८ वैशाख २०८१ शनिबार
समाज

अनुसन्धान गर्दै प्रहरी, लाखौं रुपैयाँ ठगेको खुलासा

फाइल तस्बिर

बर्दिया - भारतीय नेटवर्किङ कम्पनी ओरियन्सको सदस्य बनेर ठगिएका नेपालीको फेहरिस्त जिल्ला प्रहरी कार्यालय, बर्दियाले संकलन गरिरहेको छ। ओरियन्सबाट ठगिएका केही प्रहरीको सम्पर्कमा आइसकेका छन्। ठगिएको भन्दै उनीहरूले दिएको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीको सूचीमा ओरियसन्को धेरै सदस्य बनाएर ‘फाइभ डाइमन्ड’ पदसम्म पाएका पनि छन्। बाँके, बर्दिया, कैलाली कन्चनपुर, महोत्तरी, झापा, मोरङसम्म सञ्जाल फैलाएको ओरियन्सले बेराजगारलाई छोटै समयमा धनी बन्ने सपना देखाएर लाखौं रुपैयाँ असुली ठगीधन्दा चलाइरहेको पीडितहरूले बताएका छन्। सीमावर्ती जिल्लाका गाउँबस्तीमा ओरियन्सको सञ्जाल फैलिएको छ।

ओरियन्सले छोटो समयमा धेरै सदस्य बनाउनेलाई भारतमा अर्पाटमेन्टसहित कमिसनबाहेक मासिक ४० लाख रुपैयाँ तलब दिने भनेर बेरोजगार युवालाई यो धन्दामा लगाएको तथ्य फेला परेको छ। उसले नेपालको पश्चिम क्षेत्रका युवालाई भारतको लखिमपुरमा लगेर तालिम दिई सदस्य बनाइरहेको छ। ओरियन्सको मुख्यालय चेन्नईमा रहेको खुलेको छ। कम्पनीले धेरै सदस्य बनाउनेलाई भारतमा अपार्टमेन्ट, कमिसन र मासिक ४० लाख रुपैयाँ तलब दिने प्रलोभन देखाएर सुरुमा सदस्य बनाउने र पछि उनीहरूबाटै सदस्यता बढाउन लगाई लाखौं रुपैयाँ उठाएर ठगी गर्दैै आएको अनुसन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए।

ऋण लिएर, जग्गा धितो राखेर, सम्पति बेचेर ओरियन्सको सदस्य बनेका नेपाली यतिखेर आफू ठगिएको चाल पाएपछि बिचल्लीमा छन्। एक सदस्यले दुईजना सदस्य बनाउनुपर्ने सर्त ओरियन्सको छ। दोस्रो सदस्यले ओरियन्सको सदस्य बनाएर पछि कमिसन दिने गरी सुरुमा कम्पनीमा सदस्यता दिइन्छ। पहिलो पटकमै प्रलोभनमा पार्न औषधि पनि कम्पनीले दिने गरेको छ। दोस्रोलाई कमसिन दिएर अन्यलाई पनि ओरियन्स सदस्य बनाउन सक्रिय बनाइन्छ। यसरी एकले अर्कोलाई विश्वस्त पार्दा छोटो समयमा ओरियन्सले सञ्जाल बढाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

ठगिएको भन्दै प्रहरीको सम्पर्कमा आउनेमा धेरैजसो सीमावर्ती ग्रामीण बस्तीका सोझासाझा सर्वसाधारण छन्। सुरुमा ९६ हजार नेपाली रुपैयाँ बुझेर ओरियन्सको सदस्यमा आबद्धता गराउने उसले गाउँ–गाउँमा जालो फैलाएर करोडौ रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी राजेशनाथ बास्तोलाले बताए। ‘प्रहरीले सूक्ष्म रुपमा अध्यन गरिरहेको छ,’ उनले भने, ‘ओरियन्सले विपन्न बस्ती र गाउँकेन्द्रित अभियान चलाएर गरिबलाई ठगी गरिरहेको पाइएको छ।’

ठगी गर्न डाइमन्डदेखि क्राउन एम्बासडरसम्म पद
भारतको चेन्नईबाट सञ्चालित ओरियन्स कम्पनीले ठगीधन्दा सफल पार्न एक डाइमन्डदेखि सात डाइमन्ड, सिल्भर डाइरेक्टर, गोल्ड डाइरेक्टर, डायमन्ड डाइरेक्टर, एम्बासडर र क्राउन एम्बासडरसम्मका पद सिर्जना गरेर सोझासाझा गरिब नेपालीलाई नेटवर्किङको सदस्य बनाउने गरेको छ।

सदस्यता बढाएका आधारमा पद, तलब र अन्य सुविधा बढाउने सपना देखाएर कम्पनीले युवालाई आकर्षित गर्दै आएको छ। एक पछि अर्को सदस्य बनेका मध्येबाट सुरुमा एक डाइमन्ड भन्ने पद कम्पनीले दिने गरेको छ। यसैगरी सात डाइमन्डसम्मको पद पाउनेलाई कमिसन र गाडी सुविधा दिएर कम्पनीले लोभ्याउने गरेको छ। त्यसपछि एकजनालाई अर्पाटमेन्ट र एक लाख रुपैयाँसम्म कमिसन दिएर कम्पनीले अरुलाई झुक्काउने गरेको छ। सुरु सदस्य भएकाले कम्पनीलाई ९६ हजार रुपैयाँ बुझाउनुपर्छ।

प्रजिअ र एसपीको चासो
ग्रामीण बस्तीमा सञ्जाल फैलाएर ठगीधन्दा चलाएको ओरियन्सको गिरोहलाई नेपालमा निस्तेज पार्न प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र एसपी राजेशनाथ बास्तोलाले अनुसन्धान अधिकृत तोकेर काम अघि बढाइरहेका छन्। प्रजिअले चासो दिएपछि पीडितसँग भेटेर सूचना संकलन गर्ने र गिरोहसम्बन्धी जानकारी लिइरहेको बास्तोलाले बताए।

‘प्रजिअले यस घटनालाई चासोका साथ लिनुभएको छ,’ उनले भने, ‘ओरियन्सले देशभरिका ग्रामीण क्षेत्रसम्म फैलाएको जालो छिटो नै भत्किन्छ भन्नेमा हामी आशावादी छौं।’ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक लक्षमण वली, प्रहरी सहायक निरीक्षक टंक ठकुल्लाले ओरियन्सको ठगीधन्दाको अध्ययन गरिरहेको जानकारी उनले दिए।

प्रकाशित: १ कार्तिक २०७६ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App