१९ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

जनमानसमा अमर राजा वीरेन्द्र

व्यक्ति-व्यक्तित्व

२०२८ साल माघमा राजा महेन्द्र स्वर्गीय भएपछि राजा वीरेन्द्रको राजसिंहासनमा आरोहण भएको थियो। राजा वीरेन्द्र विकासवादी राजा थिए। हामीबीच राजा वीरेन्द्र नरहे तापनि नेपालको स्वाभिमान र प्रतिष्ठा कायम गर्दै नेपालको चौतर्फी विकास निर्माणमा उनका योगदान बिर्सन सकिँदैन। राजा वीरेन्द्र राजसिंहासनमा रहेका बेलादेखि नेपाललाई समृद्ध बनाउन विकासको मूल फुटाउने प्रतिबद्धता जाहेर गरेर सो अनुरूप देशभरि आवश्यकतानुसार उत्पादनमूलक कार्यक्रम प्रारम्भ गराउन चौतर्फी निर्देशन गर्दै नेपाल अधिराज्यका कुनाकुनासम्म भ्रमण गरेर चौतर्फी राष्ट्र निर्माणमा नयाँ उत्सुकता जगाउने काम भएको थियो।

राजा वीरेन्द्रले २०३१ साल फागुनमा सम्पन्न राज्याभिषेकको उपलक्ष्यमा नेपाललाई शान्ति क्षेत्र घोषणा गरेर विश्वभर नेपाललाई एक शान्तिप्रिय राष्ट्रका रूपमा चिनाएका थिए। शान्ति क्षेत्रको प्रस्तावलाई ११६ राष्ट्रले समर्थन गरेका थिए। शान्ति क्षेत्र नेपालको सुरक्षा अवधारणाभित्रका कुरा हो। तर त्यसको भारतले समर्थन गरेन। भारत नेपालको नजिकको छिमेकी राष्ट्र भए तापनि नेपाललाई शान्तिक्षेत्रका रूपमा समर्थन गरिएमा आफ्नो नियन्त्रणमा राख्न सकिँदैन भन्ने ठानेर हुनसक्छ, भारतले समर्थन गरेन। त्यस बेलाको भारतीय कांग्रेसको प्रशासकीय संयन्त्र र ‘रअ’ले नेपाललाई दुःख दिन अनेकौं षड्यन्त्रका लुनामुना बुन्न लागेको थियो, तर राजा वीरेन्द्रले भारतीय हेपाहा प्रवृत्तिको ख्याल नगरेर चीनलगायत विश्वका शक्ति राष्ट्रहरूसँग सुमधुर सम्बन्ध बलियो बनाउन सकेका थिए।

राजा वीरेन्द्रले राष्ट्र-निर्माणलाई मुख्य प्राथमिकता दिएर बाटोघाटो, फलफूल खेती, कृषि उत्पादनलगायत स्वदेशी उद्योगधन्दा निर्माण गर्नमा दत्तचित्त थिए। सिक्किमलाई भारतले हडपेपछि बिपी कोइराला राष्ट्रियताको पीडाले राष्ट्रिय सहमतिको नारा लिएर भारतको निर्वासित जीवन त्यागेर नेपाल फर्केका थिए। प्रजातान्त्रिक योद्धा बिपी कोइराला बिरामी भएको जानकारी लिएर बिपी कोइरालालाई राजदरबारमा झिकाई सम्मानपूर्वक औषधी उपचारका लागि अमेरिका पठाउने काम गरेका थिए।

भारतले सिक्किमलाई आफ्नो कब्जामा लिएपछि २०३३ सालमा निर्वासनमा रहेका बिपी–गणेशमानहरू देश खतरामा देखेर राजासँग राष्ट्रिय सहमति कायम राखेर अगाडि बढ्ने सर्तमा नेपालमा आएका थिए। राजा विरुद्ध लडेका बिपी कोइरालाले भारतीय षड्यन्त्रबाट बच्न नेपालको राजसंस्थालाई राष्ट्रियताको मेरुदण्डका रूपमा देखे। राजसंस्थाका बारेमा बिपी कोइरालाको भनाइ थियो-‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहँदैन। नेपालको अस्तित्व त राजाको अहम् स्वार्थको कुरा हो। त्यसैले राजाहरूले देश बचाएका छन्। म चाहन्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेल होस्।’ बिपीको राष्ट्रिय मेलमिलापको नीतिलाई साकार बनाउन राजा वीरेन्द्रबाट २०३६ सालमा राष्ट्रिय जनमतसंग्र्रहको घोषणा गरेर सबै पक्षलाई राष्ट्रिय राजनीतिमा समावेश गराउन खोजिएको थियो।

