१९ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

प्रचण्डको अनिश्चित भविष्य

फाइल तस्वीर

मंसिर १० गतेपछि केही मित्रहरूले सोध्नुभयो-यस्तो कसरी भयो? ५७ सिट प्रत्यक्ष निर्वाचितमा जितेर सिट संख्याका आधारमा पहिलो ठूलो दल बनेको नेपाली कांग्रेस राज्यका महत्त्वपूर्ण पदहरू गुमाउन पुगी संघदेखि प्रदेशसम्म प्रतिपक्षी बेन्चमा बस्नुपर्ने अवस्थामा कसरी पुग्यो? उहाँहरूको विचारमा यो अकल्पनीय हो। निश्चय नै सत्ताको चास्नीमा झुम्मिरहन अभ्यस्त केही मनुवाहरूलाई यो अकल्पनीय मात्र होइन, असह्य वेदनाको विषय पनि हो। त्यसैले पार्टीका जिम्मेवार तहमा बसेका मानिस कोकोहोलो गर्दैछन्। पार्टी प्रमुखको त्यस घटनापछि वाक्य फुटेको छैन। निर्वाचनपछिको संसदीय दलको पहिलो बैठकमा मलिन अनुहारका साथ सांसदहरूलाई वचनामृत श्रवण गर्ने सौभाग्य मिल्यो।

कित्ता कित्तामा बाँडिएका झुण्डहरूका फरक(फरक धारणा आएका छन्। सभापति पक्षधर झुण्ड, महामन्त्रीहरूले असहयोग गरेका, महत्त्वपूर्ण समयमा सल्लाह दिन नलागी पोखरा सयर गर्न गएका, कार्यसम्पादन समितिले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भनेकाले अन्यथा सोच्ने अवस्था नरहेको जस्ता तर्क अंगाडि सारेका छन्।

महामन्त्रीहरू पक्षधर झुण्ड महामन्त्रीहरूलाइ महत्त्वपूर्ण बैठकमा सरिक नगराएको, बालुवाटारमा पहरायुक्त घेराभित्र बसी आफ्नै कोटरीसँग मात्र सल्लाह गरेको, विचार नमिल्नेसँग गठबन्धन गरेको हँुदा यो परिस्थिति सिर्जना भएको भन्ने आरोप लगाउँछ। मार्ग १० गतेका दिन भएको घटनाको वस्तुनिष्ठ समीक्षा गर्नुको बदला कांग्रेसभित्र शक्ति प्राप्तिका लागि निर्माण भएका गुट वा झुण्डहरू एकापसमा दोषारोपण गर्दै आफ्नै पार्टीभित्रका प्रतिस्पर्धी सहयोगीहरूलाई विरोधीलाई जस्तै घुँडा टेकाउन घोक्रो फुल्याउँदै लागेका छन्। वस्तुनिष्ठ समीक्षाको बदला सत्ताप्रेमी गैरविचारधारात्मक गुटमण्डलीहरूको हुडु युद्धले निन्दकहरूलाई त सुखानुभूति भयो होला, हुडु युद्धको चेपुवामा परेका निरीह भुइँ कांग्रेस र कमजोर लोकतन्त्र घाइते भैरहेका छन्।

प्रश्न गरौँ कि के यो घटना अप्रत्याशित हो? वा हुन नहुने घटना भएको हो? दुर्घटना हो भने के यसमा प्रचण्डको अवसरवाद मात्र दोषी हो? प्रचण्ड अवसरवादी हुन् कि होइनन्? यी प्रश्न अहिले अर्थहीन लाग्लान् तर यी प्रश्नको गहिराइमा नपुगी कांग्रेसभित्रको अहिलेको समस्याको निर्मम तथा वस्तुनिष्ठ समीक्षा हुन सक्दैन।

थोरै अतीतावलोकन गरौँ। २०७४ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ मात्र २३ सिट जितेको थियो। समानुपातिकसमेत मिलाउँदा पनि प्रतिनिधिसभामा चौथाइ संख्या पनि पुगेको थिएन। तत्कालीन नेकपाभित्रको शक्ति संघर्षको परिणति नेकपा विभाजन हुन पुगेपछि त्यसको लाभ नेपाली कांग्रेसले लिएको हो। निर्वाचनमा कांग्रेसलाई प्रतिपक्षी भूमिकाको जनादेश थियो। शासनका लागि किमार्थ थिएन। यसको हेक्का तत्कालीन नेतृत्वले राखेन। अवसरको लाभ उठाउनुमा नै फाइदा देख्यो।  

