७ वैशाख २०८१ शुक्रबार
विचार

बुढ्यौलीमा इगो हर्ट !

आजकल बालाई सन्चो बिसन्चोबाहेक केही सोध्दैनन् छोराछोरी। निवृत्त जीवन बिताइरहनु भएको छ बाले। उमेर बढेर शारीरिकरूपमा केही कमजोर बनेसँगै आफ्नो महत्व घटेको महसुस गर्दा मानसिकरूपमा पनि कमजोर भएको हो कि भन्ने लाग्छ बालाई। के अब जिउने भनेको काल पर्खन मात्रै हो र ? कुनै बाले अर्का आफ्नै दामलीलाई गर्ने आम प्रश्न हो यो।

हिजोका कुरा सम्झनुहुन्छ र मन भारी बनाउनुहुन्छ बा। कहिलेकाहिँ भक्कानिनुहुन्छ पनि। कस्तो थियो घरमा बाको सान। छोराछोरीका आदर्श हुनुहुन्थ्यो बा। उदाहरणीय थियो समाजमा सक्रियता। एक सम्मानित समाजसेवीमा दरिनुभएको थियो बा। गाउँघरले दुःखसुख हरसमयमा सहभागिताको अपेक्षा गथ्र्याे र बाले त्यसलाई पूरा पनि गर्नुहुन्थ्यो।  

आज समय फेरिएको छ। बाको स्थान छोराछोरीले लिइरहेका छन्। घरको वास्तविक मुली बा हुनुहुन्न। समाजको नेतृत्वबाट ‍ओझेल परिसक्नुभएको छ बा। गाँउघरले उहाँहरूलाई विरलै मात्र सम्झन्छ।

पद, पैसा र पावर तीनै कुराको केन्द्रीय भूमिका खोसिएको छ बाको।

घर होस् वा समाज अथवा संस्था नै किन नहोस्, पदमा आसिन हुँदाको रबाफ बेग्लै प्रकारको हुन्छ। अझ नेतृत्वदायी भूमिकामा हुँदाको सानको त कुरै छोडौं। त्यो तहमा पुग्ने धेरैले बिर्सने कुरा के हो भने यो सब क्षणिक हो। सधैं म यो स्थानमा हुने छैन भन्ने कुराको हेक्का नराख्दा मानिसहरूलाई त्यसपछाडिको जीवनमा सम्हालिन कठिन हुन्छ। जुन मानवीय स्वभाव नै हो। बाहरू पनि त्यसबाट अछुतो हुने कुरै भएन।

पैसामा पनि मानिसको आशक्ति विशिष्ट किसिमको हुन्छ। आर्थिक स्वतन्त्रतालाई मानवको नैसर्गिक हकका रूपमा राखिएको छ। पैसा आफै कमाउने र परिचालन गर्ने भूमिकामा हुँदा मानिसमा आत्मविश्वास र ऊर्जा शिखरमा पुगेको हुन्छ। धनको अहम् र आडम्बरले मानिसलाई कहिलेकाहिँ त आफ्नो हैसियत र ‍औकात नै बिर्साइदिएको हुन्छ। क्षणिक र नासवान् हो भन्ने जान्दाजान्दै पनि पैसाको पछाडि मानिसको सम्मोहन अतुलनीय हुन्छ। त्यही कुरालाई इज्जत दिने प्रचलन हामीकहाँ व्याप्त रहेको छ। हुँदा भरिपूर्ण नहुँदा रित्तो अनि शून्य भएको आभास गराउने क्षमता पैसामा हुने हुँदा यसले मानवीय संवेदनामा आघात पु¥याउने गर्छ।

अर्को हो शक्ति। यसमा मानिसको मोह अचम्मको हुन्छ। आफूलाई शक्तिको केन्द्रमा राख्ने चाहना सबै मानिसमा हुन्छ। अरूलाई धम्क्याएर, होच्चाएर, प्रलोभनमा पारेर वा रिझाएर आफू मालिक बन्न खोज्ने प्रवृत्ति सबै मानिसमा रहेको हुन्छ। जुन कुरा कसैले अभिव्यक्त गर्छन् भने कतिले भित्रभित्रै दबाएर राखेका हुन्छन्। जब शक्ति क्षीण बन्छ, मानिसको जीवनप्रतिको मोह पनि कमजोर बन्दै जान्छ।

बालाई अहिले भएको त्यही हो। तीनैवटा कुरा बाको हातबाट छुटिसकेका छन्। यसले बाको आत्मसम्मान अनि अहम्मा ठेस पुर्‍याएको छ अथवा इगो हर्ट भएको छ। यस विषयमा हरसन्तानले सोच्नुपर्ने भएको छ। यो एउटा बा वा आमाको मात्र कुरा होइन। मलाई लाग्छ यो हरघरको नियति हो। यस पक्षमा ध्यान नजाँदा कयौं अप्रिय घटना घटिरहेका र घट्नेक्रममा छन्।  

