यसै महिना न्युजिल्यान्डले आफूलाई पूर्णरूपमा धूमपान निषेधित मुलुक बनाउने गरी कानुन बनायो। उक्त ऐनअनुसार सन् २००९ जनवरी १ पछि जन्मने व्यक्तिले भविष्यमा कहिल्यै चुरोट किन्न पाउने छैनन्। खरिदमै बन्देज लागेपछि यति वर्ष पुगेपछि चुरोट खाने भन्ने अवस्था रहेन नयाँ पुस्तालाई। धूमपानलाई थप निरुत्साहित गर्न सन् २०२३ को अन्त्यसम्ममा अहिले कायम ६ हजार सुर्ती बेच्ने पसलको संख्या ९० प्रतिशतले घटाउने व्यवस्था नयाँ कानुनले गरेको छ। नियम उल्लंघन गर्ने व्यापारीले नेपाली रूपैयाँ १ करोड भन्दा अधिक जरिवाना तिर्नुपर्नेछ। वैज्ञानिक अन्वेषण तथा स्वास्थ्य आकडाले धूमपान मात्र पनि कटौती गर्न सके हजारौँ जनतालाई दीर्घजीवी बनाउन सकिने भएकाले यस्तो कानुन ल्याउनुपरेको बताइन न्युजिल्यान्डका कनिष्ट स्वास्थ्य मन्त्री डा. आएसा भरोलले।
देश चुरोटमुक्त हुनेबित्तिकै क्यान्सर, मुटु रोग तथा फोक्सोका रोगी संख्यामा निकै कटौती हुने भएकाले हेल्थ केयर सिस्टमको चाप निकै कम हुनुका अतिरिक्त झण्डै ५ अरब अमेरिकी डलर प्रत्यक्ष जोगिने ठान्छिन् डा. भरोल। जनता बिरामी नभएपछि डाक्टरी खर्च भएन। रोगीको संख्या घटेपछि हालकै हेल्थकेयर संरचनाले थप केही वर्ष धान्न सक्ने भयो। सरकारले अस्पताल बनाउन थप राजस्व खर्चनु परेन। चुरोट. बिँडी दर्जनौँ किसिमका रोगको कारक भए पनि चुरोट विरोधी अभियान चलादाको राजनीतिक जोड/घटाउबाट सबै डराए। चुरोट व्यापारको एउटा सानो हिस्सा उत्पादकले खर्चिँदा देशको सरकार गिर्न सक्ने भएपछि धूमपानविरुद्धको अभियान चलाउन कहाँ सहज छ र ? जे भए पनि युवाको वर्चस्व रहेको न्युजिल्यान्डका सांसद धुवा विरोधी अभियानमा आफूलाई पृथक देखाउन सफल भयो। आखिर न्युजिल्यान्डले चुरोटको सवालमा किन आफूलाई खरो उता¥यो त भन्ने बुझ्न बुझ्न जरुरी छ।
संसारमा विभिन्न भूभागका बासिन्दाको खानपिन तथा दैनिकी मात्र पृथक छैन, बरु देशैपिच्छे रोगको वितरण, सरदर आयु अनि मृत्युको मुख्य कारण पनि फरक फरक छ। कुनै क्षेत्रमा क्यान्सरका रोगी अधिक पाइए भने कुनै देशमा मुटुका बिरामीको संख्या धेरै देखियो। त्यति मात्र होइन, सबै भूभागमा अर्वुद रोगहरूकै वितरण पनि समान देखिएन। कुनै इलाकामा फोक्सोको क्यान्सरको बाहुल्यता अनि कुनै ठाउँमा पेटको अनि अर्को ठाउँमा स्तन क्यान्सरले महामारीको रूप लिएको पाइयो। त्यस्तो अवस्थामा रोगको वितरण र त्यहाँका मानिसको खान्की तथा आनिबानीले फरक पारेको त छैन ? भन्ने अध्ययनको दरोकार पर्छ। त्यसै प्रश्नको उत्तर खोज्न संसारका धेरै देशका वैज्ञानिक होमिए। उक्त महाअभियानमा नेपाली विज्ञ पनि सहभागी भए। सन् २०१० देखि २०१९ सम्म नेपाललगायत विश्वका २०० भन्दा अधिक देश तथा भौगोलिक क्षेत्रमा देखिएका रोग, अपांगता तथा मृत्यु विवरण संकलन गरी विश्व स्वास्थ्य क्षेत्रलाई निर्देशन गर्न सहायक सिद्ध हवस् भन्ने उद्देश्यले ‘द ग्लोबल बर्डेन अफ् डिजिज २०१९’ प्रकाशित भयो। संसारलाई समेटेको तथ्यांकले जनस्वास्थ्यसम्बन्धी नीति निर्माणमा सहायक सिद्ध हुन्छ नै।