तत्कालीन पाँच दलीय गठबन्धन ओली नेतृत्वको नेकपा एमालेको असंवैधानिक कार्य तथा निरंकुशता नियन्त्रणका लागि बनेको प्रतिगमनविरुद्धको गठबन्धन थियो। प्रतिगमनलाई परास्त गर्नकै लागि माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरू चालीस वर्ष आबद्ध रहेको पार्टीबाट अनाबद्ध हुनुपरेको थियो। करिब सत्तरीको उमेर समूहमा रहेका नेताले यस्तो निर्णय लिनुपर्ने परिस्थिति सिर्जना हुनु असामान्य थियो। ओलीलाई सत्तामा टिकाइराख्न सकिन्छ कि भनी केही न्यायाधीशले प्रचण्ड समूहलाई एमालेबाट अलग गराइ माओवादी पार्टीको पुनर्जन्म गराइसकेका थिए।

नेपाली कांग्रेसको नेतृत्व तह कति अदूरदर्शी र सत्ता अनुरक्त छ भन्ने स्पष्ट गर्न अतीत उत्खनन् गरिएको हो। तत्कालीन समयमा कांग्रेसले प्रधानमन्त्रीको लोभ नगरी जनादेश प्राप्त एमालेकै एउटा पक्ष माधव नेपाललाई प्रधानमन्त्री बन्न बाटो खुला गरिदिएको भए आज यो परिस्थिति सिर्जना हुने थिएन। माधव नेपाल प्रधानमन्त्री हुने परिस्थितिमा प्रतिगमनविरुद्ध हस्ताक्षर गरी पछि एमालेमा नै फर्केका घनश्याम लगायतका दस भाइ मात्र नभै कयौँ एमाले सांसद माधव नेपालको पक्षमा आउन तयार थिए। दलसम्बन्धी ऐनको चालीस प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान पनि संशोधन गरी कांग्रेसले अपयसको थप कलंक बोक्नुपर्ने थिएन।

माधव नेपाल समूहले संसद्मा चालीस प्रतिशतको संख्या पुर्‍याउँथ्यो। मुख्य प्रतिस्पर्धी रहेको एमाले कमजोर बन्ने थियो। प्रचण्ड-माधव नेपालको पार्टी एकता वा गठबन्धन गरी चुनाव लड्ने थियो। कांग्रेससँग गठबन्धन गर्न मरिहत्ते गर्ने थिएनन्। कांग्रेस पनि गठबन्धन गर्नुपर्ने जिम्मेवारीबाट मुक्त भइ एक्लै चुनावमा जान सहज हुने थियो। त्यो अवस्थामा यो निर्वाचनमा कांग्रेस एक सय बीस सिट भन्दा माथिको राजनीतिक शक्ति बन्ने थियो। अहिले एकापसमा दोषारोपण गर्दै घात-प्रतिघातको नग्न र निकृष्ट नृत्य देखाउनुपर्ने थिएन।

अहिले गठबन्धनको औचित्य खोज्ने समूहले त्यो समयमा कांग्रसले सरकारको नेतृत्व गर्नु हुँदैन भनेको सुनिएन। मैले रामचन्द्र पौडेल लगायतका धेरै नेतासँग कुरा गरेको थिएँ। अर्जुननरसिं केसीले मात्र यो ठीक हो म कुरा राख्छु भन्नुभयो। पछि कुरा राखेँ, म एक्लो परेँ, साथ पाइन, मबाहेक अरू कोही बोल्न तयार छैनन् भन्नुभयो। तत्कालीन समयमा ओलीलाई हटाइ सरकारको नेतृत्व गर्न गठबन्धन चाहिने, माधव नेपाल समूहका बाह्रजना प्रतिनिधिसभा सदस्यको समर्थन पनि आवश्यक हुने, अहिले गठबन्धन गलत थियो भन्नु अराजनीतिक मात्र होइन, अनैतिक पनि हो।

पुस १० को घटना अनपेक्षित थिएन। सत्ता अनुरक्तताले मानिसलाई अन्धो बनाउँछ भन्ने एउटा दृष्टान्त थपिएको मात्र हो। ओलीले कांग्रेस तथा माओवादी दुवैलाई पीत कंगन देखाएकै थिए। कांग्रेसले त्यो पीत धातु माओवादीलाई तर्साउने हतियार बनाउन खोज्यो। माओवादीले त्यसैलाई आभूषण मानी पहिर्‍यो। नीतिबिहीन राजनीतिको परिणति यस्तै हुन्छ। यसले गठबन्धनको डोरीको दुर्बलता र सैद्धान्तिक अनुलेपनको कृतिमता एकै पटक अनावृत गरिदिएको छ। पार्टीको घोषित लक्ष्य र त्यो लक्ष्य प्राप्तिको साधना गर्ने धैर्य नभएका व्यक्तिगत लाभको लेखाजोखा गर्ने सत्ताकांक्षीहरूको गठबन्धनको आयु छोटै हुन्छ।

