१ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

शिक्षा ऐन संशोधनपछिको सार्वजनिक परीक्षा

शिक्षा ऐन, २०२८ को आठौँ संशोधन विधेयक व्यवस्थापिका–संसद्बाट पारित भई २०७३ असार १५ गते प्रमाणीकरण भई कार्यान्वयनमा आएको छ। यो ऐन नेपाल राजपत्रमा मिति २०७३/३/१५ मा नै प्रकाशित भएको छ। ऐनको दफा १ संक्षिप्त नाम र प्रारम्भको उपदफा (२) मा 'यो ऐन तुरुन्त प्रारम्भ हुनेछ' भनिएपछि शिक्षा (आठौँ) संशोधन ऐन, २०७३ शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको र प्रमाणीकरण भइसकेको अवस्थामा ऐनको आठौँ संशोधनले परिवर्तन गरेका विषय तुरुन्तै प्रभावमा आइसकेका छन्। अत :  ऐन तुरुन्त प्रारम्भ भएकाले संशोधनमा उल्लेख भएका दफा र उपदफाका संशोधित सन्दर्भ नै कार्यान्वयन हुनुपर्छ र हुन्छ। यस विषयमा विभिन्न जिज्ञासा र भ्रम सिर्जना भई अन्योलकोे चर्चा चलिरहेको सन्दर्भमा यस लेखमा शिक्षा (आठौँ संश्ाोधन) २०७३ कार्यान्वयनमा आएपछि विद्यालय शिक्षाको परीक्षा सम्बन्धमा उठेका जिज्ञासा साम्य पार्ने प्रयास गरिएको छ :

कुन परीक्षा कसले चलाउने?

विद्यालय तहकोे परीक्षाको कक्षा ८, १० र १२ को अन्त्यमा बोर्डले परीक्षा सञ्चालन गर्ने कानुनी व्यवस्था छ। ८ को अन्त्यमा आधारभूत तहको परीक्षा जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन हुन्छ। कक्षा ९ को परीक्षा आवधिक पद्धतिमार्फत् विद्यालयले सञ्चालन गर्छ। माध्यमिक तहको कक्षा १० को अन्त्यमा र माध्यमिक शिक्षाको अन्त्य अर्थात् कक्षा १२ को अन्त्यमा हुने परीक्षा सार्वजनिक परीक्षा (बोर्ड परीक्षा)का रूपमा राष्ट्रिय परीक्षा बोर्डमार्फत् हुने व्यवस्था छ भने कक्षा ११ को परीक्षा सञ्चालन सम्बन्धमा परीक्षा नीति निर्माण भई राष्ट्रिय परीक्षा बोर्डबाट अर्को निर्णय नभइञ्जेलसम्म साविकझैं राष्ट्रिय परीक्षा बोर्डमार्फत् सार्वजनिक परीक्षाका रूपमा सञ्चालन हुनेछ।

राष्ट्रिय परीक्षा बोर्ड गठन भएपछि विद्यालय शिक्षाका परीक्षा सञ्चालनमा के के हुने र कसकसले सञ्चालन गर्ने भन्ने विषयका सम्बन्धमा शिक्षा (आठौँ संशोधन) ऐनले स्पष्ट व्यवस्था गरेको छ– 'माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय र व्यवस्था गर्न एक राष्ट्रिय परीक्षा बोर्ड रहनेछ। माध्यमिक शिक्षाको कक्षा दस र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा बोर्डबाट सञ्चालन हुनेछ तर आधारभूत तहको परीक्षा जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन हुनेछ। कक्षा दसको अन्त्यमा हुने परीक्षा क्षेत्र स्तरमा र आधारभूत तहको अन्त्यमा हुने परीक्षा जिल्लास्तरमा सञ्चालन हुनेछ।' यस प्रावधानबाट राष्ट्रिय परीक्षा बोर्डले कक्षा दस र माध्यमिक तहको अन्त्यमा हुने गरी दुईवटा परीक्षा सञ्चालन गर्नेछ। राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन हुने परीक्षा सार्वजनिक परीक्षा अर्थात् राष्ट्रिय परीक्षा हुनेछन्। कक्षा दसमा लिइने परीक्षाको सञ्चालन, समन्वय र व्यवस्था पनि राष्ट्रिय परीक्षा बोर्डबाट हुने हुँदा कक्षा दसको अन्त्यमा सार्वजनिक परीक्षा हुँदैन भनेर भ्रममा रहनुहुँदैन। कक्षा दसको अन्त्यमा एउटा सार्वजनिक परीक्षा (बोर्ड एक्जामिनेसन) हुन्छ र यसको सञ्चालन राष्ट्रिय परीक्षा बोर्डमार्फत् नै हुन्छ। यो परीक्षाको नियन्त्रण र प्रमाणीकरण पनि राष्ट्रिय परीक्षा बोर्डबाट हुने हुँदा यो परीक्षा पनि बोर्ड एक्जामिनेसन नै हो। कक्षा दसको अन्त्यमा हुने परीक्षा क्षेत्रीयस्तरमा सञ्चालन हुने हो। यसो भन्दैमा राष्ट्रिय परीक्षा बोर्डबाट गर्ने होइन भनेर बुझ्नुहुँदैन। माध्यमिक तहको अन्त्यमा हुने परीक्षा अब कक्षा १२ को अन्त्यमा हुने परीक्षा हुनेछ। शिक्षा (आठौँ) संशोधन ऐन, २०७३ ले 'माध्यमिक शिक्षा भन्नाले कक्षा नौदेखि कक्षा बारसम्म दिइने शिक्षा सम्झनुपर्छ' भनी परिभाषित गरेकाले माध्यमिक तहको अन्त्यमा लिइने परीक्षा भनेर कक्षा १२ को अन्त्यमा लिइने परीक्षा भनी बुझ्नुपर्छ।

