१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

प्लास्टिक प्रयोगले पार्ने असर

१९३० को उत्तरार्धमा खनिज तेलजन्य पदार्थलाई पोलिमिरेज रासायनिक प्रतिक्रियामार्फत प्लास्टिक बनाउने विधि स्थापित भयो। इँटाहरूलाई सिमेन्टले जोडेर पर्खाल बनाएझैँ केमिकल एकाइहरूलाई संश्लेषण गरी ठूलो संरचना बनाउने रासायनिक प्रक्रियालाई पोलिमिरेज रियाक्सन भनिन्छ। तेल खानीमा विभिन्न किसिमका केमिकल पाइने भएकाले फरक फरक रासायनिक पदार्थबाट बन्ने प्लास्टिकहरू पनि पृथक चरित्रको हुनु अस्वाभाविक भएन। एकै परिवारको भए पनि झोला, टेलिभिजनको स्क्रिन अनि कारको बडी बनाउन प्रयोग हुने प्लास्टिकको चरित्र निकै भिन्न देखिन्छ। निकै कलिलोदेखि फलाम भन्दा मजबुत चरित्रका प्लास्टिकको कच्चा पदार्थ सस्तो अनि सहजै ठूलो परिमाणमा उपलब्ध हुने भएकाले प्लास्टिकको उत्पादन गर्न समस्या भएन। कम खर्चिलो अनि आवश्यकताअनुरूपको चरित्र र ढाँचामा सहजै ढाल्न सकिने भएपछि प्लास्टिकको खपत पछिल्लो दशकमा ज्यामितीय हिसाबमा बढ्यो। अहिले वार्षिक ४० करोड टनको हाराहारीमा उत्पादन हुने प्लास्टिकको खपत सन् २०५० सम्म पुग्दा ७० प्रतिशतले बढ्ने देखियो। यसरी प्लास्टिकले एकातिर भौतिकवादी आवश्यकता पूर्तिमा ठूलो योगदान गरेको देखियो। तर प्रयोगपछि त्यागिएका वस्तु सड्न सयौँ वर्ष लाग्ने भएकाले यो सेन्थेटिक पदार्थ वातावरणीय सन्तुलनको हिसाबले भीमकाय चुनौतीका रूपमा ठडियो। प्लास्टिक बन्ने क्रममा प्रयोग हुने केही रासायनिक तत्व स्वास्थ्य सन्तुलनका लागि दूषित रहेकाले सजग रहनुपर्ने विज्ञानले पुष्टि गरेपछि प्लास्टिकजन्य पदार्थ वरदान मात्र होइन है भन्ने सन्देश गयो। बहुआयामिक प्रयोगमा रहेको प्लास्टिकको विकल्प क्षितिजमा नदेखिएकाले यसको प्रयोगलाई कसरी व्यवस्थित गर्ने अनि उपयोगपछि प्लास्टिकजन्य पदार्थको विसर्जन कसरी गर्ने भन्ने विषयको हल खोज्ने दायित्व विज्ञानको काँधमा आयो। नागरिक स्वास्थ्य र वातावरणीय असरलाई केन्द्रमा राख्दै प्लास्टिक साइकलको क्षेत्रमा भएका अन्वेषण उजागर गर्नु यो आलेखको उद्देश्य हो।  

