२३ असार २०८१ आइतबार
image/svg+xml
विचार

शिक्षाका लागि पुस्तकालय

पुस्तकालय शब्द पुस्तक र आलय (घर) दुई पद मिलेर बनेको शब्द हो जसको सामान्य अर्थ पुस्तकहरु संग्रह गरी राखिएको घर भन्ने हुन्छ। पुस्तकालयले सूचनाको पहुँच, शैक्षिक सामग्रीहरुको उपलब्धता, विज्ञान र प्रविधिको सर्वव्यापकतालाई सबैको पहुँचसम्म पु¥याउन उल्लेख्य भूमिका निर्वाह गर्छ । साँच्चै भन्ने हो भने पुस्तकालय शिक्षा आर्जन गर्ने अनौपचारिक स्रोतकेन्द्र हो अनि विज्ञान र प्रविधिको पवित्र थलो ।

भूकम्पको चपेटामा पुस्तकालय

नेपालको सन्दर्भमा भन्नुपर्दा निजी, शैक्षिक, सामुदायिक गरी विभिन्न किसिमका पुस्तकालय स्थापना भई सञ्चालन तथा व्यवस्थापन हुँदै आएका छन् । त्यसमा पनि २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पका कारण नेपालका थुप्रै शिक्षालय एव केही महत्वपूर्ण पुस्तकालय भवनहरुमा क्षति पुग्नाले तमाम विद्यार्थी वर्ग, खोज अनुसन्धाता, सर्वसाधारण मात्र नभएर समस्त नेपालको शैक्षिक, सामाजिक एवं आर्थिक क्षेत्र नै धराशायी भएको छ ।

 

मूलतः  २०७२ वैशाख १२ को महाभूकम्पले नेपाल राष्ट्रिय पुस्तकालय, मदन पुरस्कार केशर पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयलगायत काठमाडौँ उपत्यकाका अधिकांश सार्वजनिक पुस्तकालयका भवन भत्किएका÷चर्किएका छन् । इतिहासकार दाजुभाइ महेशराज पन्त र दिनेशराज पन्तले संरक्षण गरेका निजी र संशोधन मण्डलका पुस्तकालय भने भूकम्प प्रतिरोधी घर भएकाले ¥याक, दराज, कुर्सी, टेवल ढले पनि खासै कुनै ठूलो क्षति भएको छैन । भूकम्पपछि अन्यत्र सेवा बन्द भएकाले कतिपय शुभेच्छुकहरु हेर्न एवं अध्ययन गर्न भनी संशोधन मण्डल पुस्तकालयमा समेत पुगे । यस पुस्तकालयमा अन्यन्त्र नभएका हस्तलिखित लक्ष्मीपति–नयराज संग्रहका साथै नेपालको इतिहास, ज्योतिष विद्या र जर्नल गरी करिब १० हजार पुस्तक छन् ।

 

नेपालकै सबैभन्दा बढी विद्यार्र्थीको आकर्षणका रूपमा रहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालय पनि भूकम्पका कारण प्रभावित हुँदा विद्यार्थी एवं अनुसन्धानकर्ताहरुले केही समयसम्म कष्ट बेहोर्नुप¥यो । उक्त पुस्तकालयलाई महाभूकम्पअघिको अवस्थामा परिणत गर्न आइटी एक्सपर्ट एवं लाइबे्ररी प्रोफेसनलहरुको अद्यापि खाँचो छ । वि. स. २०१६ सालमा त्रिविसँगै स्थापित यो पुस्तकालय हाल ‘अनुसन्धान पुस्तकालय’ का रूपमा सञ्चालिन छ । करिव १२ सय पुस्तकबाट प्रारम्भ भएको यस पुस्तकालयमा हाल साढे तीन लाख किताव तथा करिव २५ हजार पत्रपत्रिका संकलित एवं सुरक्षित छन् । आइएसबिएन नम्बर उपलब्ध गराउने राष्ट्रिय एजेन्सीका रूपमा रहेको यस पुस्तकालयले अक्सफोर्ड विश्वविद्यालयको समन्वयमा अन्तर्राष्ट्रिय अनलाइन, डाटाबेश र किताव निःशुल्क उपलब्ध गरेको छ । हाल मुलुकभरका करिव ५५ क्याम्पस तथा विभिन्न संघ÷संस्थाले यो सेवा लिँदै आएका छन् ।

