१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रुपन्देहीमा फूलखेती, भारतीय फूल आयातमा कमी

गोनहियामा गरिएको व्यवसायिक फूलखेती । तस्बिरः नागरिक

भैरहवा- तिहार फूलैफूलको पर्व हो। हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको  तिहार आउन केही दिन मात्र बाँकी छ। पर्व एवं उत्सवका क्रममा प्रयोग हुने सयपत्री फूलको लागि सधैं भारतको भर पर्नुपर्छ। विगतको वर्षमा तिहारका लागि फूलमा विदेशको भर परेता पनि रुपन्देहीको विभिन्न क्षेत्रमा फूलखेती गरेकोले भारतिय फूल आयातमा कमि हुने देखिन्छ।

वार्षिक लाखौँ रूपैयाँको फूल भारतबाट भित्रिन्छ। तर, पछिल्लो केही वर्षदेखि फूलको व्यावसायिक खेती हुन थालेपछि केही हदसम्म भए पनि स्थानीय फूलकै मालाहरू प्रयोग हुन थालेका छन्।

यस वर्ष तिहारलाई लक्षित गरी भैरहवाकै वडा नम्बर ९ गोनहियामा रहेका बिन्धबासिनी मन्दिर क्षेत्रमा सयपत्री फूलको व्यावसायिक खेती सुरु भएको छ। भैरहवामा रहेको नेपाल बहुमुखी सहकारी संस्थामार्फत् कृषि परियोजना सञ्चालन गरी तरकारी एवं फलफूल खेती गरेपनि अहिले व्यवसायिक रूपमा सयपत्री फूल तयार भैरहेको संस्थाका शेयरधनी सुशील पौडेलले बताए।

‘हामीले सुरू गरेको कृषि परियोजनामा अन्य तरकारी फलफूलसँगै यस वर्षदेखि फूलको खेती पनि गरेका छौँ। तिहारमा मात्रै ६० हजारको फूल बेच्ने योजनामा छौँ यसले केही मात्रामा भए पनि भारतसँगको व्यापार घाटा कम गर्न मद्दत हुने विश्वास छ, उनले भने ‘दैनिक आवश्यकता अनुसार ७–८ जनालाई कामदार र एक जना स्थायी कर्मचारी राखी काम सुरुवात गरेका छौं। स्थानिय तहले पनि टयाकटर, पानी तान्ने मोटर पम्प अनुदानमा सहयोग गरेको छ।’

‘पारीको होईन वारीको फूल माला’ भन्ने, नारा नै बनाई फूल खेती गरिरहेका छौँ केहीले अग्रिम अर्डर पनि दिनु भएको छ, माग अत्याधिक छ, यो वर्षको मागलाई मध्यनजर गर्दै बढाउदै जाने योजना छ पौडेलले भने। तीन महिना अघि सुरू भएको सहकारीको कृषि परियोजना अन्तर्गत त्यहाँको ३ बिगाहा बढी जग्गामा अहिले विभिन्न तरकारी, केरा, मेवा, कागतीसँगै सयपत्री फूलको व्यावसायिक खेती सुरू भएको छ। सयपत्री फूल मात्रै करिब १० कठ्ठा जग्गामा १ हजार ५ सय बढी बेर्ना लगाईएको पौडेलले बताए।

गोनहियामा मात्र हैन हिले जिल्लाकै विभिन्न भागमा समेत तिहार लक्षित सयपत्री र सुपारी फूलको व्यवसायीक उत्पादन भई रहेको छ। यसले विशेष गरि भारतको बनारस र कोलकाताबाट आउने फूललाई प्रतिस्थापन गरेको छ। फूलको आयातमा कमि आएको भैरहवा भन्सार कार्यालयको तथ्यांकबाट पनि देखिएको छ। साउन अघि फूलको आयातबारे आधिकारीक तथ्यांक नरहेको भैरहवा भन्सार कार्यालयले साउन देखि भने तथ्यांक राख्न शुरु गरेको छ।

कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ८ लाख ६४ हजार ७ सय ७३ मूल्य बराबरको ३५ हजार ७ सय ५० किलोग्राम बिभिन्न जातका फूलहरु आयात भएको छ।

तिहारको  समयमा बजारमा सयपत्री र मखमली फूलहरुको माग बढ्ने भएकाले सम्बन्धित निकायले यसरी व्यवसायीक फुलखेती गरेका किसानहरुलाई प्राविधिक ज्ञान, सिप र तालीमको व्यवस्था गर्ने हो भने नेपाल फुलमा आत्मनिर्भर हुने देखिन्छ।  मानिसको दैनिक जीवनमा जन्मदेखि मृत्युसम्म आवश्यक फूल विदेशबाट आयात हुने गरेको छ।

प्रकाशित: १ कार्तिक २०७६ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App