एउटै परिवारको भए पनि बोतल, झोला, झ्याल, ढोका, फोनको स्क्रिन, पाइप तथा कारको बडी बनाउन प्रयोग गरिएका प्लास्टिक रासायनिक तथा भौतिक दुवै हिसाबले फरक फरक हुन्। चारीत्रिक विविधताका लागि प्लास्टिक बनाउँदा कच्चा पदार्थ अनि रासायनिक प्रक्रियामा हेरफेर गर्न आवश्यक हुन्छ। मुख्यतः फलाम र कोइला प्रयोग हुने भए पनि फरक गुणको स्टेनलेस स्टिल बनाउने क्रममा निकेल, क्रोमियम, मोलिब्डेनम जस्ता धातुहरूसमेत सूक्ष्म परिमाणमा प्रयोग गरिएझैँ विविधताका लागि प्लास्टिक उत्पादन गर्दा खनिज पदार्थका अतिरिक्त फालेटस, बिसफेलोन ए (बिपिए), पोलिब्रोमिनेटेड डाइफिनाइलइथर (पिबिडिइ) जस्ता केमिकलको प्रयोग गरिन्छ। हल्का पारदर्शी पानीको बोतल बनाउन बिपिए प्रयोग गरिन्छ। अनि उक्त केमिकलको बनोट र चरित्र महिला हर्मोन एस्ट्रोजिनसँग मिल्ने भएकाले बजारमा पाइने सिंगल युज बोतलको पानी दिनहुँ सेवन गर्दा महिलाको इन्डोक्राइन सिस्टममा प्रतिकूल प्रभाव पार्न सक्छ। त्यस्तै प्लास्टिकको वर्तन बनाउँदा नफुटोस् भन्नका लागि फालेटस अनि तातोबाट बचाउन पिबिडिइ भन्ने रासायनिक पदार्थ प्रयोग गरिन्छ। फालेटसले पुरुष हर्मोनलाई प्रतिकूल प्रभाव पारेको देखियो भने पिबिडिइले इन्डोक्राइन सिस्टममा बहुआयामिक असर पाइयो। त्यसैले विज्ञानले पुष्टि गरेका रासायनिक पदार्थ प्रयोग भएका प्लास्टिकका भाँडाकुँडा प्रयोग गर्दा सबैले ध्यान दिनुपर्ने हुन्छ। जनतालाई सुसूचित गर्ने/गराउने काम सरकारको भएकाले प्लास्टिकजन्य भाँडा उत्पादनकर्ताले स्वास्थ्यमा प्रभाव पार्ने रासायनिक पदार्थ प्रयोग भएको खण्डमा उक्त कुराको जानकारी गराउनुपर्ने संहिता जारी गर्नुपर्छ। माइक्रो वेभ, ओभनलगायत तातो, चिसो, घाम पानीको प्रभावले प्लास्टिकका भाँडालाई रासायनिकरूपमा विखण्डित गरी स्वास्थ्यका लागि प्रतिकूल केमिकल निस्कन सक्ने भएकाले घरायसी प्रयोजनका लागि प्लास्टिकका वर्तनको सट्टा चिनियाँ माटो, स्टेनलेस स्टिल र सिसाका प्लेट प्रयोग गर्नु हितकर देखिन्छ।  

आविष्कारका दिनदेखि उत्पादन तथा प्रयोगमा निरन्तर उकालो लागेको प्लास्टिक वातावरणीय प्रदूषणको सबै भन्दा ठूलो चुनौतीका रूपमा रह्यो। पोलिमिरेज रियाक्सनमार्पmत उत्पादन गरिने प्लास्टिकजन्य वस्तु काठ र कागज जस्तो केही वर्षपछि कुहिएर नासिँदैन बरु सयौँ वर्षसम्म यथास्थितिमा रहन्छ। माटोमा पुरिएका प्लास्टिकका बोतलहरूलाई प्राकृतिक जीवाणुले नास्न नसक्ने भएकाले दशकौँसम्म पनि उस्तै हुन्छन्। वातावरणमा सहजै ननासिने भएकाले प्लास्टिकलाई नन बायोडिग्रेडेबल भनिन्छ। प्लास्टिकका फोहरको रछ्यानले संसारको कुनै पनि भागलाई बाँकी राखेन। हलुका भएकाले प्लास्टिकजन्य उत्पादनहरू हावाको सामान्य प्रवाहले पनि सडक, पोखरी, खोला, ढल जहाँ पनि सहजै पुग्छ। सगरमाथाको टाकुरादेखि महासागरसम्म प्लास्टिकको व्यवस्थापन समस्याका रूपमा रह्यो। गाईले प्लास्टिकको झोला खाएर मरेकोदेखि त्यही समस्याका कारण सामुन्द्रिक जीव जोगाउन चुनौती देखिएकाले अविलम्ब विकल्प खोज्नुपर्ने भयो।  

