१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डिपिआर तयार पार्न देउसीभैलो

पाथर्दीको डिपिआर बनाउन आयोजित साँस्कृतिक कार्यक्रममा देउसीभैलो खेल्दै। तस्बिरः विनोद/नागरिक

दुलेगौँडा(तनहुँ)- आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनेगरी व्यवस्थित र नमुना गाउँ बनाउने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न देउसीभैलो खेलेर रकम संकलन गरिएको छ। जिल्लाको भिमाद नगरपालिका–९ भानुमती पाथर्दीमा यसपालीे तिहारमा देउसीभैलो डिपिआर सांस्कृतिक साँझ गरिएको हो।

मौलिक र चेतनामुलक देउसीभैलोसंगै तनहुँको चिनारी कौराहा, झ्याउरे, सालैजो, लोकदोहोरी गीत गाउदै नृत्य प्रस्तुत गरियो। स्थानिय कलाकारहरुले जनचेतनामुलक नाटक समेत प्रदर्शन गरे।

संस्कृतीको संरक्षण गर्दै गाउँको बिकास गर्न देउसीभैलो खेलिएकोमा दुई लाख रुपैयाँ संकलन भएको पाथर्दी सामुदायिक होमस्टेका अध्यक्ष शिवकुमार आलेले जानकारी दिए। ‘संकलित रकमले गाउँको कृषी र पर्यटनलाई व्यवस्थित पार्नेगरी डिपिआर बनाइन्छ’, उनले भने।

पुस्तकालयसहितको बाल उद्यान, पार्क, खेलकुद मैदान, गाउँमा रहेका चौतारी र कुवाको संरक्षण, इलुङ झरनादेखी होमस्टे सञ्चालित घरहरुमा पुग्ने पैदलमार्ग, ढुंगाले छापिएको पैदलमार्गका दायावाँया दुवैतर्फ बगैचा, सोलारवत्ती जडान,  सार्वजनिक शौचालय र खानेपानीको धारा लगायत पुर्वाधार समावेश हुने गरी डिपिआर बन्ने उनले बताए। उनका अनुुसार मगर समुदायले मृत्युपश्चात दाहसंस्कार गर्ने मंगोलियन घाटलाई पर्यटकिय स्थलका रुपमा बिकास गर्नेगरी डिपिआर बन्नेछ।

‘डिपिआर तयार गरिसकेपछी कार्यन्वयन गर्न वडादेखी स्थानीय, प्रदेश र संघिय सरकारसंग बजेट माग्नेछौँ’, पाथर्दी टोल  बिकास संस्थाका अध्यक्ष टेकबहादुर आलेले भने, ‘ डिपिआर चाही देउसीभैलोबाट उठेको रकमले तयार  गर्ने हो।’

गतवर्षको पुषदेखि पाथर्दीका ६४ मध्ये दश घरमा होमस्टे सञ्चालन गरिएको छ। गाउँमा मगर समुदायको बसोबास छ। व्यवसायिक वोर बाख्रा पालन गरेका गाउँले यही पेशाबाट आत्मानिर्भर बन्दैछन्। वोर जातको ब्याड बोकाको पकेट मानिने गाउँमा पर्यटकहरु आउने क्रम बढेको आलेले सुनाउँछन्।

‘पर्यटकहरु आउने क्रम बढ्दो छ’, उनी भन्छन्, ‘गाउँको कृषी र पर्यटनलाई जोडेर अधिक पाहुना भित्र्याउने लक्ष्य राखेका छौँ।’ गाउँमा अब बन्ने घरहरु एउटै डिजाइन र रंगको बनाउन गाउँले प्रतिबद्ध छन्। ‘पाथर्दीलाई नमुना वस्ती बनाउने हो’, उनले भने।

यस्तै, समाजघर निमार्र्ण गर्ने जग्गा खरिदका लागी रकम संकलन गर्न  परियार सेवा समाज जिल्ला कार्यसमिति तनहुँले पनि देउसीभैलो कार्यक्रम गरेको थियो।

समाजका सदस्यहरु नौमती बाजा घन्काउदै जिल्लाका प्रमुख व्यापारिक केन्द्र दमौली, दुलेगौँडा र भिमाद बजारमा देउसीभैलो खेले। उक्त समुहले करिब ६० हजार रुपैयाँ संकलन गरेको जनाएको छ।

नौमती बाजा संरक्षण गर्न बाजा बजाएर देउसीभैलो खेलेको संयोजक रामबहादुर गुइदेलले जानकारी दिए। उनी भन्छन्, ‘बाजा बजाउदा सानो भइन्छ भन्ने सोच छ’, उनले भने, ‘समुदायमा देउसीभैलोबाट पुरानो संस्कृतीमा जागरण ल्याउने प्रयास हो।’

छात्रवृत्ति कोष स्थापना गर्न नेपाल मगर विद्यार्थी संघ तनहुँका सदस्यहरुले पनि देउसीभैलो खेलेका थिए। यसबर्ष बालबालिकादेखी बृद्धबृद्धासम्म देउसीभैलो खेलेर तिहारलाई मनाए। यहाँका आमा समुह, युवा समुह, टोल विकास संस्था लगायत विभिन्न संघसंस्थाले सामाजिक कार्य गर्न आर्थिक संकलनको माध्यम देउसीभैलोलाई बनाए। उनीहरुले सामुदायिक भवन, पाटीपौवा निर्माण, अक्षयकोष स्थापना लगायतका उदेश्य राखेका छन्। सांगीतिक पर्व तिहार सकिएपनि बजार क्षेत्रमा देउसीभैलो खेल्ने क्रम अझै सकिएको छैन्।

प्रकाशित: १४ कार्तिक २०७६ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App