९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

प्रेमको अभाव हो आत्महत्या

जीवनमा समस्या मात्रै देख्ने, समाधानका अब कुनै उपाय छैनन् भन्ने उदासीनता, निराशा र जीवन त्याग्नु नै समाधान हो भन्ने प्रयास र अन्तिम निर्णय नै आत्महत्या हो। आत्माको हत्या आत्महत्या कुनै पनि व्यक्तिलाई छूट छैन, एक प्रकारले यो आफैँमाथि प्रेम गर्न नसक्नु र आफैँलाई हत्या गर्नु जघन्य अपराध हो। तर व्यक्तिका आफ्ना शारीरिक, मानसिक, भावनात्मक, आर्थिक, सामाजिक र आध्यात्मिक परिवेशलाई सन्तुलनमा राख्ने तालमेल मिलेन भने व्यक्ति तनावमा जान्छ अनि उसले आफ्नो निर्णय गर्छ आत्महत्या। यो छोटो अवधिको प्रयास र सोच नभई जताततैबाट असफल भएको, कसैको सहयोग नपाएको र परिस्थितिले पनि आफूलाई प्रतिकूलतातिर लगिरहेको अवस्थामा आफैँमा असहाय महसुस भएपछि रोज्ने अन्तिम निर्णय भन्ने बुझिन्छ जुन अहिलेसम्म विश्वमा भएका आत्महत्याको तथ्यांक र अनुसन्धानले पुष्टि गर्छन्।  

भर्खरै मात्र सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रेमप्रसाद आचार्यको मृत्युपत्रसहितको देह त्यागको प्रयास र अन्ततः सफल भएरै छोडेको दुःखद समाचारले जन–जनमा नमीठो, दुःखद र त्रासदीपूर्ण अवस्था सिर्जना भएको महसुस गर्न सकिन्छ। हुन त आत्महत्या जीवनको समाधान थिएन तर उनको मृत्युपत्रले बोलिरहेछ उनलाई बाध्यता भयो जीवन समाप्त गर्नुपर्ने। उनको यो अन्तिम निर्णय थोरै समयको अभ्यास र निर्णय पक्कै होइन। लामो समयदेखि आफ्नो व्यापार र व्यवहारमा आएका कठिनाइ, विदेश पुगेर पनि स्वदेशमै केही गर्छु भनेर फर्केर, व्यवसाय सुरु गरे तापनि त्यसलाई विकसित हुनमा बाधा पुर्‍याइरहेका अनेक तत्व जुन उनले आफैँ पत्रमा उल्लेख गरेका छन्, त्यसबाट बुझ्न सकिन्छ, आमनागरिकले भोगिरहेका सिन्डिकेट र दमनहरू अरू कति होलान् जसले व्यक्त गर्न पाएका छैनन्, गरेका छैनन् र समाचार बनेका छैनन्।  

उनको पत्र पढेपछि सबैलाई हो, उनले सही कुरा लेखेका छन् र बोलेका छन् भन्ने लागेको छ। यसको अर्थ हो नेपालमा नागरिक भएर बाँच्न धेरै प्रयत्न गर्नुपरेको छ। एउटा नागरिकले पाउने न्यूनतम सुविधा, सही वातावरण र सहयोग सरकारको तर्फबाट सोचिएको छैन। धेरै हदसम्म यो यथार्थता सबैले स्वीकारेका अवस्था छ तर आफ्नो जीवन आफ्नो हो। प्रेमप्रसाद आचार्यको आफ्नो जीवन आफ्नो हो, कसरी जिउने आफ्नो रोजाइ हो तर त्यो रोजाइसँग आफूमात्र नभएर आफ्नो परिवारजन, मित्रजन, समाज र शुभेच्छुक पनि जोडिएका हुन्छन् भन्ने ख्याल गर्नुपर्छ। आज उनले शरीर छाडेर गए तर सारा परिवार, आफन्तजन, मित्रजन र देशले नै उनको यो घटनाप्रति शोक मनाएको छ र दुःखद स्थिति महसुस गर्नुपरेको छ। यो सही रोजाइ थिएन भन्ने सबैलाई महसुस हुँदाहुँदै पनि उनलाई बेलैमा उत्प्रेरित गर्न र सहयोग गर्न सकिएन।  