सहज व्यवस्थापन भनेको प्लास्टिकजन्य उत्पादनलाई जम्मा गरी पुनः प्रयोगका लागि रिसाइकल गर्नु नै हो। प्लास्टिक जम्मा गरी उच्च तापक्रममा पगालेर पुनः प्रयोगमा ल्याउनु सबै भन्दा सजिलो उपाय हो। तर दूषित पदार्थ रहेको प्लास्टिकका सामग्री रिसाइकल गर्दा अझ ठूलो स्वास्थ्य समस्या आउन सक्छ। सम्पन्न राष्ट्रले प्लास्टिक्सका सामग्री जम्मा गरी रिसाइकल गर्ने थालनी गरे। तर त्यसको कथा धेरै आशा लाग्दो छैन। संयुक्त राज्य अमेरिकाले आफूले रिसाइकल गर्नु भन्दा अन्यत्र पठाउन फाइदाकारक देख्यो। अमेरिकाले सामान लिएर गएको जहाज फर्कँदा खालि आउने भएकाले आफूले जम्मा गरेको प्लास्टिक्स रिसाइकलका लागि चीन पठाउन थाल्यो। तर आन्तरिक समस्याका कारण सन् २०१८ पछि चाइनाले रिसाइकल सामग्री लिन छाड्यो। तथ्यांकले संकलित सामग्रीमध्ये सानो अंश मात्र रिसाइकल भएको पाइयो अमेरिकामा। अधिकांश प्लास्टिक अन्ततः डम्पिङ साइटमा पुगेको देखियो। बाल्दा वायु प्रदूषण विकराल बन्ने भएकाले त्यसको संभाव्यता रहेन। अमेरिकाको भन्दा तात्विक फरक अन्य सम्पन्न राष्ट्रको देखिएन। धनी देशले नै हात उठाएपछि विपन्न मुलुकले रिसाइकलको चुनौती सामना गर्ने प्रश्नै रहेन।  

रिसाइकल गरी प्लास्टिकका सामग्री पुनः प्रयोग गर्ने प्रतिबद्धता जारी गरे पनि यथार्थमा त्यसो हुन नसक्नुमा आर्थिक दायित्वले भूमिका खेलेको देखियो। प्लास्टिक बनाउन आवश्यक कच्चा पदार्थ निकै सस्तो रहेकाले प्लास्टिक रिसाइकल गरी सामग्री उत्पादन गर्दा थप महँगो हुन्छ। अनि रिसाइकलबाट उत्पादित सामग्री अघिल्लोको तुलनामा कमसलसमेत हुने भएकाले यो अभियानले दोहरो मार खायो। सन् २०१७ मा साइन्स एडभान्समा प्रकाशित एउटा तथ्यांकले सन् २०१४ मा विश्वमा उत्पादित प्लास्टिकको केबल १९ प्रतिशत मात्र रिसाइकल भएको भन्छ। तसर्थ, उत्पादितमध्ये ८० प्रतिशत भन्दा अधिक प्लास्टिक वातावरणीय समस्याका रूपमा रहने देखियो। यसरी प्रत्येक वर्ष करोडौँ टन प्लास्टिक पृथ्वीमा जम्मा हुन थालेपछि के÷कस्तो पर्यावरणीय समस्या आउला ?  

ग्लोबल वार्मिङदेखि विश्वको खाद्यान्न समस्या समाधानको दायित्व बोकेका वैज्ञानिकको काँधमा प्लास्टिकका फोहोरको व्यवस्थापकीय कर्तव्य थपियो। प्लास्टिक खान सक्ने सुक्ष्माणु पत्ता लगाउन सके घरायसी फोहोर जस्तै रिसाइकल सामग्रीको सहजै व्यवस्थापन हुने भएकाले ल्याबमा त्यस्तो चरित्र भएको नवीन जीवाणु बनाउने अथवा अस्तित्वमा रहेका कठोर ब्याक्टेरियालाई जैविक परिमार्जन गरी समाधान खोज्ने काममा लागे वैज्ञानिकहरू। त्यस्तो हुन सके खाडलमा प्लास्टिकजन्य सामग्री राखी परिमार्जित जीवाणुको कल्चरले समस्या समाधान गथ्र्यो नै।  

