२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

उस्तै होइनन् सबै नेता

मुलुकका नेताहरूलाई प्रायः एउटै डालोमा हालेर चर्चा गरिन्छ। भनिन्छ-सबै उस्तै हुन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई सँगै राखेर हेरौं। के देउवा र ओली उस्तै हुन् ? अवश्यै होइनन्।

भर्खरै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई परिणामसमेत आएको छ। निर्वाचनबाट कांग्रेसले जेजस्तो सफलता हासिल गरेको छ, त्यसको श्रेय देउवालाई दिनु अनुचित हुँदैन। मुलुकमा वामपन्थी मत ठूलो छ। तर, गठबन्धनलाई मिलाएर अगाडि बढाउँदै एक हदसम्मको सफलता पार्टी र गठबन्धन दललाई भएको छ।

देउवा र मेरोबीच अनौठो सम्बन्ध छ। १३ औं महाधिवेशनका बेला म उहाँलाई सभापति बनाउन पूर्ण रूपले लागेको थिएँ। पछि आफूलाई केही पक्षमा चित्त नबुझ्दा मुद्दामामिला पनि गरें। फेरि एक वर्षअघि पार्टी सभापति भएपछि त्यो मुद्दा फिर्ता पनि लिएँ। अहिले उहाँकै कारणले गोर्खा क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुने गौरव पनि प्राप्त भयो।

मैले अनुभव गरेका देउवामा हदैसम्मको लोकतान्त्रिक चरित्र छ। सबैलाई अँगालेर हिँड्न सकेका कारण नै कांग्रेस जस्तो दलको नेतृत्वमा पुग्न सम्भव भएको हो। राजनीति गरेर अघि बढ्न चाहने युवा पुस्ताका निम्ति देउवाभन्दा ठूलो उदाहरण के होला र?

गठबन्धन टिकाएर लैजानमा देउवाको व्यक्तित्वको ठूलो भूमिका छ। ओलीले आफ्नै पार्टी मिलाएर जान सक्नु भएन। त्यसैले कांग्रेसको हातमा शासनसत्ता आइपुग्यो। अझ प्रधानमन्त्री बनिदिन अहिले गठबन्धनका दुई नेता नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललगायतले आग्रह गर्नुभयो।

वास्तवमा सरकार चलाउने र निर्वाचनमा जाने सन्दर्भमा गठबन्धनलाई सँगै लिएर हिँड्न सजिलो छैन। अरूलाई तुरुन्तै कुनै प्रतिक्रिया व्यक्त नगरेर अगाडि बढ्ने नेतृत्वकै कारण यो सम्भव भएको हो। आफूबाहेक अरू सबैलाई तथानाम गाली गर्दै हिँड्ने हो भने गठबन्धन अगाडि बढ्न सक्दैन। कांग्रेसभित्रै पनि देउवाकै कारण सबै फूलले फुल्ने मौका पाएका छन्।

निर्वाचन सम्पन्न भएपछि यतिबेला युवा नेता गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गर्दा पनि देउवाको कुनै प्रतिक्रिया सुनिँदैन। कांग्रेस नै यस्तो दल हो जहाँ गगन थापाजस्ता युवा तयार हुन सक्छन्। यही स्थिति अन्य दलमा किन छैन भने त्यहाँ नयाँ नेतृत्व र पुस्तालाई आउन दिने उदार नेतृत्व देखिँदैन।

कांग्रेस उदार राजनीति बोक्ने दल हो। यही उदारता धेरै हदसम्म यसका नेता तथा कार्यकर्तामा देखिन्छ। कांग्रेसको त्यही गुणका कारण कुनै दलमा नरहेका तथेष्ट व्यक्तिले समेत यसलाई मन पराउँछन्। अन्य दलसँग विरक्त भएका व्यक्तिले छान्नुपर्ने दल पनि यही बन्न पुग्छ। यो सबै सम्भव भएको कांग्रेसले अँगालेको उदार राजनीति र वैयक्तिक स्वतन्त्रताप्रतिको प्रतिबद्धता हो।