आफूभन्दा कनिष्टलाई सिनियर पदमा बहाली गराइँदा सार्वजनिक रूपमै अस्वीकार गर्ने प्रवृत्ति नौलो होइन। कार्यालय प्रमुख भएको व्यक्ति आफूभन्दा माथिल्लो पदको नै भए पनि अर्को व्यक्ति प्रमुखको भूमिकामा आउँदा मातहतमा रहेर काम गर्न रुचाउँदैन। यस्ता प्रतिनिधि घटनामा एउटा कर्मचारी वा नेतृत्वकर्ताले गर्ने आम निर्णय भनेको सरुवा वा राजीनामा हो। नीति निर्माता या नियामक निकायका पदाधिकारी पनि यसलाई स्वाभाविक मान्ने गर्छन्।

यस्तै परिस्थिति बाआमाको हकमा आए के हुन्छ। उहाँहरूलाई सरुवा वा राजीनामा दिने अवस्था आए के होला ? मानवीय गुण त एकै किसिमको होइन र ? उहाँहरूमा पनि त्यस किसिमको सोच नआउला ? जीवनमा सरुवा वा राजीनामाको अर्थ के हो? अनि हामीलाई सफल बनाउन, अब्बल बनाउन आफ्नो अमूल्य जीवन खर्चिएका उहाँहरूलाई त्यो अवस्थामा पुग्न दिनुहुन्छ ? हामी सन्ततिलाई यस्तो गम्भीर विषयलाई स्वाभाविक रूपमा लिने छुट कदापि छैन।

हामीले हाम्रो सानो प्रयासले उहाँहरूको निवृत्त जीवनमा खुसियाली भरिदिन सक्छौं। उहाँहरूको आत्मसम्मानलाई जीवित राख्न हामीले केही गरिराख्नुपर्दैन। उहाँहरूलाई सम्मान दिनुपर्छ, इज्जत दिनुपर्छ। समय दिनुपर्छ। समय समयमा स्वास्थ्य परीक्षण गराउनुपर्छ। पकेट खर्च छ छैन सोधिरहनुपर्छ। नभए दिनुपर्छ। के खान मन लागेको छ सोध्नुपर्छ र मनलागेको खानेकुरा खुवाउनुपर्छ। कतै घुम्न मन लागेको छ भने समय मिलाएर घुम्न लैजानुपर्छ। तीर्थाटन गर्ने रहर भएमा गराउनुपर्छ। पुस्तक पढ्न सक्ने र रुचाउनेलाई मागअनुसारका पुस्तक ल्याइदिनुपर्छ। घरमा हुने निर्णयमा सहभागी गराउनुपर्छ। सहभागी हुन नसकेमा कम्तीमा जानकारी गराउनुपर्छ। उहाँका अनुभव र भोगाइलाई सुनिदिनुपर्छ। नयाँ पुस्तालाई उहाँहरूमा भएको जीवनोपयोगी व्यावहारिक ज्ञान सिकाउने वातावरण बनाइदिनुपर्छ। सबैभन्दा ठूलो कुरा उहाँहरूसँगको दुरी कहिल्यै पनि बढाउनुहुँदैन। वृद्ध भइसकेपछि प्रायः सबैले खोज्ने भनेको सामीप्य र आत्मीयता हो। जुन कुरा दिन हामी कहिल्यै चुक्नुहुँदैन।  

सन्तानको प्रगतिको आरिस कुनै पनि बाआमाले गर्दैनन् तर सफतलाको उत्सवमा सहभागी नगराए अनि कामयाबीको जस आफूलाई नदिएमा भने चित्त दुखाउँछन्। जुन स्वाभाविक पनि हो। आजका सन्तति पद, पैसा र पावरको अभ्यासमा मस्त छन्। उनीहरूले भोलि हाम्रो अवस्था पनि बाआमाकै जस्तो हुन्छ भन्ने बुझ्न जरुरी छ। आफ्ना सन्ततिबाट सानो कुरामा अपमानित भएको महसुस हुँदा उहाँहरूलाई असह्य हुन सक्छ। जीवनप्रति नै नैराश्य जाग्ने अवस्था आउन सक्छ। अतः उहाँहरूको जीवनजगत्प्रतिको मोह भंग हुन नदिन हामीले कुनै कसर बाँकी राख्नुहुँदैन। यो कुरामा समयमै सचेत भएमा कसैले पनि फुर्सदमा पछुताउनुपर्ने छैन।

प्रकाशित: ७ माघ २०७९ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App