११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

बदलिँदो राजनीतिक परिदृश्य

माघ महिनामा पनि राजनीतिक तापमान बढ्दैछ। नवनियुक्त प्रधानमन्त्रीले संसद्बाट विश्वासको भारी मत पाए। संयुक्त जनमोर्चाका सांसद पाका राजनीतिक व्यक्तित्व चित्रबहादुर केसी र नेमकिपा सांसद प्रेम सुवालले मात्र संसद्मा प्रतिपक्षीको धर्म अपनाए। ८९ सिट भएको संसदको ठूलो दल गत पुस १० गतेको राजनीतिक अबुझका कारण सरकार बनाउनबाट वञ्चित रह्यो। त्यो घटनाले शायद बिपीका अनुयायी सांसदहरूलाई निकै पछुतो लागेको होला। न्याउरी मारी पछुतो भन्ने नेपाली लोकोक्ति सम्झेर आपसी दोषारोपणमा रमाएझैँ लाग्छन् लोकतान्त्रिक पार्टीभित्रका नेपाली कांग्रेसका जनप्रतिनिधि। दोस्रो दल नेकपा एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई संसद्मा स्पष्ट बहुमत छँदाछँदै कांग्रेसले विश्वासको मत दिएर पल्लाभारी किन गराएको हो? लाखौँ कांग्रेसीजनले आफैँ पनि चित्तबुझ्दो उत्तर पाइरहेका छैनन्। संविधानले व्याख्या गरेअनुसार कांग्रेस प्रतिपक्षी भएर सरकारलाई खबरदारी गर्ने कि प्रचण्डले हालै कांग्रेसलाई पनि मिलाएर लैजानुपर्छ भन्ने भुलभुलैया बोलीमा अल्मलिने? कांग्रेस पार्टीले गम्भीर भएर सोच्ने बेला आइसकेको देखिन्छ।

संसद्को सम्मानित पद सभामुखको हालै सम्पन्न निर्वाचनको परिणामले पनि कांग्रेस लगायत केही साना दलका सांसदलाई प्रतिपक्षमा रहेर रचनात्मक काममा लाग्न सन्देश दिइसकेको छ। सभामुख झापाबाट निर्वाचित एमाले सांसद देवराज घिमिरे बनिसक्नुभएको छ। कार्यशैली कस्तो हुनेछ? संसद् सञ्चालनमा निकट भविष्यमा देखिने छ। संसद् सञ्चालनको पूर्वसन्ध्यामा पत्रकारको एक प्रश्नको उत्तरमा नवनियुक्त सभामुख संसद् प्रतिपक्षको भनेर अभिमत जाहेर गर्नुभएबाट सन्तुलित बोली व्यवहारको व्यक्तित्व हुनुहुन्छ भन्ने जनमानसमा परेको देखिन्छ। २०१६ सालका प्रथम सभामुख कृष्णप्रसाद भट्टराईले संसद्मा बोलेको सो बोली घिमिरेबाट पनि आएको छ। यसैगरी आधा आकाश ढाकेका महिलालाई पनि यथोचित सम्मान दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेकी इन्दिरा थापा मगरलाई गठबन्धन सरकारका जनप्रतिनिधिबाट भारी मतले विजय गराएका छन्। समाजसेवाबाट उदाएकी इन्दिराको उपस्थिति सुखद मान्न सकिन्छ। कांग्रेसले सभामुख र उपसभामुख पदमा हार बेहोर्नु आफैँमा पार्टीभित्रको कमजोरी पक्ष थियो।

हालै प्रचण्डले निवास बालुवाटारमा कांग्रेससहित बोलाएको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति पदका लागि निकट भविष्यमा कसरी अघि बढ्ने भन्ने विषयमा प्रवेश गर्न नपाउँदै सरकारी उच्चस्तरीय संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओली बीचैमा उठेर जानुको अर्थ खोजिरहनु पर्दैन। यसैगरी हालै बसेको संसद्को बैठकमा रोस्ट्रममा उभिएर कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई ओलीले सुनको पिँजडामा राख्ने कोसिस गरेको गम्भीर आरोप लगाउनुभयो। दुवैजना झापाका प्रखर वक्ता र भिन्न पार्टीका यी दुवै नेताबीचको राजनीतिक कटाक्षभित्रको अर्थ नबुझिने छैन।

