१६ चैत्र २०८० शुक्रबार
विचार

सेयरमा यसपालि कुरो अर्कै छ!

सेयर बजार पछिल्ला दिनमा नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको छ। समग्र बजार परिसूचक नेप्से १५ सय माथि पुगेको छ। स्टक एक्सचेन्जको शुरुआती समयमा वर्षभरि हुने कारोबार अहिले एकै दिनमा हुन थालेको छ। गत सोमबार मात्रै दुई अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सेयर बजारप्रति यो आकर्षणका पछाडि केही कारण छन्।

गत माघमा एक हजार हाराहारी रहेको नेप्से अहिले १५ सयमाथि पुगेको हो। अर्थात् पछिल्लो ५ महिनामा नेप्से ५० प्रतिशत बढेको छ। कुनै लगानीकर्ताले माघमा मिलाएर सेयर किनेको भए उसले कम्तिमा ५० प्रतिशत प्रतिफल पाइसकेको संकेत अहिलेको बजारले गर्छ। यो प्रतिफल दरलाई वार्षिकीकरण गर्ने हो भने सत प्रतिशतभन्दा बढी हुन्छ। नेपालमा हाल वैधानिक रुपमा यस्तो उच्च दरमा लाभ हासिल गर्न सकिने क्षेत्र अर्को कुनै छैन। यो गणितलाई प्राविधिक रुपमा बुझ्ने मान्छे कम होलान्, व्यवहारिक रुपमा धेरैले बुझेका छन्।

रेडियो, टिभी, पत्रपत्रिका र अनलाइनबाट धेरैले थाहा पाएका छन् कि अहिले मान्छेले सेयर बजारमा पैसा कमाइरहेका छन्। यो जानकारीले उनीहरुलाई सेयर बजारतिर तानिरहेको छ। हामीलाई थाहा छ,आफू गरिब हुनुभन्दा मान्छेलाई अर्को धनी भएकोमा पीडा हुन्छ। छिमेकीले कमाइरहेको छ, म किन यो अवसरबाट वञ्चित हुने भन्ने धेरैलाई लागेको छ। पैसा कमाउने यो अवसरपहिले कहिल्यै थिएन, भविष्यमा आउला/नआउला भन्ने पिरलो हामीलाई छ। बजार बढ्नुको पहिलो कारण हाम्रो यो मनोविज्ञान नै हो।त्यसैले सेयर बजारको वृद्धि वस्तुगत होइन, मनोगत हो। वार्षिक शतप्रतिशतभन्दा बढी प्रतिफल दिने गरी हाम्रो अर्थतन्त्रमा कुनै चमत्कार भएको छैन बरु मुलुक आर्थिक रुपमा असाध्यै अप्ठेरो अवस्थामा छ।

बजार परिसूचक सँगसँगै कारोबार रकम बढ्नुलाई सकारात्मक रुपमा लिने गरिन्छ। ठूलो परिमाणमा सेयर किनबेच भएकाले बजारको वृद्धि दीगो हुनसक्छ भन्ने अनुमान गरिएको छ। कारोबार रकममा भएको बढोत्तरीले नै बजार परिसूचकको वृद्धिलाई थाम्छ भन्ने विश्वास गरिएको छ। बजार परिसूचक र कारोबार रकम एकअर्कासँग अन्तर्निभर भए पनि अहिले यी दुवै बढ्नुका पछाडि भिन्न कारण छन्। बजार परिसूचक र कारोबार रकम बढ्नुमा जुन तत्वले काम गरिरहेका छन्,तिनको अलगअलग विश्लेषण आवश्यक हुन्छ।

गत माघदेखि केन्द्रीय निक्षेप प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा आएसँगै यसले कारोबार रकममा उल्लेख्य वृद्धि ल्याएको छ। जुनबेला कागजी सेयर प्रमाणपत्रको कारोबार हुन्थ्यो, त्यसबेला अहिलेकै परिमाणमा किनबेच गर्न कठिन थियो। माघअगाडि दैनिक तीन हजार पटक कारोबार हुने गरेकोमा अहिले सात हजारको हाराहारीमा पुगेको छ। कागजी सेयर प्रमाणपत्रको झन्झट हटेकाले लगानीकर्ताले पहिलेभन्दा बढी कारोबार गर्न सक्ने भएका छन्। काठमाडौं बाहिरका लगानीकर्ताको सहभागिता पनि बढ्दो छ। सेयरको मूल्य बढेकाले उही परिमाणमा सेयर किनबेच भए पनि रकमका आधार कारोबारको आकार ठूलो हुने नै भयो। 