यसले हामीलाई अर्को शिक्षा दिएको छ कि जसलाई हामी बेलैमा सहयोग गर्न सक्दैनौँ र उसको मृत्युपछि समवेदना प्रकट गर्दछौँ भने यस्तो दयाले काम गर्दैन। उनले कति व्यक्ति र संस्थाको नाम उद्धृत गरेर सहयोगको अपेक्षा र अनुरोध गरेका थिए। उनलाई बुझेर, जानेर पनि सहयोग गर्न सकिएन भने ठूलो अवसर गुमेको मान्नुपर्छ। र, फेरि पनि यो घटनालाई सामान्यरूपमा मात्र बुझ्ने काम भयो भने व्यक्तिगत र समाजमा विद्यमान तमाम विकृति र नागरिकप्रतिको भावनामा अवमूल्यन भयो र अराजकता र शासकीय स्वरूपको ढाकछोप गर्ने काम भयो भने यो समाजका लागि अति घातक मात्र होइन, लोकतन्त्रकै अवमुल्यन हुनेछ। प्रेम आचार्यको मृत्यु व्यक्तिगत कारण मात्र नभएर राज्यका संयन्त्रले उनको अनुरोध र सहयोगलाई आत्मसात नगरेको तथ्य प्रष्ट हुन्छ। व्यक्तिगतरूपमा उनको आत्महत्याको निर्णय सही होइन र समाज र राज्यका लागि पनि दीर्घकालीन समाधान अवश्य होइन तर एक नागरिक आत्महत्यासम्म पुग्नुपछाडिका कारण भने सामाजिक, मानसिक, आर्थिक, आध्यात्मिक सबै आयाममा अपूर्णता र ती आयाममा सन्तुलन ल्याउनका लागि स्वयंको प्रयास र सम्बन्धित क्षेत्रको सहयोग अवश्य रहन्थ्यो।  

महिलाको तुलनामा पुरूषको तथ्यांक बढी  

प्रेम आचार्य आफैँले उल्लेख गरेका छन् उनको घरको परिस्थिति प्रतिकूल हुँदै जानु र त्यसको असर आफ्नी श्रीमतीलाई समेत परेको र उनले समेत आत्महत्याका बारेमा सोचेको। उनले थप उल्लेख गरेका छन्, मेरो मृत्यु नै मेरा लागि समाधान हो। यसमा हामी अनुमान गर्न सक्छौँ कि हाम्रो समाजमा पुरुष कठोर हुनुपर्छ। महिला जस्तो कमजोर हुनुहुन्न। पुरुषले आफ्ना भावनालाई खुलेर बोल्न र प्रतिकूलतामा रुन पनि हुन्न। यसकै परिणामस्वरूप कतिपय परिस्थितिमा उनी आफ्ना भावनात्मक समस्यालाई ढाकछोप गर्दै पुरुष हुने प्रयत्न गरे र अन्त्यमा तनावको सिकार भए। उता महिलालाई खुलेर हाँस्न र मनका कुरा सबैलाई भन्न हुन्न भनेर सिकाइएको हुन्छ। अनि महिलालाई रुद्र घन्टी नै नभएकी भनेर पनि विशेषण थपिन्छ। जे होस्, महिला कम्तीमा खुलेर आफ्ना साथीहरू र परिवारजनसँग खुलेर आफ्ना भावना र दुःख सेयर गर्न त सक्छन्। यसले पुरुषको तुलनामा महिलाहरू कम तनावमा हुन्छन् भनिन्छ। उनकी श्रीमतीलाई मातृत्वको जिम्मेवारी छ, आफ्ना सन्तानको प्रेम र जिम्मेवारी छ त्यही प्रेमले उनलाई अरू साहसी बन्न मद्दत पुगोस्, हामीले कामना गर्नुपर्छ।  

