८ वैशाख २०८१ शनिबार
समाज

निसानामा गरिब र बेरोजगार युवा

फाइल तस्बिर

बर्दिया - राजापुर नगरपालिका–५ का लक्ष्मण थारुले एक वर्षअघि स्थानीय एक सहकारीबाट ब्रोइलर कुखुरा पालन गर्ने भनी एक लाख ऋण लिए। त्यही पैसाले केही कुखुरा किनेर व्यवसाय पनि थाले। त्यत्तिकैमा भारतीय नेटवर्किङ बिजनेस कम्पनी ओरियन्सको एजेन्ट भएर काम गरेमा छोटो समयमै लाखौ रुपैयाँ कमाउन सकिने सपना उनलाई देखाइयो। उनी ओरियन्सको सदस्य बन्न ९६ हजार रुपैयाँ बोकेर भारतको लखिमपुर हानिए। कुखुरा पाल्न सहकारीबाट लिएको पैसा बुझाएर उनी ओरियन्सको सदस्य बने अनि त्यहाँबाट केही औषधि पनि ल्याए। चिकित्सकसँग सल्लाह लिँदा ती शक्तिवद्र्धक औषधि भएको खुल्यो।

‘छोटो समयमै धनी बन्ने सपना देखेर कुखुरा पालन व्यवसाय छाडेर ओरियन्सको सदस्य भएँ तर धनी बन्ने सपना देखाउने सो कम्पनीले नै ठगी गरेर मलाई डुबायोे,’ उनले नागरिकसँग भने, ‘सहकारीको ऋण तिर्न अहिले मजदुरी गरिरहेको छु।’ खोर बनाएर धेरै कुखुरा पाल्ने योजना बुनेका उनी ओरियन्सको सदस्य बनेर छोटै समयमा धनी बन्ने सपना देख्दा अहिले ‘घर न घाट’ का भएका छन्।

यस्तै ठाकुरबाबा नगरपालिका–५ गोविन्दपुरका १८ वर्षीय आभासका हजुरबुवालाई खुट्टा झमझमाउने, फोका उठ्ने र घाउघटिरा आउने रोग थियो। भारतीय नेटवर्किङ ओरियन्स कम्पनीको सदस्य बनेका उनलाई कम्पनीले हजुरबुवाको रोग निको हुन्छ भनेर औषधि दियो। तर त्यो औषधिले हजुरबुवाको रोग ठीक हुनुको साटो झन् बल्झियो। आभासका बुवा भागीराम थारु अर्कैको खेत कमाउँछन्।

ओरियन्सको सदस्य बनेर ठगिएका धेरैजसो १८ देखि २५ वर्ष उमेरका बेरोजगार र गरिब युवा छन्। आफन्तले आफन्तलाई नै सदस्य बन्न लगाउँदा यसको जालो फैलिएको पाइएको छ। ओरियन्सका नेपाल नाइकेलाई पक्राउ गर्न प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

अरुको खेत कमाउँदा पनि उनको परिवारलाई बिहानबेलुका हातमुख जोर्न हम्महम्मे पर्छ। भागीराम मध्यपश्चिम विश्वविद्यालयमा सहयोगीका रुपमा पनि काम गर्छन्। उनकी पत्नी नेपालगन्ज बजारमा मजदुरी गर्छिन्। आभास छिमेकी सहकारी संस्थाबाट ऋण लिएर भारतीय नेटवर्किङ कम्पनी ओरियन्सको सदस्य बनेका थिए। त्यो कम्पनीले ठगेपछि ऋण तिर्न उनका सामु मजदुरी गर्नुबाहेक विकल्प छैन।

लक्ष्मण र आभासजस्तै ओरियन्सपीडित धेरै छन्। गरिब युवालाई छोटै समयमा धनी बन्ने सपना देखाएर लुट मच्चाइरहेको ओरियन्स कम्पनीमा नलाग्न अरुलाई सचेत गराउनुपर्ने र सदस्य बन्न लगाउनेलाई गाउँगाउँबाट लखेट्नुपर्ने खैरीचन्दनपुरका शिक्षक माधव निगम बताउँछन्। ‘यसअघि भारतीय नेटवर्किङ कम्पनी विनविनले ठगिरहेको थियो,’ उनले भने, ‘उसले पनि सोझा धेरै नेपालीलाई सदस्य बनाएर ठग्यो।’ भविष्यको सपना देखाएर भारतीय नेटवर्किङ कम्पनीहरूले ठगी गर्दै आएको उनले बताए।

