डा. कुन्दन अर्याल
नेपालको विद्यमान कानुनअनुसार प्रेस प्रतिनिधि हुन एसएलसी परीक्षा उत्तीर्ण गरेकै हुनुपर्छ। त्यसैगरी सम्पादकका लागि स्नातक तहको प्रमाणपत्र अनिवार्य गरिएको छ। तर एसएलसी उत्तीर्ण गरेर दस वर्ष प्रेस प्रतिनिधिको अनुभव संगालेको कुनै पनि व्यक्ति सम्पादक हुन योग्य ठहर्छ। नेपालको कानुनले स्वतन्त्र पत्रकारका रूपमा पत्रकारको अर्को तह निर्धारण गरेको छ। जसका लागि पन्ध्र वर्षको पेशागत अनुभव र स्नातक तहको प्रमाणपत्र जरुरी हुन्छ। यसरी नेपाल पत्रकारिता गर्नका लागि सरकारी निकायबाट प्रमाणपत्र लिनैपर्ने प्रावधान भएका देशहरुको सूचीमा पर्छ।
नेपाली पत्रकारका पेशागत संस्थाहरुले आफ्नो तर्फबाट प्रेस पास बाँड्न सकेका छैनन्। बेलायत, अमेरिका वा युरोपका प्रजातान्त्रिक देशहरुमा यहाँ जस्तो सरकारी निकायले प्रेस पास वितरण गर्दैनन्। पत्रकार संस्था वा ट्रेड युनियनकै कार्डलाई जहाँसुकै मान्यता दिइएको हुन्छ। तर हामीकहाँ पत्रकार महासंघले समेत प्रेस प्रतिनिधि प्रमाणपत्रको जिम्मा लिन किन नसकेको होला? प्रष्टै छ, नेपाली पत्रकारहरुको छाता संस्था पनि सदस्यता लिने सबै जना पत्रकारको प्रमाणपत्र लिन योग्य छन् भन्ने ठान्दैन।
यस्तो अवस्थामा पत्रकारिता गर्न चाहनेबीच जिम्मेवारीवोध गराउन दक्षता र योग्यतासम्बन्धी परीक्षाको व्यवस्था गरिनु उपयुक्त नहुने कुरै छैन। त्यस्तो परीक्षणको व्यवस्था गरिएको खण्डमा नेपाली पत्रकारबीच दक्षता अभिवृध्दि गर्ने प्रतिस्पर्धा बढ्नेछ। बरु यस सन्दर्भमा परीक्षा सञ्चालन गर्ने या योग्यताको परख गर्ने निकायको स्वतन्त्रताको सुनिश्चिता भने खोज्नैपर्छ।
पत्रकारिता ज्ञान र विज्ञानको संगम भएको यस्तो पेशा हो जहाँ सिप, क्षमता अनि आधारभूत मूल्य र मान्यताको खोजी गरिन्छ। त्यसैले पत्रकारको योग्यता निरुपण गरिनुपर्छ भन्दा अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजियो भन्नु पत्रकारिता पेशाको गरिमा स्थापना गर्न नखोज्नु हो भन्ने अर्थ लाग्न सक्छ।
त्यस्तो निकायको स्वतन्त्र हैसियत र निर्णय क्षमताको प्रत्याभूतिका सम्बन्धमा सुस्पष्ट, मूर्त र व्यावहारिक उत्तर फेला परेको अवस्थामा पनि योग्यताको परख गर्ने प्रणाली हुनै हुँदैन भन्नु अर्थहीन हुनेछ। विश्वमा प्रजातन्त्रको पहिलो लहरको उदाहरणका रूपमा प्रस्तुत गरिने अमेरिकी स्वतन्त्रता संग्रामको बेलामा होस् या फेन्च क्रान्तिको समयमा होस्, आजको जस्तो व्यावसायिक पत्रकारिता कुन चराको नाम हो पत्रकारिताका अभियन्तालाई थाहा थिएन। दोस्रो विश्वयुध्दलगत्तै भएका कैयन् देशका विश्व प्रसिध्द परिवर्तनका लागि पत्रकारिताको व्यापक प्रयोग भयो। त्यसबेलासम्म पनि विश्वको ठूलो भूभागमा पत्रकारिता पेसा होइन, अभियान वा राजनीतिक क्रान्तिको औजारका रूपमा स्थापित थियो। हाम्रा छिमेकी देशहरुमा उपनिवेशवादविरुध्दको राष्ट्रिय मुक्ति आन्दोलनका मैदानमा पहिलो पंक्तिमा पत्रकारहरु थिए। हाम्रो जस्तो देशहरुमा त नब्बेको दशकमा आएको प्रजातन्त्रको लहरपश्चात पत्रकारिता पेशा वा व्यावसायका रूपमा देखा पर्न थाल्यो।