त्यसो त भावनालाई लैंगिकरूपमा नजरअन्दाज गर्न सकिन्न। महिला या पुरुष आफ्ना भावना व्यक्त गर्ने र भित्र गुम्सिएर रहेको तनाव बोलेर, भनेर सेयरिङमार्फत रिलिज गर्न सक्नुपर्दछ। एक एक गर्दै गुम्सिएर जम्मा भएका तनावका कारण नै पछि विकराल समस्या बनेर आउँछन् र जीवनप्रति नै हरेश खानुपर्ने अवस्था सिर्जना हुन्छ। अनुसन्धानले पनि बताएको छ कि विश्वमै आत्महत्या रोज्ने पुरुषको प्रतिशत ७२ छ भने महिलाको २८ प्रतिशत। विश्वको तथ्यांक जति भए पनि प्रेम आचार्यको घरमा जुन दुःखद स्थिति पैदा भयो त्यो शतप्रतिशत हो उनको परिवारको लागि। जीवन हाम्रो रोजाइले पाउने होइन। यो त अस्तित्वको उपहार हो तर जीवनलाई जीवन मानेर प्रेमपूर्ण जिउने रोजाइ हाम्रो हो जुन रोजाइबाट उदासीन नहुन सन्तुलनको आयाममा जीवन जिउने कला जान्नु जरुरी छ। त्यसका लागि जीवनमा चालेका कदम एउटा ठीक नभए अर्को कदम उठाउन सकिन्छ। आफ्नाले र अपेक्षा गरेकाले सहयोग नगरे अरू कसैले सहयोग गर्न सक्छन्।  

जीवनमा आउने प्रतिकूलता एउटा किताबको एउटा अध्याय पनि त हुन सक्छ यसको अर्थ पूरै किताबमा प्रतिकूलता कथा हुँदैनन्। आउने अध्याय सुखद पनि त हुनसक्छ। जीवन छ र त समस्या आउँछ, चुनौती आउँछ। मृत्युपछि त जलाएको पनि थाहा हुँदैन। प्रेम आचार्यले जिउँदो आफ्नो शरीरलाई आगोले जलाए तर मृत शरीरलाई कसले कसरी जलायो उनलाई के थाहा र ? तर उनका आफन्तको मन अझै जलिरहेछ, यो घटनाको यादले अरू जलाइरहन्छ। आफ्नो परिवारका लागि आफू नै महत्वपूर्ण व्यक्ति हो त्यसैले त्यो अरूको प्रेम र आफ्नो प्रेम आफ्नो जीवनलाई दिनुपर्छ। मानिस भएर जन्म पाएकामा गर्व गर्नुपर्छ। अबका दिनमा यस्ता घटनालाई सबैले दुरुत्साहित गर्ने र सुन्दर र प्रेमपूर्ण समाज निर्माणमा हामी सबैको दायित्व छ।  

यस्ता घटना रोक्न सरकारका तर्फबाट बोतल वा जर्किनमा पेट्रोल बेच्नमा प्रतिबन्ध लगाएर मात्र पुग्दैन। यस्ता अपरिपक्व निर्णय र नियम हाँस्यास्पद हुन्छन्। आफ्ना नागरिकलाई सामाजिक, मनोभावनात्मक, आर्थिक सहजता र आध्यात्मिक चेतनाको स्तरबाट ध्यान र प्रज्ञाले विकसित भएर कसरी जीवन सहज बनाउने त्यो वातावरण सिर्जना गरे पुग्छ। कानुन, नियम, कर, ब्याज र सिन्डिकेट भन्दा माथि नागरिकको जीवनलाई महत्व दिने वातावरणको विकास गरे पुग्छ। थोरै संवेदना, थोरै प्रेम, थोरै भावना र मानवीयताको व्यवहारको खाँचो छ। यसको अभाव नै आत्महत्याको परिणाम हो। 

प्रकाशित: १८ माघ २०७९ ००:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App