त्यसै क्रममा सन् २०१६ मा जापानको क्योटो इन्स्टिच्युट अफ् टेक्नोलोजीका अनुसन्धानकर्ता समूहले इडियोनेला सकायासिस नाम गरेको ब्याक्टेरियाले प्लास्टिकको एक समूह पिइटी लाई टेरेप्थेलिक एसिड र इथिलिन ग्लाइकोलमा टुक्र्याउन सक्ने अन्वेषण जर्नल साइन्समा प्रकाशित गरे। प्रुफ अफ् प्रिन्सपलका रूपमा प्रकाशित उक्त अन्वेषणले उक्त क्षेत्रमा कार्यरत वैज्ञानिकलाई थप अन्वेषणका लागि हौस्यायो। जापानी अनुसन्धानकर्ताको ठम्याइलाई केन्द्रमा राखी ब्याक्टेरियालाई परिमार्जन गरी विभिन्न किसिमका प्लास्टिकलाई पचाउन सक्ने सुक्ष्माणु खोज्न संसारका धेरै अन्वेषणकर्ता लागेका छन्। त्यसै क्रममा जर्मनी, फ्रान्स र आयरल्यान्डका अन्वेषणकर्ताले सन् २०२१ मा मेटाबोलिक इन्जिनियरिङमा एउटा सकारात्मक आलेख प्रकाशित गरे।  

कुनै पनि वैज्ञानिक आविष्कारले सकारात्मक बाटो लिएपछि उक्त परिणामले नाफामूलक कम्पनीको सुरुआत गर्छ। नन बायोडिग्रेडेबल प्लास्टिकलाई व्यवस्थापन गर्न फ्रान्समा कार्बियोस नामको कम्पनी खुल्यो। सन् २०२४ सम्ममा वार्षिक ४० हजार टन बोतलमा प्रयोग हुने पिइटी प्लास्टिकलाई थान्को लगाउन सक्ने क्षमता विकास गर्ने कार्बियोसको लक्ष्य रहेको भन्छन् कम्पनीका प्रमुख वैज्ञानिक अधिकारी एलन मार्टी। तत्कालका लागि पिइटी मात्र पचाउन सक्ने भए पनि आउँदा दिनमा वैज्ञानिक परिमार्जनपछि सबै किसिमका प्लास्टिक नास गर्न सक्ने विधि प्रयोगमा आउने कुरामा वैज्ञानिकहरू आशावादी देखिए। वातावरणीय र पर्यावरणीय हिसाबले सुरक्षित देखिएको खण्डमा प्लास्टिक पचाउन सक्ने सुक्ष्माणुलाई ल्यान्डफिल साइटमा सिधै प्रत्यारोपण गर्न पनि सकिन्छ। वैज्ञानिक परीक्षणले उत्साहप्रद् परिणाम दिए पनि सडक, ताल, खोलानाला यत्रतत्र सर्वत्र पाइने प्लास्टिक व्यवस्थापनका लागि सबैको सहयोगको दरोकार पर्छ तर त्यसका लागि लामो समय पनि लाग्न सक्छ भन्ने कुरा बिर्सनु हुँदैन।  

सस्तो, छरितो र हल्का भएकाले प्लास्टिकको प्रयोग संसारभर बढ्यो, नेपाल अछूतो हुने प्रश्न रहेन। तर प्लास्टिकजन्य सामग्री बनाउन धेरै किसिमका रासायनिक पदार्थ प्रयोग हुन्छन्। र, त्यसमध्येका केही रासायनिक पदार्थले हाम्रो इन्डोक्राइन सिस्टमलाई नकारात्मक असर पार्छ। हर्मोनको उत्पादन र वितरणमा इन्डोक्राइन सिस्टमको भूमिका हुन्छ। हर्मोनमा आउने भड्काउले धेरै किसिमको स्वास्थ्य समस्या ल्याउन सक्छ। तसर्थ, भरिसक्य खान तथा खाद्य सामग्री भण्डारण गर्न प्लास्टिकका भाँडा प्रयोग नगराैँ। अनि प्लाीस्टकको वर्तन किन्दा प्रयोग भएको केमिकल र त्यसको स्वास्थ्य असरबारे जानकारी राखौँ। बोतलको पानी पिउने बानी गर्नु भन्दा घरमा प्रशोधित पानी पिउने आदत गर्दा खल्ती, स्वास्थ्य र पर्यावरण तीनैथरीलाई राहत मिल्छ। 

प्रकाशित: १३ मंसिर २०७९ ००:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App