अब एसएलसी हुन्छ?

'के अब कक्षा १० मा एसएलसी परीक्षा हुँदैन?' यस्तो जिज्ञासा पनि सुनिन आएको छ। विद्यालयमा विद्यार्थी कक्षा १० मा एसएलसी परीक्षा हुँदैन भनी पठनपाठनमा ध्यान दिन छाडेका गुनासा पनि सुनिन आएको छ। कक्षा १० मा एसएलसी परीक्षा हुँदैन भनेर बुझ्न खोजेको हो कि कक्षा १० मा बोर्ड परीक्षा हुँदैन भनेर बुझ्न खोजेको हो भन्नेमा अन्योल देखिन्छ। एउटा कुरा के हो भने कक्षा १० को अन्त्यमा एसएलसी परीक्षा हुँदैन। एसएलसी परीक्षा भनेको स्कुल लिभिङ सर्टिफिकेट एक्जामिनेसन हो जसलाई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा पनि भनिन्छ। यो परीक्षा अब माध्यमिक तहको अन्त्यमा अर्थात् कक्षा १२ को अन्त्यमा हुन्छ। माध्यमिक तह भनेको कक्षा १२ सम्म भएकाले माध्यमिक तहको अन्त्य भनेको कक्षा १२ नै हो। अर्को कुरा सत्य के हो भने कक्षा १० को अन्त्यमा बोर्ड परीक्षा हुन्छ। माध्यमिक शिक्षाको कक्षा १० को अन्त्यमा हुने परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नेछ भनी शिक्षा ऐनको संशोधनमा उल्लेख भएकाले कक्षा १० मा अध्ययन गर्ने भाइबहिनीले बोर्ड परीक्षाको तयारी गर्न अल्मलिनु हुँदैन।

'माध्यमिक तहको अन्त्यमा हुने परीक्षा कक्षा १२ मा हुने भएपछि अब एसएलसी परीक्षा हुन्छ कि हुँदैन?' भन्ने जिज्ञासा यत्रतत्र सुनिने गरेको छ। शिक्षा ऐन (आठौँ संशोधन समेत) २०२८ को दफा २ (छ) मा 'माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (स्कुल लिभिङ सर्टिफिकेट एक्जामिनेसन)' भन्नाले माध्यमिक शिक्षाको अन्त्यमा हुने परीक्षा सम्झनुपर्छ भनी परिभाषित गरेपछि र सोही ऐनको दफा ४ट मा परीक्षाको सञ्चालन र व्यवस्थापनसम्बन्धी व्यवस्थाको उपदफा (१) मा माध्यमिक शिक्षाको कक्षा दस र माध्यमिक तहको अन्त्यमा परीक्षा बोर्डबाट सञ्चालन हुनेछ भनी उल्लेख भएपछि कक्षा १२ को अन्त्यमा लिइने परीक्षा स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) एक्जामिनेसन नामबाट हुने स्पष्ट नै छ । अबको एसएसलसी परीक्षा कक्षा १२ को अन्त्यमा हुने कुरामा दुविधा हुनुपर्दैन।