संयुक्त राज्य अमेरिकाको सियाटलस्थित युनिभर्सिटी अफ् वासिंगटनका प्राध्यापक क्रिस्टफर मुर्रे नेतृत्वको अन्वेषण समूहले ‘द ग्लोबल बर्डेन अफ् डिजिज २०१९’ लगायत अन्य अन्वेषणलाई समेटी यसै वर्षको उत्तरार्धमा एउटा आलेख प्रकाशित गरे आयुर्विज्ञान क्षेत्रको प्रतिष्ठित जर्नल ‘द ल्यान्सेट’ मा। अम्मली आदतमा संयम अपनाउन सक्ने हो भने क्यान्सरका कारण हुने मृत्यु संख्या आधा घटाउन सकिने डा. मुर्रेको निष्कर्ष रह्यो। अब प्राध्यापक क्रिस्टफरको निचोडको विश्लेषण गरौँ।
सन् २०१९ मा क्यान्सरका कारण मृत्यु भएका बिरामीको अवस्था हेर्दा ३७ प्रतिशत श्वास÷प्रश्वाससँग सम्बन्धित अनि १४ प्रतिशत पाचन प्रणाली अर्वुद रोगका कारण मरेका देखिए। अनि संकलित आकडाले चुरोटका अम्बलीमा फोक्सोको क्यान्सरले अत्यधिक गाँजेको देखियो। अनि रक्सीको आदत भएकामा सबै किसिमका क्यान्सरको प्रकोप अत्यधिक रहेको भन्यो।
चुरोटमा सयौँ किसिमका रासायनिक पदार्थ हुन्छन्। अनि आगोको सर्कोका कारण उत्पन्न हुने अत्यधिक तापक्रमले सुर्तीमा रहेका केमिकललाई रासायनिक परिवर्तन गर्नुका अतिरिक्त विविध खराब धुवामा परिवर्तन गर्छ। अनि चुरोटमा पाइने ‘बेन्जिन, एमिन, ब्युटाडाइन’ जस्ता क्यान्सरजन्य रासायनिक पदार्थहरू शरीरमा पस्छन्। फोक्सो ‘कार्सिनोजेनिक केमिकल्स’ को पहिलो सिकार बन्न पुग्छ। फोक्सोका कोसहरूका अणुवांशिक पदार्थ डिएनएलाई अपरिवर्तनीयरूपले क्षति पु¥याउने भएकाले धूमपान लंगस क्यान्सरको प्रमुख कारक देखियो। मेटास्टेटिक लंगस क्यान्सरका कोसहरू फोक्सोबाट शरीरका विभिन्न भागमा पैलिन्छ। शरीरका सबै अंग क्यान्सरजन्य बन्न पुग्छन्। विभिन्न क्यान्सरमा उत्प्रेरकको भूमिका खेल्ने धुवाको प्रतिबन्धमा संसारले नै तदारूकता देखाउनुपर्ने थियो तर त्यसो हुन सकेन। चुरोटमुक्त न्युजिल्यान्डको कदम क्यान्सरजन्य मृत्यु घटाउने दिशामा संसारका लागि मार्गदर्शक हुनेमा शंका छैन।
अर्बुद रोगको उत्पत्तिका सम्बन्धमा चुरोट भन्दा रक्सीको अवस्था खासै फरक देखिएन। रक्सी शरीरमा गएपछि रासायनिक प्रक्रियामार्फत एसिटल्डिहाइड भन्ने अर्को केमिकलमा रूपान्तरित हुन्छ। उत्पादित एसिटल्डिहाइडले मुख्यतः कलेजोको अणुवांशिक पदार्थलाई मरम्मत गर्नै कठिन हुने गरी क्षति पुर्याउँछ। डिएनएमा दखल पर्नु भनेको क्यान्सरको उत्पत्तिको प्रारम्भ हो भन्ने कुरा बिर्सनु हुँदैन। रेड बाइन तथा बियरले मुटु तथा मिर्गौलालाई फाइदा पुर्याएको अनुसन्धानले देखायो भन्ने खबर देखिन्छ। त्यस्ता अल्कोहलका समर्थनमा आएका अनुसन्धानहरू उत्पादक कम्पनीको लगानीमा भएका प्रायोजित रिसर्च थिए भन्ने कुरा बिर्सनुहुँदैन। अनि, त्यस्ता अनुसन्धानात्मक नतिजा आफूलाई फाइदा हुने गरी कम्पनीले चेरी पिकिङ गरेका हुन् भन्ने कुरामा दोमन नराखौँ। बाइन, बियर, ह्युस्कीलगायतका कुनै पनि अल्कोहलजन्य पेयमा पाइने इथानोल नै हो। अनि उक्त केमिकलले शरीरमा एसिटल्डिहाइड उत्पादन गर्छ अनि उक्त रासायनिक पदार्थले अर्बुद रोगलाई हौस्याउँछ भन्ने कुरामा सन्देह नराखौँ।
