलोमिटरको यति भनेर तोक्नुपर्छ। त्यो नभएका कारण कन्डक्टरले सर्वसाधारणसँग जति मन लाग्यो त्यति लिइरहेका छन्।  

हिजो आज सर्वसाधारणको मुख्य आवागमन हुने ठाउँमा बस रोक्ने गरिँदैन। सर्वसाधारणको पायक पर्ने र जनतालाई सुविधा हुने ठाउँमा बस रोक्नुपर्छ। जति पनि नियम कानुन बन्छन्, सबै जनतालाई सुविधा हुने हुनुपर्छ। सर्वसाधारण जनतालाई दुःख दिने नियमकानुन मान्य हुँदैनन्। जस्तै असन, इन्द्रचोक हरेक मानिस किन किनमेल गर्नका लागि जानुपर्छ। त्यहाँ जाने मानिस आरएनएसी कि लैनचौरबाट हिँडेर जानुपर्छ। झोलाभरि सामान किन्यो, त्यहाँसम्म बोकेर ल्याउनपर्छ। कति जनतालाई सास्ती भइरहेको छ। रोक्न नदिनोस् ठिक छ तर उक्लिने ओर्लिने समय दिनुपर्छ। यो सन्दर्भमा सर्वसाधारणलाई मर्का परिरहेको छ। जस्तैः भृकुटीमण्डपमा गाडी रोक्न दिइन्थ्यो। अहिले दिइँदैन। सिंहदरबार जाने कर्मचारीलाई बिहान हतार भइरहेको हुन्छ। जमल वा एनएसीदेखि हिँडेर आउनुपर्छ। एकातिर कर्मचारीलाई दुःख भयो, अर्कातिर सरकारी कामको समेत हानी भइरहेको छ। अहिले आएर धेरै ठाउँमा यस्तो भइरहेको छ। जनताको मुख्य जक्सन कहाँ हो। पत्ता लगाएर त्यसलाई मध्यनजर गरेर ट्राफिकले व्यवस्था गर्नुपर्छ। ट्राफिक भनेको सर्वसाधारण व्यक्तिको हितका लागि खटिएको कर्मचारी हो। त्यस्तो ट्राफिक संस्थाले जनतालाई दुःख दिने काम नगरोस्। मुख्य आवागमन हुने र सर्वसाधारण जनतालाई कहाँ सुविधा हुन्छ त्यहाँ उक्लने ओर्लने व्यवस्था ट्राफिकले मिलाउनुपर्छ। यो ट्राफिकको कर्तव्य हो।  

त्यस्तै अहिले आएर ठाउँ ठाउँमा बाटो फराकिलो बनाइयो। पिच गरियो तर सर्वसाधारण हिँड्ने फुटपाथ नै छैन। ठाउँ ठाउँमा एकमिटर पनि राखिएको छैन। दोहोरो मानिस हिँड्र्दा एक अर्कोमा ठोक्किनु पर्छ। सर्वसाधारणलाई कति विधि हेपेको हो ? यो त ज्यादै अन्याय नै हो। फुटपाथ कम्तीमा पाँच फुट चाहिन्छ। त्यसैमा पनि ठाउँ ठाउँमा पोल गाडेर मान्छे ठोक्किने अनि घाइते हुने अवस्था छ। यस्ता कुरा विचार गर्नुप¥यो।  

फुटपाथ मिचेर बाटो फराकिलो बनाए पनि ट्राफिक जाम हुन घटेको छैन। यहाँ पनि ठगिने सर्वसाधारण जनता नै हुन्। जताबाट पनि यी सर्वसाधारण जनतालाई ठग्ने काम भइरहेको देख्दा अचम्म लाग्छ। यो कुरा कसैलाई थाहा नभएको हो कि बोल्न नसक्ने सर्वसाधारणलाई जे गरे पनि हुन्छ भनेर हेपिएको हो ? यो त सारै दुःख लाग्दो कुरा हो। यसमा गृह मन्त्रालय, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका सबैले ध्यान दिन जरुरी छ।

प्रकाशित: २१ माघ २०७९ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App