आफन्तको विश्वासमा पर्दा उठीबास
मधुवन नगरपालिका–४ की शर्मिला थारुलाई ओरियन्सको सदस्यता लिन भनेर भविष्यको मीठो सपना देखाइयो। अनि उनी पनि त्यसको सदस्य बन्न लखिमपुर पुगिन्। लखिमपुरबाट चार दिनको तालिम र औषधि लिएर घर फर्कने बेलामा सीमा प्रहरीले उनलाई समात्यो। प्रहरीले केरकार गर्दा उनी ओरियन्स सदस्य बन्न लखिमपुर पुगेको खुल्यो। उनले आफ्नै काकी ऋतिका चौधरीले ओरियन्सको सदस्य बन्न लखिमपुर लगेको बयान प्रहरीलाई दिएकी छन्। ‘तपाईंलाई आफू ठगिएजस्तो लाग्दैन’ भन्ने नागरिकको प्रश्नमा उनले भनिन्, ‘काकीले भनेपछि विश्वास नलाग्ने कुरै भएन। मजस्तै धेरैलाई आफ्नैले सपना देखाएर फसाएका छन्।’

त्यस्तै ओरियन्स कम्पनीलाई जनही ९६ हजार रुपैयाँ बुझाई सदस्य बनेर भारतबाट फर्कंदै गरेका बारबर्दिया पदनाहाका नीलकुमार थारु, जोधपुरका शंकरकुमार थारु र ठाकुरबाबा साइपुरका रवि थारुलाई सीमामा प्रहरीले पक्राउ ग¥यो। उनीहरुलाई नियन्त्रणमा लिएर सोधखोज गर्दा आफन्त वा छिमेकीले ओरियन्सको सदस्य बन्न लगाएको खुल्यो। ओरियन्सको सदस्य बनेर ठगिएका धेरैजसो १८ देखि २५ वर्ष उमेरका बेरोजगार र गरिब युवा छन्।

बर्दियामा थारु समुदायका युवालाई ओरियन्सले विभिन्न सपना देखाएर बिचल्लीमा पारेको एसपी राजेशनाथ बास्तोलाले बताए। ‘भैंसी, खेत बेचेर, ऋण खोजेर ओरियन्सको सदस्य बनेकाले नै आफन्तलाई सदस्य बन्न लगाउँछन्। आफन्तले आफन्तलाई नै सदस्य बन्न लगाउँदा यसको जालो फैलिएको पाइएको छ,’ उनले भने। उनका अनुसार आरियन्सका सदस्यबाट प्रहरीले बरामद गरेका औषधि भन्सार कार्यालयमा बुझाइएको छ। सो कम्पनीले सदस्य बढाएबापत घरमै बसीबसी तलब खाने र परिवारका सदस्य बिरामी परे औषधि उपलब्ध गराउने नारा दिएको छ। यही नाराको पछाडि लाग्दा युवा ठगिएका हुन्।

ओरियन्सविरुद्ध धमाधम उजुरी
ओरियन्स कम्पनीले झुक्याएर ठगी गरेको भन्दै प्रहरीमा उजुरी आउने क्रम बढेको प्रहरी सहायक निरीक्षक टंक ठकुल्लाले बताए। ‘पहिला त हामीलाई धनी बन्ने सपना देखाइएको थियो,’ पीडितमध्येकी एक महिलाले भनिन्, ‘पत्रिकाले ओरियन्स ठगी गर्ने कम्पनी हो भनेर लेखेपछि प्रहरीलाई जानकारी गराएका छाैं।’

सीमानाकामा कडाइ
प्रहरीले ओरियन्सबाट सोझासाभाm नेपाली नठगियुन भनेर सीमानाकामा कडाइ गरेको छ। भारत र नेपालतर्फ आउजाउ गर्नेलाई प्रहरीले केरकार गर्न थालेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शंकास्पदलाई सोध्ने र ओरियन्सका सदस्य भएको पत्ता लागे नियन्त्रणमा लिएर सूचना संकलन गर्न थालेको प्रजिअ रामबहादुर कुरुम्बाङले बताए। ‘अनुसन्धान अघि बढेकाले धेरै कुरा हामीलाई थाहा भइसकेको छु,’ उनले भने, ‘पीडितलाई झन् पीडित नबनाई र विस्तृत अनुसन्धान गरेर ओरियन्सका नेपाल नाइकेलाई पक्राउ गर्न हाम्रो अनुसन्धान अघि बढेको छ।’

प्रकाशित: २ कार्तिक २०७६ ०१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App