हरिहरभवनस्थित नेपाल राष्ट्रिय पुस्तकालय भूकम्पकै कारण इन्जिनियरहरुले बस्न नमिल्ने गरी रातो स्टिकर टाँसिदिएकाले बन्द गरिएको छ । यस पुस्तकालयमा विभिन्न भाषाभाषीका कुल १ लाख पुस्तक, ३ हजारभन्दा बढी शोधपत्र, १ हजार जर्नल र त्यति नै संख्यामा पत्रपत्रिका संकलित छन् । केशरशमशेरको निजी संकलनबाट प्रारम्भ गरिएको केशर पुस्तकालयमा रहेका युनेस्कोको मेमोरी अफ दि वल्र्ड हेरिटेजमा समावेश भएको हजार वर्षभन्दा पुरानो सुश्रुतसंहिता संकलित छ । भूकम्पका कारण यहाँ संग्रहित थुप्रै संख्यामा रहेका सामग्रीहरु खसेर नष्ट भए ।

ललितपुरस्थित मदन पुरस्कार पुस्तकालय भूकम्पबाट ज्यादै प्रभावित बन्यो ।  भूकम्पका कारण नेपाली वाङ्मयको सबैभन्दा ठूलो अभिलेखालय मानिएको यस पुस्तकालयले पनि धेरै समयसम्म सेवा प्रवाह ठप्प गर्नुप¥यो । वि. सं. २०१३ सालमा स्थापित यस पुस्तकालयमा करिव ३५ हजार पुस्तक, साढे ५ हजार पत्रपत्रिका, ५० हजार तस्बिर, १० हजार हस्तलिखित ग्रन्थ एवं अनेकन श्रव्यदृष्य सामग्री संकलित छन् । यसका साथै साँखु सहरस्थित भजनघरसँगै रहेको वि. २००९ सालपछि स्थापित साँखुकै सबैभन्दा पुरानो उग्रतारा पुस्तकालय पनि भूकम्पको धक्काले क्षतिग्रस्त भएको छ । भूकम्पपछि त्यहाँका सयौ पुस्तक नजिकैको रामभजनघरमा सुरक्षित गरिएको छ ।

यति मात्र नभएर काठमाडौँ उपत्यका बाहिरको दोलखा जिल्लाकै पुरानो र दुर्लभ मानिएको भीम पुस्तकालयमा पनि भूकम्पका कारण क्षति पुगेको छ । भीमेश्वर नपास्थित स्वयम्भूथानमा अवस्थित २ तले भीम पुस्तकालयभित्र र बाहिर दुवैतिर चर्किएर धराप बनेकाले भूकम्पको धक्काका कारण जीर्ण भएकाले वरपर आवत जावत गर्न सकेत कठिन भएको छ । २००९ सालमा स्थापित त्रिपुरा पुस्तकालय र वि. स. २०१४ सालमा अमेरिकी पुस्तकालयको सहयोगमा स्थापित भैरव लाइब्रेरी २०२३ सालतिर आगजनीबाट ध्वस्त भएपछि बचेका पुस्तकको जोहो एवं थपथाप गरी वि. स. २०२४ सालमा भीम पुस्तकालय नामाकरण गरिएको हो ।

जीवनपर्यन्त शिक्षा

साँचो मानेमा शिक्षा सृष्टिकै उत्कृष्टतम सिर्जना मनुवाको गहना, दिव्य चर्मचक्षु अनि मानवको शोभा पनि हो । त्यसैले हाम्रा पुर्वजहरुले ‘शिक्षाविहिन पशुः’ भनेको कुरा अद्यापि चरितार्थ छँदैंछ । शिक्षा मानवलाई जीवनपर्यन्त सही मार्गदर्शन गर्ने साधन हो । मानवले जन्मदेखि मरणसम्म आर्जन गर्ने शिक्षालाई हामी मूलतः औपचारिक, अनौपचारिक र अनियमित गरी तीन भागमा विभाजन गरी अध्ययन गर्छौंै । हरेक मानिसले जीवनमा कुनै न कुनै तवरले शिक्षा प्राप्त गर्छ चाहे त्यो औपचारिक, अनियमित वा अनौपचारिक नै किन नहोस् । शिक्षा मानवको भरपर्दो, दिगो र विश्वासिलो अस्त्र हो । त्यसैले राजा स्वदेशमा मात्र पुजिन्छन् भने विद्धान् सर्वत्र भनिएको हो ।