'कक्षा १२ को अन्त्यमा हुने परीक्षा एसएलसी नाममा हुने भएपछि कक्षा १० को अन्त्यमा हुने हालको एसएलसी परीक्षा हुन्छ कि हँुदैन?' भन्ने विषयमा जिज्ञासा देखिएको छ। माथि नै उल्लेख गरिएको छ कि माध्यमिक तहको अन्त्यमा हुने परीक्षा, जसलाई एसएलसी भनिन्छ, कक्षा १२ को अन्त्यमा हुन्छ। अब कक्षा १० को अन्त्यमा एसएलसी परीक्षा हुँदैन। यसो भन्दा कक्षा १० मा सार्वजनिक (राष्ट्रिय) परीक्षा हँुदैन भनेर बुझनु गलत हुन्छ। कक्षा १० को अन्त्यमा बोर्ड परीक्षा सञ्चालन हुन्छ। यो परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्डबाट क्षेत्रीय स्तरमा सञ्चालन हुन्छ। शिक्षा ऐन (आठौँ संशोधनसमेत) २०२८ को दफा ४ ट ले माध्यमिक शिक्षाको कक्षा दसको अन्त्यमा हुने परीक्षा बोर्डबाट सञ्चालन हुन्छ भनी राष्ट्रिय परीक्षा बोर्डको कामअन्तर्गत राखेको छ। यहाँनेर केमा स्पष्ट हुन जरुरी छ भने माध्यमिक शिक्षाको कक्षा १० र माध्यमिक तहको अन्त्य (कक्षा १२) मा बोर्ड परीक्षा सञ्चालन हुनेछन्। कक्षा १२ को अन्त्यमा लिइने परीक्षाको नाम एसएलसी हुने स्पष्ट भए पनि कक्षा १० को अन्त्यमा हुने परीक्षाको नाम के हुने स्पष्ट भइसकेको छैन। शिक्षा मन्त्रालयले स्वीकृत गरेको परीक्षासम्बन्धी नीतिको अधिनमा रही राष्ट्रिय परीक्षा बोर्डको नीति निर्धारण गरी कार्यान्वयन गर्ने/गराउने अधिकार पाएको राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को बोर्ड परीक्षाको नाम स्वीकृत नीतिका आधारमा तय गर्नेछ। परम्परागतरूपमा बुझ्ने गरेको 'प्रवेशिका परीक्षा' वा 'म्याटि्रकुलेसन एक्जामिनेसन' वा 'कक्षा १० को अन्त्यमा लिइने परीक्षा' जस्ता वा अर्को कुनै नाम तय हुनेछ। जे नाम भए पनि कक्षा १० को अन्त्यमा बोर्ड परीक्षा हुने कुरामा दुविधा भने छैन।

बोर्ड परीक्षाको मान्यता

'माध्यमिक तहको अन्त्यमा हुने परीक्षा (एसएलसी एक्जामिनेसन) कक्षा १२ को अन्त्यमा हुने भएपछि यसको मान्यता के हुन्छ? कक्षा १० को अन्त्यमा हुने परीक्षा (बोर्ड परीक्षा) को मान्यता के हुन्छ?' भन्ने प्रश्नहरूमा स्पष्ट हुन जरुरी छ। शिक्षा ऐन (आठौँ संशोधन सहित) को दफा ४ ड मा माध्यमिक शिक्षाको मान्यताअन्तर्गत 'माध्यमिक शिक्षा उत्तीर्ण प्रमाणपत्रको मान्यता प्रवीणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह उत्तीर्ण गरेसरह हुनेछ' भनी उल्लेख गरिएबाट अबको एसएलसी परीक्षा उत्तीर्णको मान्यता प्रवीणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह उत्तीर्णसरह भएको स्पष्ट हुन्छ। कक्षा १० को अन्त्यमा हुने परीक्षाको मान्यता भने एसएलसीसरह हुँदैन, मात्र कक्षा १० अध्ययन पूरा भएको मान्यता हुन्छ। शिक्षा मन्त्रालयले कक्षा ११ भर्नाका लागि अक्षराङ्कन पद्धतिका तोकिएका मापदण्डअनुसार कक्षा १० अध्ययन पूरा गरेका विद्यार्थीले तोकिएका विषयमा भर्नाका लागि आवेदन गर्न सक्नेछन्।