२०४६ साल फागुन ७ पछि कांग्रेस र कम्युनिस्टहरूको वामगठबन्धनले भारतको सहयोगमा जनआन्दोलन गरे। राजा वीरेन्द्रकै सक्रियतामा आन्दोलनका नेताहरूसँग सहमति गरेर बहुुदलीय व्यवस्थाको पुनस्र्थापना गरेर सहमतिको बाटो अवलम्बन गरेर भारतीय हस्तक्षेपबाट नेपाललाई जोगाउन सकेका थिए। जनआन्दोलनको मागबमोजिम नयाँ संविधान नबनेसम्म नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको अध्यक्षताको मन्त्रीपरिषद्को सक्रियतामा २०१९ साल संविधानमा टेकेर संविधान निर्माणमा राजा, कांग्रेस, कम्युनिस्ट र त्यो बेलाको जनमोर्चा र पछिको माओवादीसमेतको सहमतिमा २०४७ कार्तिक २३ गते नयाँ संविधान घोषणा भएको थियो। यस संविधानलाई नेपाली कांग्रेसलगायत सबै पार्टीका नेताहरूले विश्वको सर्वोत्कृष्ट संविधान भनेका थिए।

२०४७ सालको अन्तरिम मन्त्रीपरिषद्ले जे जस्तो अवस्था खेपेर पनि शान्तिपूर्ण वातावरण कायम गरेर आम निर्वाचन सम्पन्न गराएको थियो। २०४६ सालको जनआन्दोलन विसर्जन भएपछि नेपाली कांग्रेसका अध्यक्ष कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेपछि उनले राजा, राष्ट्रवादी लगायत सबै पक्षका वामपन्थीहरूलाई मिलाएर देशलाई सक्दो निकास दिने काम गरेका थिए। २०४७ सालको संविधानमा नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई सन्तुलित र समन्वय गरेर सञ्चालन गर्ने भन्ने राजा वीरेन्द्रको पनि सहमति थियो। २०४७ सालको संविधानअनुसार आम निर्वाचन सम्पन्न भएपछि २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकार बनेपछि जनआन्दोलनको भावनाअनुसार काम गर्न निर्वाचित सरकार सक्षम बनेन।

गिरिजाप्रसादको नेतृत्वको सरकारले देशभित्र स्थापित मान्यता, निजामती र सार्वजनिक संस्थानहरू सबै कांग्रेसीकरण गर्दै ध्वस्त बनाउने काम गर्‍यो। नाफामा रहेका चीनको सहयोगमा निर्मित कैयौं उद्योगहरू सबै उधारोमा अर्बौं कमिसन खाएर भारतीयलाई बेचे। नाफामा रहेको वायुसेवा निगमलाई टाट पल्टाए। भन्सार सबै आफ्नो निजी व्यापार र कमिसन केन्द्रमा परिणत गरियो। यी सबै भारतीय गुप्तचर संस्थाको आडमा गरिएका थिए।

आम निर्वाचनपछि भारतले गिरिजाप्रसादमार्फत नै नेपाललाई सिध्याउने षड्यन्त्र रच्न थालेको थियो। पछि राजदरबार हत्याकाण्डपछि माओवादीकै सक्रियतामा भारतीय गुप्तचर संस्था ‘कांग्रेसका गिरिजाप्रसाद र एमालेका माधव नेपालहरूसँग मिलेर २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरेर त्यसैका आधारमा भारतबाटै सहयोग लिएर २०६२/६३ सालमा कांग्रेस र एमाले माओवादीसँग मिलेर भारतीय गुप्तचर संस्था ‘रअ’को रणनीतिअनुसार सशस्त्र आन्दोलनमा माओवादीपछि लागेर कांग्रेस, एमालेसमेत उत्रिए। जनआन्दोलन राजासँग सम्झौता भएर बिसर्जन भयो। त्यसपछिका घटनाहरू सबैसामु छलङ्ग नै छन्।