वास्तवमा पुस्तकालय एवं संग्रहालय अनौपचारिक शिक्षाका केन्द्र हुन् । पाठकहरुले पुस्तकालयबाट शैक्षिक एवं सामुदायिक लाभ हासिल गर्न सक्छन् भने सङ्ग्रहालयबाट स्वेच्छिकरूपमा मनोरञ्जन, शिक्षा तथा अनुसन्धान कार्य सम्भव छन् । विद्यार्थी, अनुसन्धाता आदिको प्रयोजनका लागि स्थापित पुस्तकालयहरुलाई शैक्षिक पुस्तकालय भनिन्छ भने सम्पूर्ण जनताको प्रयोजनका लागि स्थापना गरिएका पुस्तकालयहरु सामुदायिक हुन्छन् । पुस्तकालयको सन्दर्भमा भन्नुपर्दा शैक्षिकभन्दा सामुदायिक पुस्तकालयको महिमा र गरिमा उपल्लो मानिन्छ भने समग्र मानव जगतका लागि सामुदायिक पुस्तकालयले खुला विश्वविद्यालयको भूमिका निर्वाह गरेको तथ्यसामु कसैको विमति नहोला ।

सरकारी प्राथमिकता

नेपालमा आठ वर्षदेखि भाद्र १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउँदै आएको कुरा सर्वविदितै छ । यस सन्दर्भमा नेपाल सरकार शिक्षा मन्त्रालयको २०७३ साउन ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार यस वर्ष नवौँ पुस्तकालय दिवस भाद्र ९ गतेदेखि १५ गतेसम्म सप्ताहव्यापीरूपमा भव्यसाथ मनाउनका लागि केन्द्रीय स्तरमा शिक्षा मन्त्रीको प्रमुख आतिथ्यता एवं शिक्षा सचिवको अध्यक्षता पुस्तकालय दिवस २०७३ मूल समारोह समिति र जिल्लास्तरमा जिल्लास्तरीय पुस्तकालय दिवस २०७३ को समेत गठन भइसकेको छ ।

त्यसका लागि यस वर्षको आदर्श वाक्य ‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’ शीर्षकमा निबन्ध लेखन, हाजिरीजवाफ प्रतियोगिता, प्रभातफेरी मार्चपार्सलगायतका रचनात्मक र सिर्जनशील कार्यक्रम सञ्चालन गरी पुस्तकालय दिवस भव्यसाथ मनाउने तयारीसहित सरकारका तर्फबाट सम्बन्धित निकायलाई अघि बढ्न पत्राचार गरिसकेको अवस्था छ । साउन २८ गतेको नेपाल सरकार सचिवस्तरीय निर्णयबमोजिम मुलुकमा पठनपाठन संस्कृति विकास गर्न अपरिहार्य भएकाले यस वर्षको पुस्तकालय दिवस सम्बन्धित सबै निकायकोे संलग्नतामा मनाउन लागिएको हो ।

वैशाख १२ को भूकम्पबाट थुप्रै विश्वविद्यालय तथा विद्यालयमा क्षति पुगेकाले तिनको पुनर्निर्माणलाई राज्यले विशेष महत्वका साथ  कार्ययोजनासहित अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ । एकातर्फ क्षति पुगेका पुस्तकहरुको संरक्षण एवं शिक्षालयहरुको पुनर्निर्माण सम्पन्न गरी विद्यार्थीलाई टहराको बासबाट पूर्ववत् अवस्थामा फर्काई शिक्षण प्रक्रियालाई निरन्तरता दिनुपर्ने देखिन्छ भने अर्कातर्फ जीवनपर्यन्त शिक्षासँग जोडिएको क्षतिग्रस्त पुस्तकालयहरुको मर्मत, सम्भार एवं पुनर्निर्माण गरी शिक्षाका औपचारिक एवं अनौपचारिक माध्यमहरुलाई पुनजीवित तुल्याउनुपर्ने अनिवार्यता हाम्रासामु चुनौती र अवसरका पहाड बनेर उभिएका छन् ।

     अधिकृत, पुरातत्व विभाग

प्रकाशित: १५ भाद्र २०७३ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App