आमसञ्चार माध्यम उद्योगका रूपमा विकसित भइसकेपछिको प्रजातन्त्रोत्तर कालमा पत्रकारिता प्रजातान्त्रिक आन्दोलनको औजारका रूपमा रहिरहने कुरै भएन, यसको छुट्टै पहिचान स्थापना हुन थ्ााल्यो। समाजका विभिन्न पेशाभ्ा्कैं पत्रकारिता पनि रोजगारीको क्षेत्रका रूपमा चिनिन थाल्यो। डाक्टर, इन्जिनियर वा वकिल बन्नका लागि विशिष्टकृत तालिम चाहिएजस्तै पत्रकारिता विषयमा पनि विशिष्ट सिप र दक्षता आवश्यक पर्छ भन्ने स्वीकार गर्न थालियो।
यस्तो परिस्थितिमा सन् साठीभन्दा अघिको पुस्तक पढेर, त्यही बेलाको मान्यता अघि सारेर अमेरिका र बेलायतमा त पत्रकारिता जोकसैले गर्न पाउँछ भने यहाँ केको दक्षताको प्रमाणपत्र भन्ने तर्क सार्नु युक्तसंगत हुँदैन्। संसारभरि नै पत्रकारहरुको व्यावसायिक सिप र दक्षता पहिलेको तुलनामा निकै बढेको छ। सन् साठीअघिका पत्रकाकारिताका किताब पढ्ने हो भने संयुक्त राज्य अमेरिकामा पनि विद्यालय शिक्षा सकेकाहरु प्ा्रेस प्रतिनिधि हुन सक्छन् र तिनैमध्ये छानिएका कालान्तरमा सम्पादक हुन्छन् भनेर लेखिएको पढ्न पाइन्छ। तर आज अमेरिका र बेलायतमै पत्रकारिता पेशामा प्रवेश गर्न के गर्नुपर्छ भनेर खोज्ने हो भने कम्तीमा विश्वविद्यालय स्नातक भई सिपसम्बन्धी तालिम हासिल गरेको हुनुपर्छ भन्ने उत्तर त गुगलले पनि उपलब्ध गराइदिन्छ। पत्रकारिता जति उन्नत हुँदैछ, पत्रकारबीच व्यावसायिक स्पर्धा उति नै बढ्दैछ। तसर्थ संसारमा जहाँसुकै पत्रकारको योग्यता बढाउन शिक्षा र तालिमलाई जोड दिने गरिएको छ। नेपालजस्तो न्यून साक्षरता र पिछडिएको अर्थव्यवस्था भएको देशमा पत्रकारितालाई प्रतिष्ठित पेशाका रूपमा स्थापित गर्न सजिलो छैन। दर्ता गरेको खास अवधिदेखि नै अनिवार्यरूपमा सरकारले कुनै पनि अखवारलाई दरबमोजिमको लोककल्याणकारी आर्थिक सहयोग प्रदान गर्नैपर्ने प्रचलन कायम रहेको यो देशमा कैयन् पत्रकार सबैथोक हुन्छन्, खासमा पत्रकारचाहिँ हुँदैनन्।
मुख्य कुरा, पत्रकारितालाई विगतमा कसरी बुझिन्थ्यो र आजको समाजमा यसलाई कसरी ग्रहण गरिएको छ भन्ने थाहा पाउन जरुरी छ। हिजोका सम्भ्रान्तहरुको सोख वा क्रान्तिकारीहरुको औजारबाट आजको रोजगारीको क्षेत्रमा रूपान्तरित भइरहेको पत्रकारितामा योग्यताको प्रश्न उठाउनु नाजायज हुनै सक्दैन। पत्रकारिता आज पनि उद्यमी, राजनीतिकर्मी वा जुनसुकै क्षेत्रका अगुवाका लागि जनतालाई आफ्नो विचार, उत्पादन वा सेवातर्फ आकर्षित गर्ने माध्यम अवश्य हो। तर विधि र प्रक्रिया हिजोको भन्दा पूर्णतः फरक छन्। महात्मा गान्धीले पत्रकारितालाई स्वाधीनताको लडाइँको अस्त्रका रूपमा प्रयोग गरे। आज कुनै पनि देशमा प्रकाशन वा प्रशारण गृहका मालिक वा सम्पादक त्यही ढंगले आफ्नो प्रकाशन वा प्रशारणको मूल ध्येय व्यावसायभन्दा अरु केहीलाई मान्नै सक्दैनन्। गान्धी त विज्ञापनको घोर विरोध गर्थे भनेर आज कसैले योङ्ग इन्डिया र हरिजनले गरेजस्तो पत्रकारितालाई मूलधारको पत्रकारिताका रूपमा ग्रहण गर्न सक्दैन्। आजको सन्दर्भमा प्रशारण, प्रकाशन वा अनलाइन्ा जुनसुकै माध्यमबाट गरिने पत्रकारिताको अर्थशास्त्र राष्ट्रिय मुक्ति आन्दोलन वा क्रान्तिकालीन मानसिकताले बु‰न गाह्रो हुन्छ।