बजारमा बिक्री हुने चाउचाउ, चिप्सलगायतका प्रशोधित खाना लामो समयसम्म नबिग्रियोस् भन्नका लागि रासायनिक पदार्थहरू प्रयोग गरिन्छ। विश्व स्वास्थ संगठनले आफ्नै अग्रसरतामा प्रोसेस्ड फुडमा के÷कस्ता रासायनिक पदार्थ प्रयोग भए अनि तिनीहरूले पब्लिक हेल्थमा के-कस्तो असर पार्छ भन्ने कुराको अध्ययन गर्यो। उक्त अध्ययनले प्रशोधित खान्कीलाई ताजा राख्न प्रयोग गरिएका अधिकांश रासायनिक पदार्थहरू कार्सिनोजेनिक भएको ठोकुवा गर्यो। ताजगीका लागि प्रयोग गरिने केमिकलको मात्रा थोरै हुने भएकाले त्यसको असर देखिन लामो समय लाग्न सक्छ। प्रशोधित खान्कीमा पाइने रासायनिक पदार्थले विभिन्न किसिमको क्यान्सरलाई प्रोत्साहन गर्ने भएकाले बट्टामा प्याक भएका कुनै पनि किसिमको चलानी खानेकुरा नखान सल्लाह दिन्छन् डब्लुएचओअन्तरगतको क्यान्सर एजेन्सीका प्रमुख क्रिस्टफर बाइल्ड। संसारलाई क्यान्सरको महामारीबाट बचाउन प्रशोधित खानामा प्रतिबन्ध लगाउनु उचित हुने देख्छन् डा. बाइल्ड।
रक्सी, चुरोट र प्रशोधित खान्की नै अधिकांश क्यान्सर मात्र होइन, धेरै किसिमका रोगको उत्पत्तिको कारक देखियो। ठोस प्रमाणले ती तत्वहरूलाई रोगको उदगम देखाउँदासमेत संसारले किन सोमरश, तम्बाकु र चलानी खानालाई बन्देज लगाउन पहल गरेन भन्ने प्रश्नको जवाफ सजिलो छैन। फर्मास्युटिकल इन्डस्ट्रिज तथा हेल्थकेयर सिस्टम लगानीको प्रतिफलका हिसाबमा संसारको सबै भन्दा राम्रो लगानी हो। औषधि उत्पादकको मुनाफालाई संसारमा नवीन रोगको आगमन अनि रोगीको संख्याले निर्देशित गर्छ। कोरोनाको महामारीमा भ्याक्सिन उत्पादक मोडर्ना, फाइजर जस्ता कम्पनीहरूले अरबौँ डलर कमाएको यथार्थ बिर्सनु हुँदैन। संसारमा जति रोगीको संख्या बढ्यो हेल्थकेयर सिस्टम त्यति नै सफल हुन्छ, मुनाफा अत्यधिक बढ्छ। तसर्थ, फर्मास्युटिकल कम्पनीको व्यापारिक उद्देश्य संसारलाई रोगमुक्त बनाउने होइन बरू विपरित धार उनीहरूका लागि फाइदाजनक हुन्छन्। रोगको कारकका रूपमा रहेका रक्सी, चुरोट अनि प्रशोधित खान्की र बिरामी ठीक पार्ने औषधि व्यवसाय तथा अस्पतालका बीच अन्योन्याश्रित सम्बन्ध देखियो। एउटाले रोगीको संख्या बढाउने अर्कोले निको पार्ने भएपछि के चाहियो ?
नेपालमा मात्र होइन, संसारका अधिकांश कार्यक्रमका प्रायोजक रक्सी, चुरोट र प्रशोधित खान्कीका उत्पादकहरू हुन्छन्। अनि चिकित्सकीय वैज्ञानिक सम्मेलनको मुख्य स्पोन्सर फर्मास्युटिकल कम्पनीले गर्छन्। मुनाफाजन्य उद्योगले आफ्नो उत्पादनको प्रचारमा ठूलो धनराशि खर्चन्छन्। पैसा बोल्ने भएकोले रक्सी, चुरोट, चलानी खान्की अनि हेल्थ केयर बिजनेसको वर्चस्व देखियो।
जनहितको नियम बनाउनु संसद्को काम हो। सोमरश, धुवा, अनि प्रोसेस्ड फुडहरू क्यान्सरलगायत विभिन्न किसिमका रोगको स्रोत देखियो। न्युजिल्यान्डले आफूलाई धूमपान मुक्त मुलुक बनाउने कानुन पारित गरेको अवस्थामा नेपालले पनि चुरोट, रक्सी तथा चाउचाउ चिप्स जस्ता प्रशोधित खाद्य पदार्थलाई बन्देज गर्ने गरी ऐन बनाउन आवश्यक छ। रोगका कारकका रूपमा रहेका खराब पदार्थमा कानुनमार्फत प्रतिबन्ध लगाउन सके मुलुकको अरबौँ रुपियाँ जोगिन्थ्यो। रक्सी, चुरोट अनि चाउचाउका लगानीकर्ताको बोलवाला रहेको संसद्ले जनतालाई केन्द्रमा राखी कानुन बनाउने संभाव्यता न्यून छ। तर, राजनीतिक दलहरूले जनतालाई केन्द्रमा राख्ने हो भने नेपालको नवीन संसद्ले न्युजिल्यान्डको अनुशरण गर्न आवश्यक देखियो। रोग लागेर इलाज गर्नु भन्दा बिरामी नै नहुने अवस्था बनाउन सके कति असल हुन्थ्यो।
प्रकाशित: १२ पुस २०७९ ००:३६ मंगलबार