देशभक्त राजा वीरेन्द्र चीन र भारतबीचमा सन्तुलित सम्बन्ध कायम राख्न चाहन्थे तर राजाको स्वाभिमानसँग भारत सन्तुष्ट थिएन। नेपालमा राजा वीरेन्द्रको छवि खल्बल्याउन भारतीय गुप्तचर संस्था ‘रअ’ भित्री रूपमा सरिक भइरहेको थियो। राजा वीरेन्द्र देशभक्त, विकासवादी प्रजातन्त्रवादी राजा भएकाले नै विदेशीहरूले सहेनन्। भारतले नेपाललाई आफ्नो छाताभित्र राख्न नेपालको राजसंस्थालाई कमजोर बनाउने मनस्थितिमा रहेको अवस्थामा अनेकौं आरोप–प्रत्यारोप लगाउन पनि पछि पर्दैथ्यो। स्मरण होस्-रानी ऐश्वर्याले तामेली विद्रोह चर्काउन ५ करोड दिएको झुटो कुरा इन्डिया टु डेमा छापिएको थियो भने राजीव गान्धी नमारिएका भए श्रीलंकामा तामिली उचालेर देशभक्त राजा वीरेन्द्रले गृहयुद्ध चर्काउने झुटो आरोप लगाएर भारतले नेपालको राजतन्त्रका विरुद्ध खुलेर लाग्ने योजना बनाएको अवस्था थियो।

नेपालको दुर्भाग्य-त्यो बेला युवराज दीपेन्द्र र पशुपति शमशेरकी छोरी देवयानीको प्रेम चम्किन लागेको थियो। सुरुमा दीपेन्द्र र देवयानीबीचको प्रेमले त्यस्तो उघ्र रूप लिन्छ जस्तो थिएन। प्रेममय बन्धनमा बाँधिनु नराम्रो पनि होइन। तर राजा, रानीले २४/२५ वर्षको उमेरमै युवराजाको विवाह गरिदिएको भए कुरा अर्कै हुन्थ्यो होला। तर समयमा विवाह नभएपछि दीपेन्द्र र देवयानीको पे्रमले उघ्र रूप लिन थालेपछि सबैको चासो बढ्ने नै भयो। राजारानीको देवयानीलाई युवराज्ञी बनाउने इच्छा थिएन। पछि केही नलागेर रानी ऐश्वर्याले दीपेन्द्रलाई सम्झाएर देवयानीलाई रखौटीका रूपमा राख्ने र युवराज्ञीका लागि अर्कैसँग विवाह गर्ने भनेपछि घटनाले उघ्र रूप लियो।

२०५८ सालमा नेपालको भारतीय राजदूतावासमा पीं हर्मिच भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख थिए। त्यसपछि दीपेन्द्र र देवयानीको पे्रमलाई लिएर विदेशीहरूले खेल्ने मौका पाए। यसका लागि युवराज दीपेन्द्रसँग देवयानी राणाको प्रेमको विषयलाई रक्तरञ्जित षड्यन्त्र बनाइयो। दरबार हत्याकाण्ड हुनुमा युवराजधिराज दीपेन्द्र र दिवयानी बीचको प्रेमको अभिनय नै मूल कारण थियो।