कांग्रेसका नेता एवं सांसदले निकै दरिलो ढंगको तर्क पेस गरे तापनि निकट भविष्यमा हुने राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस कति सफल होला ? वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका कांग्रेसका पुराना नेता राष्ट्रपति पदका लागि अघि सारे तापनि सो कदम सोचेजति सजिलो छैन। तथापि २०६४ सालको राष्ट्रपति चुनावमा कांग्रेस अल्पमतमा रहेर पनि माओवादीले अघिसारेका रामराजाप्रसाद सिंहलाई पराजित गरेको हो। कांग्रेस उम्मेदवार डा. रामवरण यादव विजयी भएर नेपालको प्रथम राष्ट्रपति पदमा आसिन हुन सफल भएको इतिहास हेर्दा राजनीतिमा असम्भव केही छैन।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि कांग्रेसले एकपछि अर्काे गल्ती किन गरिरहेको छ? लोकतन्त्रवादीहरू उत्तर खोजिरहेका छन्। हालैको एक बहसमा जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले भने जस्तै कम्युनिस्ट सरकार पनि दिगो अवस्थामा मिलेर जान सक्दैनन् भन्ने तर्क अघि सारेका छन्। अर्काेतिर २०७४ को राष्ट्रिय चुनावपछि दुईवटा बाघ एउटै जंगलमा बस्न सक्दैनन् जसको परिणाम ओलीको प्रधामन्त्रित्व कार्यकालमा देखिइसकेको छ।

जसरी सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा थापालाई विजयी गराउन वामपन्थी घटक (स्वतन्त्र पार्टी र रा.प्र.पा. सहित) रोस्टममा एक देखिए, त्यही राजनीतिक संस्कृति राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा नदोहोरिन पनि सक्छ। गत पुस २६ गते माओवादी अध्यक्ष प्रचण्डलाई प्रचण्ड बहुमतद्वारा प्रधानमन्त्री पदका लागि विश्वासको मत दिलाउन कांग्रेस सांसद लाग्नुको परिणाम सकारात्मक हुन पनि सक्छ।

बहुदलीय व्यवस्था पुनःस्थापनापछि केही वर्षबाहेक बाँकी अवधि कांग्रेसले नै सत्ता सम्हाल्यो। धेरै नै उपलब्धिपूर्ण विकाससम्बन्धी कामहरू कांग्रेस सरकारका पालामा सम्पन्न भएका छन्। आफूले सम्पन्न गरेका ती विकास सम्बन्धी कामबारे व्याख्या, विश्लेषण र चर्चा कांग्रेसीजनले जनतासामु गर्न सकेका छैनन्। देशमा आइपर्ने कठिन घडीमा पनि धैर्यपूर्वक नेतृत्व सम्हाली निकाश दिने काम कांग्रेसका तत्कालीन नेताहरूले नगरेका भए शायद २०४६ र २०६२÷०६३ सालको जनक्रान्ति सफल हुँदैन थियो होला।

संविधान सभाको प्रथम चुनावपछि वामपन्थीका तर्फबाट ५ जना प्रधानमन्त्री (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र ओली) चुनिएर पनि देशमा संविधान नबन्दा जनतामा कति निराशा छाएको थियो? बुझेकै हो। जब कांग्रेसका दोस्रो सन्त नेता मानिएका सुशील कोइराला प्रधानमन्त्री बने, २०७२ असोज ३ गते देशमा संविधान पनि जारी भयो। यति गरिमा बोकेको कांग्रेसका निम्ति जहिल्यै अवसर मात्र छ।

