१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

तीज : गाउँ र सहरको

'वर्ष दिनको तीजको बेलीमा, बाबा लिन आए बरिलै

माइती घर जान्छु नि म त, सासू बिदा देऊ न बरिलै

वर्ष दिनको दुःखलाई बिर्सी, हाँस्ने दिन आयो बरिलै

एकै झल्को आमाको मुख, हेर्ने मन लाग्यो बरिलै'

जस्ता मौलिक भावना प्रकट भएका र सहज भाव बोकेको पारिवारिक पर्व तीज गाउँमा मनाइने रहेछ किनभने सहरमा त हामी आधुनिक र परिवर्तित हुँदै गेका छौं अनि हाम्रा भाका फेरिएका छन्, हाम्रा प्रस्तुति फेरिएका छन्, सहरीकरणले हाम्रा भावना बदल्यो या सहरी र सभ्य भनाउँदै हामीले समयलाई बदल्यौ? त्यसैले त सहरिया तीजे भाका त यस्तो बन्यो :

राम्रो स्वामी पाउने त आश पनि मारियो

मलाई फेसबुक भन्नेले खुत्रुक्कै पार्दियो

अस्ति भर्खर फेसबुकमा एउटा साथी बन्यो

कति वर्ष भयौ भन्दा पच्चीस वर्ष भन्यो

कस्तो मान्छे होला भन्दै सपना देख्न थालेँ

अन्तमा कुरा भो मायाजाल बुन्ने

मलाई भेट्न बोलायो म नि भेट्न गएँ

कुप्रेको बुढो रैछ हात लाग्यो शून्य...

महिलाले श्रीमान्को सुस्वास्थ्यको कामना गर्ने पर्व, पारिवारिक पर्व र महिलाको पर्वका रूपमा यसको संस्कृति विकास हुँदै आएकामा अहिले आएर सहरमा सबै कुरामा परिवर्तन हुन थालेको छ। विकासकै क्रममा जुनबेला महिलाले खुलेर आफ्ना भावना व्यक्त गर्न पाउने माध्यम, जस्तै– (सञ्चार माध्यम, सामाजिक सञ्जाल, महिलाका संघ/संस्था) थिएनन्, त्यतिबेला पनि महिलाका भावना थिए। ती भावना पोख्ने थलो र समय तीज थियो जसमा निर्धक्क खुलेर आर्थिक, सामाजिक, राजनीतिक अवस्था शिक्षा, सामाजिक चेतना र जागरण, प्रेम, सद्भाव सबै समेटिएका भावना तीजे भाकाको माध्यमबाट व्यक्त गर्थे महिला। गाउँघरमा अझैं पनि यो संस्कृति जीवित छ। चौतारीमा, बगैंचामा चेलीबेटी भेला भएर आफ्ना मौलिक नृत्य र भाकाका माध्यमद्वारा तीज पर्व मनाउँदै तीजको मौलिक संस्कृति जोगाएकै छन्। तर सहरका महिलालाई आफ्ना भावना व्यक्त गर्न कुनै तीज कुर्नुपर्दैन। अनेक सञ्चार माध्यम र महिलाका संघ/संस्थाको माध्यमबाट आफ्ना आवाज उठाउन सक्ने भएका छन्। नयाँ लुगा लगाउन, मीठो खान, चेलीबेटी जम्मा हुन तीज कुर्नुपर्दैन, त्यसैले होला सहरको तीजमा परिवर्तन आएको। यो अनुभव आजकल प्रस्तुत हुने पहिरन, भडि्कलोपन, आधुनिक तीजे भाका, तीजका दोहोरी, तीजमा पहिरिने गरगहना र तीजे दरमा पस्किइने परिकारले बताउँछन् सहरको प्रचलन बनेर।

अहिले आएर चाडपर्व पनि सामाजिक मान्यताको स्थान निर्धारण गर्ने थलो बन्दै गएका छन्। यसले गर्दा मानिसमा सकिनसकी चाडपर्वलाई रवाफिलो, भडि्कलो बनाउने र देखासिकी गर्ने चलन बढेको छ। तीजको परम्परामा रहेका राम्रा पक्षको विकास गर्दै, अन्धविश्वास र गलत परम्परा हटाउँदै संस्कृतिको जगेर्ना गर्नमा पनि महिलाको महत्वपूर्ण भूमिका हुनेछ। चाडपर्वलाई भडि्कलो र उच्शृंखल बनाइ प्रतिस्पर्धाको विषय  बनाउनुहुँदैन। आर्थिक, सामाजिकरूपमा शिष्ट, अनुशासित, मर्यादित र मितव्ययी ढंगले तीज मनाउने चलनको आरम्भ महिलाबाट गर्नुपर्छ। आर्थिक, सामाजिक, राजनीतिक पहुँच, शिक्षा र अधिकारमा  समानताका आवाज उठाउने महिलाले आफ्नो मौलिक संस्कृतिमा विकृति नआओस् भनेर त्यत्तिकै सजक हुनुपर्छ

आफ्नो ज्ञान, सिप र क्षमताको विकाससंँगै संस्कृतिको जगेर्ना र मौलिक पहिचान कायम राख्नु जरुरी छ। श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, आत्मसम्मान र सहअस्तित्व स्वीकार गर्दै जीवनलाई प्रेमपूर्णरूपमा अगाडि बढाउने कलाको विकास गरेमा निराहार व्रत बस्नु जरुरी छैन महिलाले। हाम्रा पर्व र संस्कृतिका विषयमा पनि  हाम्रो चेतनाको स्तरलाई स्खलित हुन दिनुहुँदैन। घर, परिवार र समाजमा शान्ति, मैत्री र भाइचारालाई महत्व दिने हाम्रा पर्वलाई रुढिवादिताबाट जोगाएर यसको आफ्नै पहिचान कायम राख्नमा पनि महिलाकै भूमिका र महत्व हुनेछ। स्वास्थ्यको ख्याल गर्दै खानपिन, विचार र आफ्नै भावनाको कदर गर्न सिकेमा संस्कृतिलाई विकृतिले छुन पाउँदैन कि?

प्रकाशित: १४ भाद्र २०७३ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App