सामान्यतया आर्थिक वर्षको अन्त्यतिर कारोबार परिमाण बढ्ने गर्छ। यसपालि पनि विगतमा जस्तै असार लाग्दै गर्दा कारोबार परिमाणमा वृद्धि हुनुलाई अस्वाभाविक मान्न सकिन्न। यसको अर्थ कारोबार रकम पनि बढिरहेकाले यसपालिको बजारको वृद्धि टिकाउ हुन्छ वा बजार अझै बढ्दै जान्छ भन्ने निष्कर्षमा पुग्नु हतार हुन्छ।

हामी सबैले बुझेको अर्को कारण हो–बैकिङ क्षेत्रमा बढ्दो तरलता र सस्तिएको कर्जा। जब–जब बैकिङ क्षेत्रमा तरलता बढ्दै जान्छ, सेयर बजार बढ्ने यो एक प्रमुख कारण बन्न जान्छ। अहिले बैंक तथा वित्तीय संस्थाहरूले कमभन्दा कम ब्याज लिएर कर्जा दिइरहेका छन्। यस्तो कर्जा सोझै सेयर धितो राखेर र अरु शीर्षकबाट पनि बजारमा आइरहेको छ। एउटा डरलाग्दो चक्र चलिरहेको छ। ऋण लिएर सेयर किन्यो, त्यही सेयर धितोमा राखेर फेरि ऋण लियो अनि सेयर किन्यो। बजार बढुञ्जेल यो काइदाले काम गर्छ, घट्न थालेपछि चक्र उल्टो घुम्न थाल्छ। आफूले थेग्न सक्ने भन्दा बढी ऋण लिएर बजार प्रवेश गरेका लगानीकर्ता अप्ठेरोमा पर्छन्। त्यस अवस्थामा जुन तीव्रताका साथ बजार बढेको थियो, त्योभन्दा अझ तीव्र गतिले घट्न थाल्छ।

यसपालि बजार बढ्नुमा बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिलाई आधार बनाइएको छ। राष्ट्र बंैकले 'क', 'ख' र 'ग'वर्गका बैंक तथा वित्त कम्पनीलाई सेयर पुँजी बढाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले भनेझैँ गर्न बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिनु पर्छ नभए हकप्रद वा बोनस सेयर दिएर पुँजी बढाउनु पर्छ। आम लगानीकर्ताले बोनस तथा हकप्रद सेयरको अपेक्षा गरेका छन्। बैंक तथा वित्तीय संस्थाको आधिपत्य रहेको हाम्रो सेयर बजारमा यिनको मूल्य उतारचढावले ठूलो असर गर्छ। बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य बढ्दा बजार बढ्ने र घट्दा घट्ने गर्छ। बिमा समूहमा पनि लगानीकर्ताले यस्तै अपेक्षा गरेका छन्। बिमा कम्पनीलाई पनि पुँजी बढाउने निर्देशन आउँदैछ भन्ने हल्लाले बजार तताउन सहयोग गरेको छ। बिमा समूहको परिसूचक एक वर्षको अन्तरालमा झण्डै तेब्बर भएको छ।

लगानीकर्तामाझ बजार अब कता जान्छ? कुन कम्पनीको सेयर किन्ने? कुनको बेच्ने प्रश्न भने सधैं रहिरहन्छ। यी प्रश्न साहै्र जटिल हुन्, जसको सजिलो उत्तर कसैसँग हुँदैन। यस्ता प्रश्नको जवाफ खोज्ने प्रयास गरिन्छ, सरल जवाफ मिल्दैन। भनिन्छ, कुनै समस्याको जटिल समाधान निकालिन्छ भने त्यो समाधान नै होइन। सेयर बजारका बारेमा पनि धेरै अमूर्त र मनोगत प्रक्षेपण गरिन्छ, जसले दुर्घटना निम्त्याउँछ।बजारका बारेमा प्राविधिक तथा आधारभूत विश्लेषण गरिन्छ। प्रक्षेपणका लागि विभिन्न गणितीय औजार प्रयोग गरिन्छन्। अनेकौं तर्क गरिन्छन्। त्यस्ता विश्लेषण, प्रक्षेपण र तर्क सधैँ सही साबित हुँदैनन्।

