१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

मानवप्रेमी जनावर कुकुरः बफादार र अपराध अनुसन्धानमा सहयोगी (भिडियो)

काठमाडौं– हिन्दुहरूको दोस्रो महान् पर्व यमपञ्चकको दोस्रो अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान घरघरमा कुकुरलाई फुलमाला लगाएर पूजा गरी कुकुरलाई मन पर्ने खाना खुवाइदिने चलन छ।

प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुरपूजाको भोलिपल्ट औंसीमा लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय विधान भए पनि यस वर्ष तिथि घटबढका कारण आइतबार साँझ नै लक्ष्मीपूजा गरिने भएको हो। कुकुरलाई पशुको प्रतिनिधि तथा यमराजको कागपछिको दोस्रो प्रियभक्त मानिन्छ। साथै कुकुरलाई बफादारको प्रतिक पनि मानिन्छ।

कुकुर मानिसप्रेमी जनावर हो। त्यसैले घरको सदस्य सरह मानेर कुकुरलाई घरमा पालिने गरिन्छ। यतिमात्र नभएर कुकुरले अपराध अनुसन्धानमा पनि नेपाल प्रहरीलाई सहयोग गर्दै आएको छ। 

५०औं वर्षदेखि नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरको प्रयोग गरेको छ। नेपाल भरी अनुसन्धानमा प्रयोग हुने कुकुरको संख्या ८५ छ, भने महाराजगञ्जस्थित नेपाल प्रहरीको तालिम केन्द्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेर काठमाडौंमा जम्माजम्मी ५४ रहेको छ। ती कुकुरको तालिम तथा रेखदेखका लागि करिब ६० जना प्रहरी खटिएका छन्।

नेपालमा गएको २०७२ सालको बिनाशकारी भूकम्पका बेला समेत अनुसन्धानमा खटिएको रेस्क्यू नामको कुकुरले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउँछन्, नेपाल प्रहरी तालिम केन्द्र महाराजगञ्ज का डिएसपी डा.रामचन्द्र सत्याल।

पछिल्लो समय भएका आपराधिक गतिविधिमा अनुसन्धानका लागि कुकुरको माग बढी हुँदै गइरहेको छ। मानिसहरू प्रहरीमा भन्दा प्रहरीको कुकुरको अनुसन्धानमा विश्वास गर्न थालेको केन्द्रीय कुकुर तालिम केन्द्रका डिएसपी सत्याल बताउँछन्। उनका अनुसार प्रत्येक वर्ष घटनामा कुकुरको प्रयोग बढ्दै गएको देखिन्छ। कुकुरको अनुसन्धान सफल समेत भएका छन्। 

अपराधको प्रकृति फेरिएसँगै प्रहरीले कुकुरलाई तालिम गराउने तरिका पनि फेरिरहेको छ। धेरै घटनामा प्रहरीले घटनास्थलबाट बरामद गरिएका सबुत प्रमाण सुघाउन कुकुरलाई प्रयोग गरिन्छ। तर अचेल अपराधीले स्पष्ट देखिने प्रमाण कमै छोड्न थालेको डिएसपी सत्यालको भनाई छ। 

‘जति जति अपराधको शैली फेरिएको छ त्यति नै कुकुरलाई दिइने तालिममा पनि चुनौती थपिएको छ। तर हामीले पनि तालिमको तरिका फेरेका छौं’, भन्छन् डिएसपी सत्याल। नेपाल प्रहरीको अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन चार दिनसम्मको घटनामा अनुसन्धान गर्न कुकुरलाई तालिम दिइसकेको छ। हाम्रो कुकुर अपराधीभन्दा चार कदम अगाडि छन्’, डिएसपी सत्यालले भने।

‘रेश्क्यू’ नाम गरेको कुकुरको एउटा सफल अनुसन्धानको इतिहास समेत तालिम केन्द्रको तथ्याँकमा देख्न सकिन्छ। २०७० सालको माघ १० गते रसुवा जिल्ल अन्तर्गत चिलिमेमा सान्जेल जलबिद्युत आयोजनको सडक सर्वे गर्ने क्रममा माथिबाट सुख्खा पहिरो खसी ५ जना मानिस परेका थिए। जसमध्ये ४ जना फेला परे भने १ जना हराइरहेका थिए। हराएका सिभिल इन्जिनियर चेरव घिमिरेको शव प्रहरीले संकेत गरेको स्थानमा रेस्क्यू डगलाई खटाइएको थियो। बेपत्ता भएका इन्जिनियरको शव चार दिनपछि रेस्क्यूले सोही स्थानबाट फेला पार्न सफल भएको थियो। 

यस्तै, २०७२ सालमा गएको विनाशकारी भूकम्पमा परी बनेपा, वाइपास, गोगंबु, असन, सानेपा सामाखुशी लगायतका क्षेत्रमा घर भत्किएर मानिस पुरिएको आशंकामा रेस्क्यू डग परिचालन गरिएको थियो। परिचालन गरिए लगत्तै रेस्क्यूले बेपत्ता मानिसहरुको शव फेला पार्न सफल भएको थियो। 

प्रत्येक कुकुरको लागि एक–एक जना ह्यान्डलर खटाइएको हुन्छ। कुकुरले आफ्नो ह्यान्डलरको आदेश र सङ्केत पनि त्यही ह्यान्डलरले मात्र बुझ्ने गर्छ। केही गरी कुनै दिन ह्यान्डलर काममा उपस्थित हुन नसकेको खण्डमा कुकुरले अरुको आदेश नमान्ने र तालिम गर्न समेत नरुचाउने डिएसपी सत्यालले बताए। यतिमात्र नभएर कुनै कुकुरको ह्यान्डलर बिदामा बसेको बेला ती कुकुरहरुले खाना समेत खाँदैनन्।

सरकारलाई अपराधी पत्ता लगाउन होस् या भिआइपी सवारी, हरेक बखत कुकुरलाई उनीहरुको काममा खटाइएको हुन्छ। तर कुकुरले खोजी गरेको कामलाई अदालतले सबुतको रुपमा ग्रहण भने गर्दैन।

प्रकाशित: १० कार्तिक २०७६ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App