१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनप्रतिनिधिकै मिलोमतोमा बहुमूल्य ऐलानी जग्गा कब्जा

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको ४५ कट्ठा ऐलानी जग्गामा कब्जा गरी माटो पुर्न थालिएपछि स्थानीयले बिरोध जनाएका छन्। युनाइटेड लजेस्टिक नेपाल (बिशाल ग्रुप)ले परवानीपुर सुक्खा बन्दरगाह बाइपास ६ लेन सडकखण्डमा करिब ८ कट्ठा जग्गा किनेको छ। त्यस जग्गा पछाडि लालपर्साको उक्त ऐलानी गौचरनको जग्गा रहेको छ। ऐलानीपछि सोही कम्पनीको अर्को ठूलो किता जग्गा रहेको छ। आफ्नो २ वटा प्लट बिचमा पर्ने ऐलानी जग्गा कम्पनीले बलजफ्ती स्थानीय बाउन्सरको बलमा कब्जा गर्न लागेको छ। 

त्यहाँका वडाध्यक्ष अमानत अन्सारीले उक्त गतिबिधिमा सघाएको स्थानीयले आरोप लगाएका छन्। वडा अध्यक्ष अन्सारीले करिब ६ महिना अगाडि नै गाउँमा सर्वपक्षीय भेला गराई उक्त ऐलानी जग्गामध्ये केही भाग कम्पनीलाई दिन प्रस्ताव गरेपछि भेलाले प्रस्ताव अस्वीकार गरेको थियो। अहिले भने वडा समिति वा महानगरपालिकाको कार्यालयसंग बिनाकुनै बैधानिक सहमति कम्पनीका मान्छेले बलजफ्ती उक्त ऐलानी जग्गामा माटो खसाल्न थालेका छन्। स्थानीय युवाहरुले भने यसको बिरोध गरेपछि गाउँमा मुडभेडको अवस्था बनेको छ। 

‘हो मैले गाउँकै स्कुलमा सो भेला बोलाएको थिएँ, स्कुलको लागि आवश्यक पर्ने सो नजिकै रहेको एउटा जग्गा कम्पनीले किनिदिने र कम्पनी यहाँ संचालनमा आएपछि त्यसमा ६० प्रतिशत रोजगारी स्थानीयलाई नै दिने मौखिक सहमति जनाएको थियो, त्यसै प्रस्तावअनुसार अहिले ३० फिट चौडा मात्र जग्गा बाटोको रुपमा कम्पनीलाई प्रयोग गर्न दिने मैले भनेको छुँ’, वडाध्यक्ष अन्सारीले भने, ‘लिखित रुपमा मैले जग्गा उपभोग गर्ने भनेर दिएको छैन, अहिले बिरोध आइरहेको छ, अब गाउँका मान्छेलाई बिकास नै चाहिएको छैन भने मेरो के लाग्छ र?’ 

उक्त बैठकमा अधिकांशगाउँलेले कम्पनीलाई जग्गादिने प्रस्ताव अस्वीकार गरेपछि अहिले कसरी कम्पनीले कब्जा गर्न लागेको छ र वडाध्यक्षले कुनै प्रतिक्रिया नजनाएकोमा स्थानीय श्रीराम प्रसादले आपत्ति जनाए। 

सोही वडका वडा सदस्य लालबाबु प्रसादले विद्यालयमा बसेको जग्गा सम्बन्धी बैठकमा जनताले ठाडै प्रस्ताव अस्वीकार गरे पनि अहिले आएर बलमिच्याइ गर्दै जग्गा हड्पिन थालिएको बताए। ‘जननिर्वाचित प्रतिनिधिको काम हो एलानी सार्वजनिक जग्गा सम्पतिको संरक्षण गर्नु, तर यहाँ त्यसो नभएर उल्टो भएको छ’, ३० का वडा समिति सदस्य प्रसादले भने, ‘अहिले स्थानीय युवा क्लबको सक्रियतामा जग्गा संरक्षण गर्न पक्की पिलर बनाएर बार लगाउने काम भएको छ, सोही बारलाई उखेलेर फालि कम्पनीका मानिसहरुले माटो पुर्न थालेका छन्।’