त्यसैले हामीले बजारलाई हेरेर होइन, आफूलाई हेरेर कारोबार गर्नुपर्छ। बजारले त बाह्रै महिना, सबै काल हामीलाई अवसर दिएको हुन्छ। बजार घटेका बेला सेयर किन्ने हो, बढेका बेला बेच्ने। हामीले पछिल्लो ५–७ वर्षमा देख्यौं, ११७५ को विन्दुमा रहेको नेप्से २९० सम्म झरेर फेरि अहिले १५०० मा हिँडिरहेको छ। यसैबाट हामी सजिलै भन्न सक्छौँ, बजारमा कति किन्ने अवसर आए कति बेच्ने। यो क्रम भविष्यमा पनि जारी रहन्छ। लगानीकर्ताले आफ्नो जोखिम वहन गर्ने क्षमताअनुरुप सेयर किन्ने, निश्चित मूल्यमा पुगेपछि बिक्री गर्ने लक्ष्य बनाउने र निश्चित मूल्यभन्दा तल झरे बेचेर नोक्सान कम गर्छु भन्ने तय पहिल्यै गर्नुपर्छ। यो सबैभन्दा कठिन मनोवैज्ञानिक अभ्यास हो। किनभने प्रायः बढेको बेला अझै बढ्छ भन्ने लोभले सेयर बिक्री गरिँदैन, घट्ने बेला पनि छिटो बिक्री गरेर नोक्सान कम गरौं भन्ने सोच आउँदैन।

यो मनोवैज्ञानिक पक्षलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ। आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता कति हो पहिल्याउनु पर्छ। विद्वानहरू ऋण लिएर सेयरमा लगानी गर्दै नगर्नु भन्छन् तर आजकल यो सुझावलाई कसैले मान्दै मान्दैन्। यो त काँतरहरूको मन्त्र हो भन्छन्। बैंकबाट वार्षिक ५ प्रतिशतभन्दा कम ब्याज तिरेर ऋण पाइएको छ, सेयरको मूल्य दिनमै १० प्रतिशतले बढेको छ। यस्तो अवस्थामा पनि ऋण लिएर लगानी नगरे कहिले गर्ने हो? उनीहरूको प्रश्न हुन्छ।

बजारको हरेक तेजीमा लगानीकर्ताको प्रश्न यही र यस्तै प्रकारको हुन्छ। व्यक्तिगत लगानीकर्ताको स्मरण शक्ति कमजोर हुन्छ। लगानीकर्ता विगतलाई बिर्सन खोज्छ, लोभले उसलाई अन्धो बनाइदिन्छ।आफ्नो निर्णय सही हो भनेर आफूले आफैँलाई सान्त्वना दिन 'यसपालि कुरो अलि भिन्दै छ' भन्ने भ्रम पालेर बसिरहन्छ। सारमा कुरा उही हुन्छ, रुपमा मात्र फरक देखिने हो।

बजारलाई चलायमान बनाउने लोभ र त्रास जस्ता मानवीय कमजोरी सदासर्वदा कायम नै रहन्छन्। यही लोभ र त्रास फरक रुपरंगमा आएर हामीलाई धोका दिइरहन्छन्। अहिले हकप्रद र बोनस सेयरको लोभले बजार बढिरहेको छ। भविष्यमा यसैले बजारमा सेयरको आपूर्ति बढाइदिन्छ र बजार घट्छ भन्ने हेक्का गर्दैनौं। कसैगरी यो कुरो दिमाग आयो भने पनि 'त्यतिबेलासम्म म कहाँ समातेर बस्छु र?बेचेर बाहिरिहाल्छु नि!' भन्ने सोच पलाउँछ। हरेक लगानीकर्ता आफूलाई अरुभन्दा चलाख ठान्छ। बजार बढ्ने बेला सबैभन्दा पहिला छिर्ने मै हुन्छु, घट्ने बेला बाहिरिने पनि म नै हुन्छु भन्ने उनीहरूलाई लाग्छ। अन्य कुराहरुका अतिरिक्त संसारभर वित्तीय संकट यही मनोगत विश्लेषण ल्याएको पाइन्छ।

प्रकाशित: ६ असार २०७३ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App