१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पैसाका लागि अाफूभन्दा २६ वर्ष जेठी महिलालाई मायाजालमा फसाएर हत्या

हत्या गरिएकी प्रतिमा अमात्य।फाइल तस्बिर

नुवाकोट–पैसाका लागि मान्छेले मायाजालमा फसाएर हत्यासम्म गर्नपछि पर्दैन भन्ने पछिल्लो उदाहरण नुवाकोटमा भएको एक घटनाले देखाएको छ। उमेरले आफू भन्दा २६ वर्ष जेठी महिलालाई प्रेमजालमा फसाएर हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेपछि सो तथ्य सार्वजनिक भएको हो । विदुर नगरपालिका– ११ त्रिशुली घर भएकी ४५ वर्षका रमिता अमात्य (नाम परिवर्तन)लाई मायाजालमा फसाएर विवाह पछि रसुवा सरमथली– २ बस्ने १९ वर्षका रमेश तामाङले हत्या गरेका हुन् । ठुलोगाउँ ६ घर भई रेमश सरमथलीमा बस्थे।

भूकम्प लगतै काम गर्ने शिलशिलमा रमेश त्रिशुलीमा ज्यामी काम गर्ने आए। भूकम्पमा परेर घर लडे सँगै प्रतिमाका श्रीमान प्रकाश अमात्य र सासुको मृत्यु भयो । त्रिशुलीको बजारमै उनको घर थियो ।  स्थानीयका अनुसार घरको सबैको भूकम्पमा परेर मृत्युभएपछि प्रतिमा एक्लै भइन् । एक्लै भएपछि उनी सहारा खोज्दै थिइन् सोही क्रममा प्रतिमाले त्रिशुली बजारमा ज्यामी काम गर्ने आएका रमेश भेटेपछि हिमचिम बढ्यो। सहारा खोज्दै गरेकी उनको रमेशसँग प्रेम बसेपछि रमिताले बाइक,सिक्री र मोवाइल पनि किनिदिएको पक्राउ परेका रमेशले बताए ।

काठमाडौंले बस्दै आएका रमेशलाई प्रहरीले बिहीबार पक्राउ गरी नुवाकोट ल्याएको हो। प्रहरीले बिहीबार नै आरोपीको बयानको आधारमा घटनास्थल पत्ता लगाई शवको उत्खनन् गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी पैसाकै लागि हत्या गरेको बताएको छ।

पैसासँगै लोभिएका रमेशले त्रिशुलीको जग्गा र घर बेच्न मात्रै लगाएनन् राजधानीमा गएर व्यापार गर्ने ठूलो सपना पनि देखाए । केही समय त्रिशुली मै कोठा भाडामा लिएर दुई जना बसेको र घर र घडेरी बेचबिखन गरेपछि रमेशले पैसा हत्याउने योजना बनाए । रमिताले त्रिशुलीमा भएको घर बेचेको १० लाख रुपैयाँ साथमा राखेर व्यापार व्यवसाय गर्ने योजना बनाएको बुझिएको छ ।

नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराका अनुसार रमिताले घडेरी बेचेको १० लाख रुपैयाँ आफूँले लिएको रमेशले प्रहरीको अनुसन्धानको क्रममा स्वीकारेको बताए । जग्गा बेचेको २० लाख भन्दा बढी रुपैयाँ पनि मृतक रमितासँग भएकोले उक्त पैसा कहाँ लगेको के गरेको भन्ने विषयमा भने प्रहरीले बयान लिएपनि ठोस कुरा नभनिसकेको प्रहरी उपरीक्षक बोहराले बताए ।

रमेशले विवाह दर्ता र नागरिकता बनाउने बहानामा सरमथलीबाट ठुलोगाउँको घरमा जाउँ भनेर लगेको प्रहरीको अनुसनधानमा खुल्न आएको छ । रमिताको फिकुरी ८ गोगनेमा जंगलमा गत जेठ २० गते हत्या गरेको रमेशले स्वीकारेका छन्। धारिलो हतियार प्रयोग गरेर तामाङले हत्या गरेको स्वीकार गरेका छन्।

