१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बुटवलमा उर्लियाे मानव सागर, सत्तापक्षका नेतासमेत सहभागी

बुटवल– पाँच नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध शुक्रबार तेस्रो दिन पनि बुटबलमा विशाल सभाकाे अायाेजना गरिएको छ। सत्तापक्षसहितका राजनीतिक दलको अगुवाइमा विशाल सभा भएको हो।

सभालाई प्रमुख प्रतिपक्ष एमाले उपमहासचिव एंव  रुपन्देही—४ का सांसद विष्णु  पौडेल, सत्तारुढ माओवादी केन्द्रका संसदीय दलका उपनेता एंव अर्घाखाँची—२ का सांसद टोपबहादुर रायमाझी, कांग्रेस केन्द्रीय सदस्य एंव गुल्मी—२ का सांसद चन्द्र भण्डारी तथा एमाले नेताहरु घनश्याम भुसाल, प्रदीप ज्ञवाली र गोकर्ण विष्ट लगायत ले सम्बोधन गरे।

सभालाई सम्बोधन गर्दै नेताहरुले तराई र पहाड मिलेर पहिचान र सामथ्र्य सहितको उत्कष्ट प्रदेश बनेको भन्दै प्रदेश टुक्रयाउने सम्बन्धी संविधान संशोधन प्रस्ताव आन्दोलनको बलमा फिर्ता गराउने उद्घोष गरे। उनीहरुले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने प्रस्ताव पारित हुने हो भने मुलुक विखण्डनको बाटो खुल्ने भएकोले सडक र सदनबाट प्रतिरोध गरेर असफल पार्ने बताए।

एमाले उपमहासचिव पौडेलले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अलग गर्दा समस्या समाधान हुने भन्दा मुलुकमा झन समस्या चर्कने भएकाले आफूहरु गम्भीर भएर प्रदेश नटुक्रयाउनका लागि आन्दोलनमा  लागेको बताए। सरकारले पहाडी जिल्लालाई यो प्रदेशबाट अलग गर्ने प्रस्ताव गरेर आन्दोलनको आगो सल्काएको बताउँदै आन्दोलन अब संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता नहुञ्जेल नरोकिने बताए।

‘तपाईहरु सडकमा प्रतिरोध गर्नुस्, हामी सदनमा प्रतिरोध गर्छौं, सबै मिलेर राष्ट्रघाती संशोधन प्रस्ताव विफल पारौं,’ उनले भने। उनले आन्दोलनलाई शान्तिपूर्ण र मर्यादित बनाउन आग्रह गरे। ‘तोडफोड नगरौं, टायर नबालौं, जनताको शक्ति नै ठूलो हो—उनले भने।

सत्तारुढ माओवादी केन्द्रका संसदीय दलका उपनेता रायमाझीले पार्टी दायरा भन्दा माथि उठेर प्रदेश टुक्रयाउने प्रस्तावको विरुद्ध एकजुट  भई आन्दोलनमा लाग्न आह्वान गरे। ‘पार्टीभन्दा जनताको शक्ति ठूलो हो,’ उनले भने, ‘जनमतको कदर गर्दै म सडकमा आएको हुँ ।

उनले जनता भए पार्टी बन्ने र जनप्रतिनिधि पनि हुन सकिने तर जनता नभए केही हुन नसक्ने बताए । ‘त्यसैले पार्टी निर्णय र धारणा भन्दा माथि उठेर यहा आएको हुँ,’ उनले भने ।

उनले संविधान बनाउँदा प्रमुख तीन पार्टी मिलेको र ९० प्रतिशत जनप्रतिनिधिले बनाएको स्पष्ट पार्दै १० प्रतिशत जनप्रतिनिधिको हिस्सा ओगट्ने मधेसी दलको चित्त बुझाउन संशोधन प्रस्ताव अघि बढाएर सरकारले गलत गरेको बताए।

‘जसका लागि संशोधन प्रस्ताव अघि बढाइएको छ, उनीहरु नै मान्दैनन्। संविधान बनाएको मुख्य हिस्सेदार एमाले पनि संशोधनलाई अस्विकार गरेको छ, अनि कसका लागि संशोधन अघि बढाइदैछ ?,’ उनले भने, ‘कसैको स्वार्थमा फसेर मुलुकमा अराजकता र अस्थिरता निम्त्याउन दिनेछैनौं।’

प्रदेश एकीकृत राख्नु मुलुकको अखण्डतासँग जोडिएको विषय भएको बताए। नेता रायमाझीले सरकारको गतिविधिले भुईंको टिप्न खोज्दा खल्तीको समेत जाने स्थिति आएको भन्दै आलोचना गर ।