गणेशमानले २०४६ सालमा तत्कालीन राजा वीरेन्द्रले सुनको थालमा चाँदीको प्रधानमन्त्री पद दिँदा अस्वीकार गरेका थिए। सन्त नेता कृष्णप्रसाद भट्टराईले एक वर्षभित्र २०४७ सालमा संविधान दिलाए। २ पटक प्रधानमन्त्री पदमा आसीन भएर पनि बालुवाटारबाट छाता, सुराइ र गीताको पुस्तक बोकेर बाहिर निस्के। किसुनजीको लोकतन्त्रप्रतिको निष्ठा र जनताप्रतिको इमानदारिता वर्तमानमा कांग्रेसीजनले बोक्नु जरुरी देखिन्छ।

प्रचण्ड प्रधानमन्त्री बने। शुभकामना छ। उनका अगाडि जनताका चाहना धेरै छन्। समस्याका चाङ चुलिएका छन्। उनले कार्यभार सम्हाल्न त्यति सजिलो छैन। नागरिक विधेयकदेखि तत्कालीन समयमा राज्य र विद्रोही माओवादी समूहबाट बेपत्ता पारिएका नागरिकहरूको छानबिन, मानव अधिकारको घोर उल्लंघन, दिनहुँ सयौँ युवाहरूको विदेश पलायन र बेरोजगारको समस्यालाई समाधान गर्नु सामान्य विषय हुने छैन।

यसैगरी विभिन्न राजनीतिक दर्शनबाट प्रेरित विभिन्न पार्टीका प्रतिनिधिद्वारा सञ्चालन हुने कार्यपालिकाका सदस्यहरूको कामको निगरानी राख्नु, भ्रष्टाचारलाई शून्यमा झार्नु, प्रधानमन्त्री प्रचण्डको मुख्य दायित्व हुनेछ।

मन्त्रिमण्डलका नयाँ अनुहारप्रति पनि जनताको चनाखो नजर छ। रवि लामिछानेको नागरिकतासम्बन्धी विषय सर्वाेच्च अदालतबाट निर्णय भएपछि परिस्थिति बदलिएको छ। सहरी विकास मन्त्री विक्रम पाण्डेको भ्रष्टाचारसम्बन्धी उजुरी यथावत छ। समाजमा सुपरिचित भए तापनि राजनीतिमा कम अनुभव देखिन्छन् यी अनुहारहरू। भ्रष्टाचारको दलदलमा फसेको राष्ट्रलाई मुक्ति दिलाउन सकेको खण्डमा जनताले नयाँ अनुहारलाई धन्यवाद दिन सक्छन्। तर, अहिलेसम्मको स्थिति हेर्दा नयाँ भनिएकाहरूको व्यवहार कटमिरो देखिँदैछ। फेरि पनि पुराना दल र नेताकै सुझबुझमा निर्भर हुनुपर्ने परिस्थिति बन्दै छ।

लोकतन्त्र बहालीका लागि २७ वर्ष कारागार सजाय भोगेका दक्षिण अफ्रिकाका महान् नेता नेल्सन मन्डेलाले कारागार मुक्त भएपछि एउटा सभामा बोलेका थिए-जीवन सरल छ, सत्य छ, सत्यता हाम्रै वरिपरिको समाजमा देख्न पाइन्छ। नेल्सनको यो भनाइ लागु गर्नु अपरिहार्य छ। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको राजनीतिक समीकरणले लामो यात्रा तय गर्ला जस्तो लाग्दैन। अध्यादेशमार्फत २ वर्ष पहिला सरकार चलाएका केपीप्रति माओवादी केन्द्रका कतिपय नेता शंकाको दृष्टिले हेरिरहेका छन् वर्तमान अवस्थामा पनि। राजनीतिक आकाशमा फेरि कालो बादल मडारिन खोज्यो भने पनि त्यसलाई निकास दिने जिम्मेवारीमा कांग्रेस नै हुने परिस्थिति देखिँदैछ। माघको चिसो क्रमशः हट्दैछ। राजनीतिमा पनि न्यानोपनको अपेक्षा गर्न सक्रिन्छ। 

प्रकाशित: १९ माघ २०७९ ००:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App