कांग्रेसको १४ औं महाधिवेशनका बेला देउवासँग दलका वरिष्ठ नेतामध्ये एक डा. शेखर कोइराला पनि उम्मेदवार बन्नुभयो। उहाँसँगै नेताहरू रामचन्द्र पौडेल र प्रकाशमान सिंह पनि प्रतिस्पर्धामा रहनुभयो। यस्तो प्रतिस्पर्धाको वातावरणले कांग्रेसभित्र कुनै विग्रह खडा गरेन। पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत नपुगेपछि दोस्रो चरणमा देउवा र कोइराला मात्र उम्मेदवार बन्नुभयो।  

यसरी प्रतिस्पर्धा गरेका नेतामा महाधिवेशनपछि कुनै तिक्तताको वातावरण देखिएन। बरु निर्वाचनमा टिकट वितरणदेखि अन्य व्यवस्थापनको काममा देउवाले डा. कोइरालाको समेत साथ लिएको देखियो। यही स्थिति वामपन्थी दलमा देखिँदैन। एमालेकै अवस्था हेरौं न, ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका कारण भीम रावलको उम्मेदवारी वञ्चितको अवस्था रह्यो। एमाले परित्याग गरी एकीकृत समाजवादी बनाएका नेता माधवकुमार नेपाललाई कुनै बेला साथ दिएवापत घनश्याम भुसालले निर्वाचनमा टिकट पाउने अवस्था समेत रहेन। अन्ततः उहाँले आफ्नो दल परित्याग गर्नुपर्ने अवस्था आयो।

उदार राजनीति बोकेका नेता दलमा हुँदा त्यसले सकारात्मक परिणाम ल्याउँछ। कांग्रेसलाई बिपी कोइराला, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाजस्ता नेताले हुर्काएका हुन्। यस दलभित्रको आफ्नै संस्कार छ। सबैलाई हुर्किन र बढ्न दिने प्रवृत्तिको कांग्रेस एउटा आम नागरिकको दल बन्न पुगेको हो। मुलुकका वाम र अन्य दल कार्यकर्तामा आधारित छन्। तर, कांग्रेसमा उदार नेतृत्वले सधैं हुर्काउँदै आएको हो। त्यही भएर यो दलभित्र एकअर्काको आलोचना गर्न पनि पाइन्छ। निर्वाचनमा प्रतिस्पर्धा पनि हुन्छ। तर, आपसी तिक्तता हुँदैन।

वामपन्थी दलमा देखिने गुट, फुट र विभाजनको रोग कांग्रेसमा कमै छ। यदाकदा यसमा पनि विभाजन आएको छ। तर, फेरि यसको मूल भङ्गालो अगाडि बढिरहेको छ। दलभित्र जति धेरै प्रजातन्त्र हुन्छ, त्यति नै यो बलियो हुन्छ। नेताको उदारताले दललाई अरू फराकिलो बनाउँछ। यसमा कांग्रेस मात्र होइन, बृहत्तर प्रजातन्त्र रुचाउने वर्गले पनि आफूलाई नजिक रहेको पाउँछ।

त्यही भएर ओली र देउवाको शासनकाललाई मात्र तुलना गरे पनि पुग्छ। ओलीका बेलामा जतासुकै तनाव देखिन्थ्यो। उहाँ बुद्धिजीवी, प्रेस लगायत सबैलाई दुत्कार्दै भाषण गर्नुहुन्थ्यो। त्यसले समाजमा एक किसिमको तनाव देखिन्थ्यो। देउवाको शासनकालमा कम्तिमा त्यो तनावको वातावरण छैन। आम नागरिकका अधिकार खोसिएलान् भन्ने छैन। प्रेसले निर्धक्क लेख्न पाउँछ। यसकारण पनि परिस्थिति भिन्न हुने रहेछ।

यसैले नेताहरूको मूल्याङ्कन गर्दा सबैलाई एउटै डालोमा राख्नेभन्दा पनि वस्तुनिष्ट हुनुपर्छ। त्यसैले सबै नेता उस्तै छैनन्। उदार राजनीति लिएर अगाडि बढ्दा दलभित्रको आन्तरिक प्रजातन्त्र मात्र होइन मुलुकको वृहत्तर खुलापनलाई पनि मद्दत गर्छ। देउवाका यिनै गुणले गर्दा नै पाँच पटकसम्म प्रधानमन्त्री बन्ने अवसर आएको हो। पार्टीलाई नेतृत्व दिन पाएको हो।

(लेखक गोर्खा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।)

प्रकाशित: २४ मंसिर २०७९ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App