पार्टीको सभापति र पार्टीको संसदीय दलको नेतासँग समग्र पार्टीको जनमत, राजनीतिक प्रतिष्ठा, आदर्श, नीति र सिद्धान्त जोडिएका हुन्छन्। समाजले पार्टीको विधान तथा घोषणापत्र, नेतृत्वको कार्य र कार्यशैलीमा अनुदित भएको छ कि विसंगति छ भन्ने मूल्यांकन गरिरहेको हुन्छ। विसंगति देखिन्छ भने विधान, घोषणापत्र जनमानसका लागि प्रकल्पना लाग्छन्। आजको कांग्रेस नेतृत्वले दलका यी धरोहर र गौरवलाई प्रकल्पनामा रूपान्तरण गरिदिएको छ।

रूपान्तरणका लागि पुस्तान्तरणको आवाज उठाउने दुईजना महामन्त्रीहरू, काठमाण्डूमा आफ्नो उपयोगिता नदेखी मनकामनाको सुन्तलाको रसास्वादन गर्दै माछापुच्छ्रेको अंगालोमा बाँधिएको आफ्नै छायाँ हेर्न फेवातालको किनारमा पुग्नुभएछ। अहिले उहाँहरू भन्नुहुन्छ-हामीलाई आमन्त्रण नगरिएकोले दुर्घटना हुन पुग्यो। उहाँहरू १०-२० वर्षदेखि सभापतिसँग एउटै समितिमा हुनुहुन्थ्यो। सभापतिको राजनीतिक डिएनएबाट उहाँहरू सुपरिचित नै हुनुहुन्थ्यो। कांग्रेसको महामन्त्रीको पद आफैँमा एउटा संस्था हो। सभापतिलाई सल्लाह/सुझाव दिन विधानतः अधिकार सम्पन्न छ। ’चेइ’ भन्दा नजिक आउने र ‘दूर’ भन्दा टाढा भाग्ने महामन्त्रीको कल्पना कांग्रेसको विधान र महामन्त्रीहरूलाई ठूलो विश्वासले चुन्ने केन्द्रीय महाधिवेशनले गरेको होइन। समयमा हस्तक्षेप गर्न नसक्ने, समय घर्किसकेपछि दोषारोपण गर्ने महामन्त्रीबाट केको रूपान्तरण? कस्तो पुस्तान्तरण?

जनप्रयोजनबिहीन, स्वार्थकेन्द्रित सत्ताको सतरन्जमा सबैले छोप्ने सत्ताको अवसर हो। अहिले कांग्रेस न त नैतिक तत्त्वमा बलशाली छ न त सांगठनिक चुस्तता र आपसी सौहाद्र्धता छ। पार्टीका सिद्धान्तलाई किनारमा राखी आदर्शलाई तिलाञ्जली दिएपछि संगठन हुलमा परिणत भएको छ। संसदीय व्यवस्था प्रतिस्थापन गर्न युद्धमा गएको माओवादी निहत्था, असैनिक, निर्दोष सर्वसाधारण तथा राजनीतिक व्यक्तिहरूको हत्यामा संलग्न हुँदा उसको युद्धको असली नियत शक्तिको प्राप्ति मात्र हो भन्ने उजागर भैसकेको थियो। आकर्षक र भ्रमपूर्ण नारा सिर्जना गर्न त संसारका कुन कम्युनिस्ट पार्टी पछि परेका छन् र माओवादी पछि परोस्। जापानी साम्राज्यलाई परास्त गरिसकेपछि चीनको आर्थिक, सांस्कृतिक, राजनीतिक मोर्चामा असफल भैसकेको माओवाद एक्काइसौँ शताब्दीको नेपालमा प्रयोग गर्छु भन्नु माओवादीको दुस्साहस मात्र थियो।

अहिलेको विभ्रमित अवस्थाले नेकपा माओवादी नेकपा प्रचण्डमा रूपान्तरित भएको छ। नेकपा प्रचण्ड र कांग्रेस शेरबहादुरमा अहिलेको दौड प्रचण्डले जितेका छन्। ओलीबाट विक्षरित पीप पीयुष मानेर पिउँदा आगामी दिनमा नेकपा प्रचण्ड स्वस्थ नै रहन्छ कि सुकेनास लाग्छ, भविष्यले बताउने छ। 

प्रकाशित: २५ पुस २०७९ २३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App