८ वैशाख २०८१ शनिबार
विचार

यस्तै हो त हाम्रो तीज ?

‘भन्दिन म यो तीजमा सुनको बाला चाहिन्छ, आफूले त यो तीजमा दर खाँदा नि रक्सी खाइन्छ । न त दही दूध चाहिन्छ न त फलफूल चाहिन्छ, आफूले त यो तीजमा दर खाँदा नि ह्विस्की खाइन्छ’– एक दिन कार्टुन खोज्ने क्रममा मेरी छोरीले युट्युबमा यो बोलको गीत फेला पारिछन्। उनलाई यो गीत अलि नौलो लागेपछि कक्षा २ मा अध्ययन गर्ने मेरो ७ वर्षीया छोरीले मलाई प्रश्न गरिन्– मम्मा तीजमा त हजुरले गल्र्स जति व्रत बस्छन् भन्या हैन ? यो गीतमा त केटीले रक्सी खाइन्छ भनेर नाचेकी छ त ! रक्सी खान हुन्छ त तीजमा ? मैले पनि त्यो दृश्य हेरेँ । छोटो लुगा लगाएर पूरै पिडौला देखाएर ‘रातो साडी छाडेर जिनको पाइन्ट लाइन्छ, आफूले त यो तीजमा दर खाँदा नि भोड्का खाइन्छ’ भन्दै कामुक नृत्य गर्दै थिइन् एक महिला । साइडमा नाच्ने सहयोगी कलाकार पनि जुवाडे महिला जस्ता देखिन्थे । यो गीतको भिडियो हेरेर एकछिन म आफैँ पनि स्तब्ध भएँ ।

छोरीले प्रश्न थपिन्– मम्मा हजुरले तीजमा भगवान् शिवको पूजा आराधना गर्छन् भन्या हैन ? यो केटीले किन ह्विस्की खाइन्छ भनेको ? उनले रक्सी खाँदा भगवान् शिव रिसाउँदैनन् त ? मसँग जवाफ थिएन । तर पनि तीजमा रक्सी खानुहुन्नचाहिँ भनेँ । आफैँभित्र थुप्रै प्रश्न आए, छोरीको प्रश्न त कता हो कता ? गीत÷संगीतप्रति त्यति चासो नदिने मेरी बानीले गर्दा होला, अहिलेका कलाकारलाई चिन्न नसकेको भन्ने लागिरहेको थियो । त्यसैले अफिस जानेबित्तिकै रेडियोमा लोकगीतको कार्यक्रम सञ्चालन गर्ने एक भाइलाई यी गीत गाउने को भनेर सोधेँ । उनले नाममात्र बताएनन्, ती अहिलेकी हिट गायिका भएकोसमेत जानकारी दिए । मैले फेरि हिटको अर्थ सोधेँ । उनले भने– छोटो लुगा लगाएर कामुक नृत्य गर्ने भएकाले हिट भनिएको हो । 

प्रसंग यो गीतको मात्र हैन । केही दिनअघि गायिका कोमल वलीले गाएको ‘अब पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटि हो’ भन्ने भाकाको गीत सुनेकी थिएँ । पशुपति शर्माले ‘गयो दिदी गयो जवानीको रस राजनीति गर बरु नेता भएर बस कुरा बुझ्या खोइ ? नेता भएर देश चलाउ किन चाहियो पोइ भन्ने जवाफ गीतमा दिँंदा पेट मिचीमिची हाँसेकी थिएँ । के तीजका गीत यस्तै हुन् त ? तीजको मौका पारी बजारमा ल्याइने यस्ता गीतले सन्देश के दिन खोजेका हुन्  ? यस्तो गीत बजारमा ल्याइँदा आजका युवा पुस्ताले यस्ता गीतबाट के सिक्लान् ? हामी हाम्रा भावी सन्ततीलाई के सिकाउँदैछौं ? यो प्रश्नले मलाई सोच्न बाध्य बनाइरहेको छ । तीजका दिन, विशेषगरी महिलाले भगवान शिवको पूजा आराधना गर्छन् भनेर छोरीलाई सिकाइरहेकी मैले यस्ता गीत सुनेर प्रश्न राखेपछि के उत्तर दिउँ उनलाई ?