‘रमिताको साथमा पैसा रहँदासम्मसँगै बसेको र पैसा लिएपछि हत्याको योजना बनाएर जंगलमा लगेर निर्ममपुर्वक हत्या गरेको देखिन्छ,’ प्रहरी एसपी बोहराले भने, ‘अनुसन्धानको क्रममा हत्या गर्ने रमेशले नागरिकता बनाउन विवाह दर्ता गर्ने ठुलोगाउँ गाबिस जाउँ भनेर लगेको बताएका छन्।’

मृतककी बहिनी चितवन भरतपुर महानगरपालिका–२ बस्दै आएकी निरा श्रेष्ठले गत जेठदेखि दिदी रमिता बेपत्ता भएकोले खोजी गरिदिन भन्दै मंसिर १३ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि रमिताको प्रहरीले खोजी गरेको हो।  कुनै सम्पर्क नभएपछि बहिनीले उजुरी दर्ता गरेपछि प्रहरीले रमितासँग बस्दै आएका रमेशलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। फेसबुकमा ‘गजलकार दादा’ नाम गरेको केटासँग दिदीको संगत भएको बहिनीहरुले थाहा पाएको कारण ‘गजलकार दादा’लाई झिकाई सोधखोज गरी पाउँ भन्ने निवेदनपछि प्रहरीले खोजी अघि बढाएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले बताए ।

बालाजु प्रहरी र महानगरीय प्रहरी अपराध अनुशन्धान शाखाको सहयोगमा गजलकार दादा भन्ने रमेश लामा तामाङलाई प्रहरीले शिहीबार बालाजु हिलेटोलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार रमेश भूकम्पपछि त्रिशुलीमा मजदुरी गर्न आएका थिए।

त्रिशुली बजारमा बालुवा चाल्ने, गाह्रो लगाउने काम गर्नेक्रममा प्रतिमासँग संगत भएको र पछि उनीहरुले विदुरमा १ महिनासम्म कोठा लिएर ‘लिभिङ टुगेदर’ भएर बसेका थिए। रमितासँग १० लाख हात पारेपछि रमितालाई विवाह दर्ता गर्ने, नागरिकता बनाइदिने भन्दै त्रिशुलीदेखि बेत्रावतीसम्म बसमा त्यसपछि हिँडेर ठूलोगाउँ जानेक्रमा फिकुरी–८ गोगनेको जंगलमा लगी हत्या गरेर भोलिपल्टै अभियुक्त राजधानी गएको प्रहरीले बताएको छ ।

प्रतिमाको हत्या गरी राजधानी पुगेको रमेशले २ लाख रुपैयाँमा पल्सर बाइक, ४ लाख रुपैया बैंकमा राखेको र ३ लाख रुपैयाँ ऋण दिएको र बाँकी पैसा अन्य खर्चमा सकेको प्रहरीलाई बयान दिएका छन्। मृतकका आफन्तले बेलैमा चासो नदिँदा घटना भएको ६ महिनासम्म पनि अभियुक्त राजधानीमा निस्फिक्री बस्दै आएको प्रहरीले जनायो।

अनुसन्धान थालेको केही दिनमै रमेशले धारिलो हतियार प्रयोग गरेर जंगलमा मारेर गाडेको बयानमा बताएपछि प्रहरीले उनलाई साथ लिएर घटनास्थल गएको थियो । घटनास्थलबाट गाडेको अबस्थामा लास उत्खनन गर्दा मृतकको टाउको भने फेला परेको छैन्। घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको हाते आरो एक थान, पिग, मृतकको घडी फेला पारेको छ ।

प्रकाशित: १८ मंसिर २०७३ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App