स्थानीय न्यु नमुना युवा क्लबले असोज ३० मा जग्गामा पिल्लर हालेको थियो। त्यसको केही दिनभित्रै आफूलाई कम्पनीका प्रतिनिधि बताउनेहरुको उपस्थितिमा माटो पुर्ने ठेकेदारका मान्छेले पिल्लर उखेलेर फालेर त्यहाँ माटो पुर्न थाले। ‘हामीले जग्गा संरक्षणको एक मात्र उदेश्यले जग्गालाई पिलरले घेर्ने काम आफ्नै पैसा गरेपछि गाउँबाट राम्रो प्रशंसा पायौं, अहिले त पिल्लर उखेर फालिएको छ, अबैध रुपमा माटो पुर्न थालिएको छ’, क्लबका सचिव मनोजकुमार यादवले भने, ‘गाउँमा रहेको साबिकको करिब ३० बिगाहा ऐलानी पर्ने जग्गामध्ये आधा उसै पनि अतिक्रणमा छ, भएकोलाई संरक्षण गर्ने र अतिक्रमणमा परेकोलाई खोजी नीति गरेर निकाल्न हामीले थालेको प्रक्रियामा स्थानीय सरकारबाट सहयोग पाइएन।’

२०७५ चैत ५ मा स्थानीय युवाहरुले वीरगन्ज महानगरपालिकालाई सामूहिक निवेदन दिँदै उक्त जग्गामा जेष्ठ नागरिक पार्क निर्माण गर्न माग गरेका थिए। वीरगन्जका नगरप्रमुख विजय सरावगीले निवेदनमा जग्गा नापी गरी छुट्याउने तोक लगाउँदै प्रक्रिया अगाडि बढाउने आश्वासन दिए। ‘उक्त कुरा अश्वासनमै सिमित भयो’, स्थानीय युवा कृष्णाप्रसाद कलवारले भने, ‘अहिलेजग्गा संरक्षणको सवालमा पनि नगरप्रमुखको भूमिका देखिएन।’ 

जग्गामा बलजफ्ति माटो पुर्ने कामको बिरोधमा क्लबसहित गाउँका एकथरी युवा जमात उत्रिएका छन् भने अलिक चतुर चलाखहरु भने कम्पनीको पक्षमा बोल्न थालेका छन्। कम्पनीका मानिसहरुले गाउँलेलाई मिलाउन खर्च गरेको स्थानीयको भनाई छ। आफूलाई कम्पनी पक्षको मान्छे बताउने गेनालाल राउतले अहिले माटो पुरिएको जग्गामा निर्माण कार्य नगर्ने त्यसलाई बाटोको रुपमामात्र प्रयोग गर्ने बताए। स्थानीयले भने बलजफ्ति प्रयोग गर्न नपाइने बताएका छन्। 

यसैविच स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ऐलानी जग्गा अतिक्रमण रोक्न भनेर निवेदन दिएका छन्। जिल्ला प्रसाशन कार्यालयले ऐलानी जग्गा यकिन नभएसम्म कुनै पनि संरचना निर्माण नगर्न आदेश गरेको छ। ‘जिल्ला प्रसाशन कार्यालयले यसमा हाललाई कुनै पनि संरचना निर्माण नगर्न आदेश गरेको छ’, परवानीपुर प्रही चौकीका प्रहरी नायबनिरिक्षक बैधनाथ दासले भने, ‘यसको टुँगो नलागेसम्म यहाँ कुनै पनि त्यसको काम गर्न पाइने छैन।’ 

प्रकाशित: ९ कार्तिक २०७६ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App