तीज आउन करिब १ महिना बाँकी छँदैदेखि बजारमा यसको रौनकता छाइसकेको थियो । महिलाले दर खाने कार्यक्रम सुरु गरिसकेका हुन्छन् । दर खाने कार्यक्रममा सहभागी हुनकै लागि महिलाले १० देखि ६०–७० हजार रुपियाँसम्मका साडी किनिसकेका छन् । यद्यपि पहिले पहिले तीजको दर, एक दिनअगाडि मात्र खाने चलन थियो । तीजमा व्रत बस्दा चोखो कपडा लगाउनुपर्छ भन्ने मान्यताअनुरूप गच्छेअनुसार नयाँ कपडा किन्थे । त्यो पनि नसक्नेले पुरानै कपडा धोइपखाली लगाउँथे । नेवारी संस्कारमा हुर्किएकी मलाई दरबारे यति धेरै उत्सुकता थिएन र ? दरमा के खान्छन्, कसो गर्छन् भनेर मैले मेरी आमालाई सोधेर हैरान पारेको कहाँ बिर्सेकी छु र ? एक दिन अधिकारी थरकी साथीले दर खान बोलाएपछि कम्ता खुसी भएकी थिइन । कहिले त नेवार समुदायमा जन्म दिएकाले तीज राम्रोसँग मनाउन पाइएन भनेर भगवानसँग समेत रिसाउँथे । यति मन पथ्र्यो मलाई तीज ।

तीज हिन्दु नारीको विशेष पर्व हो । यो भगवान् शिव र पार्वतीसँग जोडिएको छ । पार्वतीले भगवान् शिव पति पाउँ भनेर व्रत बसेको प्रसंग आउने गर्छ । पहिले तीज आर्य समुदायका महिलाले मात्र मान्ने गर्थे । पछिल्लो समय सबैखाले समुदायमा यसको प्रभाव बढ्दो छ । आर्यबाहेक अन्य समुदायका महिला तीज माने पनि व्रत भने बस्दैनन् । तर अहिले बजारमा निस्केको तीजसम्बन्धी गीतका मोडेलहरु हेर्ने हो भने आर्य समुदायका महिला हैन, मतवाली समुदायका जनजाति महिला बढी छाएका देखिन्छन् । 

तीज आयो कि एल्बम निकाल्नेहरुको ताँती नै देखिन्छ । एक अध्ययनअनुसार तीजको मौका पारी ३ सयभन्दा बढी एल्बम बजारमा निस्कने गर्छन् । लगानीकर्ताहरु पनि छोटो समयमा प्रतिफल पाउने हुँदा यो समयमा तीजको गीत निकाल्न उत्साहित देखिन्छन् । तर तीजको एल्बम निकाल्न लगानी गरेर मुनाफा कमाउन सकिँदैन भन्ने कुरामा भने सबै कलाकारको एक मत छ । त्यसैले एक्लै होस् या समूहमा, मिलेर होस् या कुनै कम्पनीबाट निकालिएको होस् अथवा त्यो निकालिएको एल्बम अथवा गीत बजारमा चलोस्÷नचलोस्, गीतको सिडी निकाल्नेहरुको एक किसिमको तँछाडमछाड नै देखिन्छ ।

गला हुनेले पनि निकालेकै छन्, नहुनेले पनि निकालेकै छन् । यहाँ गीतका शब्द र भिडियोमा नियन्त्रण गर्ने कुनै निकाय नै छैन अथवा गीतको सिडी निकाल्न चाहनेहरुका लागि कुनै सुझाव दिने संयन्त्रै पनि छैन । त्यही भएर पनि बजारमा जस्तो पायो त्यस्तो तीजका गीत सार्वजनिक भएका छन् । त्यसमा देखाइने नृत्य पनि त्यत्तिकै अश्लील छन् । तीजको गीत हो कि मायाप्रीतिका भनेर खुट्याउनै गाह्रो छ । सुन्दाखेरी दोहोरीका गीत हुन् कि भन्ने पनि लाग्छ । कतिपय त रत्यौली जस्ता छन् । लोकगीतका ज्ञाताहरु भन्ने गर्छन्– अहिले निस्कने तीजका गीतहरुमा वास्तविकता हराएको छ । पार्टी प्यालेसमा गएर रक्सी, ह्विस्की र बियर खाएर तीजको दर खानु नेपाली परम्परा होइन । आफ्नो रूपको वर्णन गरेर भगवान् शिवसँग हाकाहाकी पोइ माग्ने चलन हाम्रो होइन । तीजका गीतमा धन सम्पत्तिको लेखाजोखा गर्ने चलन हाम्रो होइन । तर यहाँ तीजका गीतमा श्रीमान्सँग महँगा कार माग गरिन्छन्, ५० हजार जाने साडी मागिन्छ । अनि करोडौं पर्ने घर माग गरिन्छ । के तलका गीतले तीजको महत्व वृद्धि गर्न सघाउँदैन र ?

गाउँ सहर खोलेर दिदी र बहिनी

नाँचौँ न मिलेर नाम लिइ शैली

तीजको रहर आयो बरिलै

तीजको लहर आयो बरिलै

नौ डाँडा काटेर गएका चेली

भाग्यले भेट्न पाएछौँ फेरि

को कहाँ पुग्ने हो केही थाहा छैन

आगुँमा फेरि भेट हुने हो÷होइन ?

 

 

 

 

प्रकाशित: १५ भाद्र २०७३ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App