 दरबार हत्याकाण्डका बेला पशुपति शमशेरकी छोरी देवयानी भारतीय राजदूतावासको दक्षिणतर्फ रहेको नारायणहिटी राजदरबार पर्खाल नजिकैको दुग्गड निवासमा बसेर युवराज दीपेन्द्रको अवस्थाको जानकारी दीपेन्द्रका अंगरक्षक राजु कार्कीसँग मोबाइलमा लिइरहेकी थिएन्। जब युवराज दीपेन्द्रले आफ्ना बुबाआमा अर्थात् राजारानी, भाइ, बहिनी, दिदी, काका, भिनाजूहरूको हत्या गरेर आफैले देब्र्रेहातले पेस्तोलले आफूलाई हानेर ढलेकोे कुराको विवरण जानकारी भएपछि मात्र देवयानी महाराजगन्जको आफ्नो घरमा फर्केकी थिइन्। देवयानी दुग्गड निवासमा ढुकेर बसेको कुराले राजा वीरेन्द्रको वंशनास सुनियोजित भएको देखिन्छ। राजा वीरेन्द्रको देहावसानपछि विदेशीहरूले नेपालमा आफ्नो खेलमैदान बनाउने बाटो खुलेको देखिँदै छ। २०५८ सालको राजदरबार हत्याकाण्ड नेपालको इतिहासमा एक दुःखद् घटनाका रूपमा रहिरहने छ।

नेपालको तराईमा राजा महेन्द्रबाट अनेकौं उद्योगधन्दा, औद्योगिक क्षेत्र, बाटो, सिँचाइलगायत तराई क्षेत्रलाई समृद्ध र सुव्यवस्थित बनाएकाले तराई नेपाल अधिराज्यभरमा एक समृद्ध क्षेत्रका रूपमा विकसित भइसकेको थियो। राजा महेन्द्रपछि राजा वीरेन्द्रबाट तराई क्षेत्रमा अन्न उत्पादन, हिमाली क्षेत्रमा जडीबुटी, स्याउ खेती, पशुपालन र पहाडी क्षेत्रलाई उन्नतशील बनाउन अनेकौं कार्यक्रमहरू लागु गर्न सकेको थियो। राजा वीरेन्द्रले राष्ट्रिय राजनीतिलाई स्थिर रूप दिन नेपालमा राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई सन्तुलनमा राखेर अगाडि बढ्न सकिन्छ भन्ने ध्येयबाट अभिपे्ररित भएकाले सबै राजनीतिक नेताहरू राजा वीरेन्द्रप्रति आस्थावान् थिए।

२०४७ सालपछिका नेताहरूमा राजा वीरेन्द्रबाट प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, एमालेका अध्यक्ष मनमोहन अधिकारी र मदन भण्डारीप्रति राम्रो समझदारी राख्ने गरेको पाइन्छ। राष्ट्रियताको मामिलामा नेपालीहरू अत्यन्त सचेत छन्। पृथ्वीनारायण शाहले एकीकरण गरेर उनले दिव्योपदेशमार्फत विभिन्न जातजाति, धर्म, भेषभूषामा विभाजित नेपालीहरूलाई एक नेपाली जातिमा परिणत गराएका थिए। त्यसैले त्यस बेलादेखि नेपालको राष्ट्रियता यसरी टपक्क फुलेको छ कि जसमा नेपाली संस्कृतिको सुवास विश्वभरि फैलिएको छ।

राजा वीरेन्द्रको राज्याभिषेकका बेला २०३१ साल फागुन १२ गते नेपाललाई शान्ति क्षेत्र घोषणा गरेको बेलादेखि नै भारतीय कांग्रेस राजा वीरेन्द्रप्रति सन्तुष्ट थिएन। त्यसैले राजीव गान्धीको समयमा जतिसक्दो नेपाललाई सताउने काम भयो। नेपालको राष्ट्रियता भनेको एक भावनात्मक मात्र नभएर सक्रिय रूपमा नेपाल र नेपालीहरूको पहिचान र प्रतिष्ठा बचाउन राजा वीरेन्द्र सधैं सचेत भएकाले विश्व राजनीतिक रंगमञ्चमा नै लोकप्रिय थिए। अब नेपालको सार्वभौम स्वतन्त्रता जोगाएर सम्पूर्ण राजनीतिक पार्टीलगायत नेपाली जनता अगाडि बढ्नुपर्ने बेला छ। राजा वीरेन्द्रले कहिल्यै पनि भारतलगायत कुनै पनि देशसँग नेपाललाई हानी हुने सम्झौता गरेनन्। नेपालका एक शान्तिप्रिय राजा थिए। हामी जो जहाँ भए पनि स्वर्गीय राजा वीरेन्द्रप्रति श्रद्धाञ्जली अर्पण गरौं।  

प्रकाशित: १६ पुस २०७९ ००:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App