'राष्ट्रिय परीक्षा बोर्ड स्थापनापछि परीक्षा नियन्त्रण कार्यालय रहन्छ कि रहँदैन? परीक्षा नियन्त्रण कार्यालयले साविकमा एसएलसी परीक्षाका लागि गरेका कामहरू (रजिस्टे्रसन आदि) के हुन्छन्?' भन्ने जिज्ञासामा स्पष्ट हुनुपर्छ। शिक्षा (आठौँ संशोधन) ऐन २०७३ ले शिक्षा ऐन २०२८ को दफा ५ लाई खारेज गरेको छ। यस दफामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (स्कुल लिभिङ सर्टिफिकेट एक्जामिनेसन) को परिचालन र नियन्त्रण तोकिएबमोजिम हुनेछ भनी उल्लेख गरिएको थियो। साविकमा सञ्चालित एसएलसी परीक्षा कक्षा १० को अन्त्यमा हुन्थ्यो, अब यो परीक्षा कक्षा १२ को अन्त्यमा हुने र माध्यमिक शिक्षाको कक्षा दसको अन्त्यमा हुने परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने भएकाले परीक्षा नियन्त्रण कार्यालयले गर्ने काम राष्ट्रिय परीक्षा बोर्डमा स्थानान्तरण भएको छ। कक्षा १० मा पनि सार्वजनिक परीक्षा (बोर्ड परीक्षा) हुने भएकाले कक्षा ९ मा विद्यार्थी रजिस्टे्रसन गर्ने, कक्षा १० मा आवेदन फाराम भर्ने काम निरन्तर हुने कामअन्तर्गत पर्छ। कक्षा ११ मा विद्यार्थी विभिन्न विषय समूहमा र विभिन्न विषयमा अध्ययन गर्ने हुँदा कक्षा ९ को नै रजिस्ट्रेसन नम्बर प्रयोग गरी कक्षा १२ सम्मको आवेदन फाराम भर्नुपर्ने हुन्छ। साविकको परीक्षा नियन्त्रण कार्यालयको काम कारबाही राष्ट्रिय परीक्षा बोर्डमार्फत् नै हुन स्पष्ट छ।

पास/फेलका कुरा

'अक्षराङ्कन पद्धति लागु भएकाले कक्षा १० मा अनुत्तीर्ण हुनुपर्दैन। सबैले चाहेअनुसारका विषयमा कक्षा ११ अध्ययन गर्न पाइन्छ।' कक्षा १० को एसएलसी अध्ययन पूरा गरी विभिन्न जिपिए हासिल गरेका भाइबहिनीले चाहेबमोजिमको विषय अध्ययन गर्न पाउँदैनन्। अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धति लागु भई नतिजा प्रकाशन भइसकेको छ। यो पद्धति लागु हुँदा कक्षा ११ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का विभिन्न विषयमा भर्ना हुने विद्यार्थीका लागि कुन विषयमा न्यूनतम् कुन ग्रेड भएमात्र अध्ययन गर्न पाउने विभिन्न आधार तोकिएका छन्। जस्तै– कक्षा ११ मा विज्ञान समूहका विषय अध्ययन गर्नका लागि विज्ञान र गणितमा कम्तीमा सि प्लस, अङ्ग्रेजी, सामाजिक अध्ययन र नेपालीमा कम्तीमा डि प्लस ल्याउनुपर्ने, विभिन्न भाषा समूहलगायत अन्य समूह अध्ययन गर्नका लागि अङ्ग्रेजी विषयमा कम्तीमा डि प्लस ल्याउनुपर्ने। यस्ता आधारले गर्दा कक्षा १० अर्थात् साविकको एसएलसी अध्ययन पूरा गरे पनि चाहेअनुसारको विषय अध्ययन गर्न नपाउने अवस्था छ। यसको मतलब अध्ययन गरेका विषयमा राम्रो ग्रेड ल्याउन नसकेमा चाहेअनुसारको विषय अध्ययन गर्न त पाइँदैन, रोजगारका क्षेत्रमा पनि राम्रो ग्रेड ल्याउनेले मात्र अवसर पाउनेछन्।

शिक्षा (आठौं संशोधन) ऐन २०७३ ले ल्याएका सुधार नेपालको विद्यालय शिक्षालाई अन्तर्राष्ट्रिय क्षेत्रसँग समकक्ष बनाउन र अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा भित्र्याउने प्रयास गरेको छ। नेपालमा कक्षा १० योग्यताको एउटा दोभान हो, यहाँबाट विभिन्न विषय समूहमा अध्ययन गर्नका लागि प्रस्थान गर्न सकिन्छ। साथै, कक्षा १० को योग्यता हासिल हुनेहरूका लागि रोजगारका क्षेत्रहरू पनि विद्यमान छन्। शिक्षाको गुणस्तरीयता र परीक्षा पद्धतिका आधारमा पठनपाठन हुने नेपाली प्रवृत्तिका लागि पनि कक्षा १० मा राष्ट्रिय परीक्षा आवश्यक भएकाले विद्यालय, विद्यार्थी र अभिभावकले सोहीअनुसार व्यवस्थापन गर्नुपर्छ।

महानिर्देशक, शिक्षा विभाग

प्रकाशित: २७ श्रावण २०७३ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App