पत्रकारिता ज्ञान र विज्ञानको संगम भएको यस्तो पेशा हो जहाँ सिप, क्षमता अनि आधारभूत मूल्य र मान्यताको खोजी गरिन्छ। त्यसैले प्ात्रकारको योग्यता निरुपण गरिनुपर्छ भन्दा अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजियो भन्नु पत्रकारिता पेशाको गरिमा स्थापना गर्न नखोज्नु हो भन्ने अर्थ लाग्न सक्छ। सिप र दक्षताको मान्यता प्राप्त प्रमाणपत्रले पत्रकारको प्रतिष्ठामात्र बढाउँदैन, मिडिया उद्योगमा उनीहरुको पारिश्रमिकसम्बन्धी मोलतोल गर्नेे सामर्थ्यसमेत अभिवृध्दि गर्छ।
एउटा चिकित्साकर्मीबाट मानिसको जीवनप्रति कुनै पनि बखत हेलचेक्र्याईं हुँदैन भन्ने अपेक्षा गरिन्छ। एउटा वकिलले जस्तोसुकै जटिलताका बीच पनि व्यक्तिलाई न्यायको बाटो देखाउनेे आशा गरिन्छ। त्यसैगरी सत्य उत्खनन् पत्रकारको सबैभन्दा मूल धर्म हो। तर यो व्यावसायिक धर्म पालना व्यावसायिक सिप र दक्षताको अभावमा हुनै सक्दैन। अभिव्यक्ति स्वतन्त्रताबिना व्यावसायिक पत्रकारिता र सिर्जनशीलताको परिकल्पना गर्न सकिंँदैन्। तर पत्रकारितालाई केवल आफ्नो कुरा एकतर्फीरूपमा लाद्ने स्वतन्त्रताको माध्यम ठानेर कोरा, अर्मूत, एकलकाँटे र अपरिस्कृत अभिव्यक्ति पस्किनेहरुले आमजनताको विश्वास जित्न सक्दैनन््। संसारमा आमजनताले सन् उन्नाइसौं शताब्दीको मध्यदेखि अखवार किन्न र पढ्न थालेको ठान्ने हो भने पनि यसबीच पत्रकारिता एक विशिष्ट पेशा वा व्यावसायका रूपमा स्थापित भइसकेको छ। हाम्रो देशमा पनि कम्तीमा सन् नब्बेयता यो आमजनताको विश्वास प्राप्त रोजगारीको एउटा क्षेत्र हो। त्यही कारण यो विश्वविद्यालयमा पढिने विषय पनि बन्न पुगेको हो। आजका नेपाली युवालाई सोधौं, पत्रकारिता के हो? सबैले जवाफ दिनेछन्, अलि थोरै–थोरै कमाइ हुने भए पनि कामको एउटा क्षेत्र हो। त्ासर्थ पत्रकारिता पेशा अंगाल्न चाहनेहरुका लागि योग्यताको परीक्षण गर्ने सुझावलाई अन्यथा ठहर्याउनु हुँदैन्। हो, यस्तो व्यवस्था सरकारको क्षेत्राधिकारभित्र पर्नु हुँदैन्। योग्यता परीक्षण गरी प्रमाणपत्र प्रदान गर्ने निकायको स्वतन्त्रताको प्रत्याभूति माग गर्नैपर्छ। यो व्यवस्था पत्रकारिता जगतले आफ्नै पेशागत प्रतिष्ठा अभिवृध्दिका लागि आफैं गर्नुपर्छ।
यथास्थितिमा परिवर्तनको आग्रह गर्ने जुनसुकै प्रस्तावमाथि सुरुमा शंका उत्पन्न हुनु अस्वाभाविक होइन। त्यसैले पत्रकारिता गर्न दक्ष र योग्य रहेको प्रमाणपत्रलाई तत्कालका लागि पत्रकारिता पेशामा प्रवेश गर्ने अनिवार्य सर्तका रूपमा लागु गर्नैपर्छ भन्ने पनि छैन्। यस्तो प्रवेश परीक्षालाई पत्रकारिता गर्ने योग्यताको प्रमाणपत्रका रूपमा मात्र ग्रहण गर्न पनि सकिन्छ। मुख्य कुरा, त्यस्तो योग्यता परीक्षण प्रणालीको सुरुवात हुन सक्यो भने समयक्रममा योग्य, दक्ष र गम्भीर पत्रकारहरु प्रोत्साहित हुँदै जानेछन्, पत्रकारिता पेशाको गरिमा बढ्दै जानेछ।
प्रमुख, पत्रकारिता विभाग, रत्नराज्यलक्ष्मी क्याम्पस, त्रिवि
प्रकाशित: ३२ श्रावण २०७३ ०५:१९ मंगलबार