कांग्रेस केन्द्रीय सदस्य एंव गुल्मी—२ का सांसद चन्द्र भण्डारीले संविधान कार्यान्वयन गर्दै मुलुकलाई अघि बढाउनुपर्ने बेलामा संशोधनको प्रस्ताव ल्याएर सरकारले गल्ती गरेको बताए। अहिलेको सात प्रदेश र प्रदेशको सिमाङकन धेरै छलफलपछि तय भएको बताउँदै उनले कसैको स्वार्थका लागि हेरफेर हुन नसक्ने बताए। ‘संघीयता चित्त नबुझेको हो भने  जनमतसंग्रहबाट टुंगो लगाउँ—उनले भने। नाकाबन्दीका बेला यो क्षेत्रले काठमाडौंलाई रासन र इन्धन आपूर्ति गरेको बताउदै आगामी दिनमा पनि मुलुककै भरथेग गर्ने प्रदेश बन्ने भएकाले  षडयन्त्र  हुन थालेको उनको भनाई छ।

एमाले उपमहासचिव घनश्याम भुसाले सबै खाले षडयन्त्रलाई जनबलले नै परास्त गर्न सकिने भएकाले एकीकृत भई आन्दोलनमा होमिन आह्वान गरे । ‘संशोधन प्रस्तावले यो प्रदेशलाई  मात्रै  टुक्रयाएको नभई मुलुक टुक्रयाउने बाटो खोल्न लागिएकाले विरोध गर्नु परेको हो,’ उनले भने ।

एमाले सचिव एंव गुल्मी—३ का सांसद गोर्कण  विष्टले पाँच नम्बर प्रदेशबाट पहाड अलग  गर्ने प्रस्ताव पारित भयो  भने सिंगो तराईलाई पहाडबाट अलग गर्ने प्रयास र आन्दोलनहरु हुने भएकाले आफूहरु  चनाखो भएको  बताए ।‘राष्ट्रघाती हर्कतमा विरुद्ध हामी संसदमा संघर्ष गर्छौ,  तपाईहरु सडकमा संघर्ष  गर्नुस—उनले भने ।

अर्का सचिव प्रदीप  ज्ञवालीले जनताको शक्तिले विखण्डनको प्रयत्न विफल हुने बताए । ‘जनताको शक्तिका अगाडि कोही सफल हुन सक्तैन—उनले भने ।

नवलपरासी—४ का सांसद बैजनाथ चौधरीले पहाडसँग अलग हुँदैमा थारु र मधेसी समुदायले पाउने भन्दा धेरै  गुमाउने भएकाले आफूहरुको साथ नरहेको बताए । ‘प्राकृतिक श्रोत उपभोगमा तराईले पहाडको साथ नलिई हुँदैन, पहाड विनाको तराई  मरुभूमि हुन्छ,' उनले भने ।

सभाको सभापतित्व गरेका गुल्मी जिल्लाका कांग्रेस सभापति भुवन श्रेष्ठले लुम्बिनी र राप्तीको पहाड  र तराईको सम्बन्ध निकै पूरानो र विशिष्ट भएको भन्दै यो सम्बन्धलाई शीर्ष  नेताले नभई जनताले बुझेको बताए । सभाको सञ्चालन एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले गरेका थिए ।

सभामा हजारौं सहभागी थिए । सभामा सहभागी हुन रुपन्देही सहित विभिन्न जिल्लाबाट सर्वसाधारण आएका थिए ।  बुटवलको ट्राफिकचोकमा सभा हुनु अघि राजमार्ग चौराहाबाट जुलुश निस्किएको थियो । जुलुशको अगुवाई नेताहरुले गरेका थिए ।

जुलुश र सभाअघि संयुक्त  अगुवा कार्यकर्ता भेला भएको थियो । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न भ्याएका एमाले उपाध्यक्ष बामदेव गौतमले सभालाई सम्बोधन गर्न सकेनन् । काठमाडौंमा जरुरी बैठक भन्दै अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरी गौतम काठमाडौं हानिएका थिए । भेलालाई सम्बोधन गर्दै गौतमले पाँच नम्बर प्रदेशका सबै जिल्लामा चर्केको आन्दोलनप्रति एक्यबद्धता जनाउन आएको बताए । संसदमा दर्ता भएको संशोधन प्रस्तावले जनमत र संविधानको खिल्ली उडाएको बताउदै उनले सबै मिलेर संविधानको रक्षा गर्नुपर्ने बेला आएको बताए । संविधानको रक्षा गर्नुपर्ने सरकारले नै उल्लघंन गरेकोले संविधान रक्षाको लागि संसद अवरोध गरेको उनको भनाई छ ।

भेलामा बोल्दै रोल्पा कांग्रेस सभापति एंव सांसद अमर पुनले जनमत विपरित सरकारले संशोधन प्रस्ताव ल्याएको भन्दै डटेर सामना गर्नुपर्ने बताए । पूवं सांसद रामचन्द्र भट्टराईले कसैको इशारामा ल्याइएको प्रस्ताव जनताको शक्तिले असफल बनाउनुपर्ने बताए ।
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App