१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

१८ मध्ये तीन पुल बने

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डमा १८ वटा पुल छन्। सडक फराकिलो बनाउने काम पूरा भए पनि अधिकांश पुल पुरानै अवस्थामा छन्। अहिले सडकखण्डका सबै पुल नयाँ निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। चारवटा पुल मात्र निर्माण प्रक्रियामा लगिएको थियो। दासढुंगा, मौरी र खानीका पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने जलबिरे पुल निर्माणाधीन अवस्थामा छ। बाँकी तीन पुलको निर्माण पूरा भएर यातायात सञ्चालन सुरु भइसकेको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार सडकखण्डमा निर्माणाधीन जलबिरे पुल निर्माण ५० प्रतिशत सकिएको छ। जलबिरेमा पहिले पुरानो पुल रहेको स्थानभन्दा केही अगाडिबाट नयाँ पुल निर्माण हुँदै छ। जलबिरेमा रहेको घुम्तीमा सडक सीधा बनाउन नयाँ स्थानमा पुल निर्माण गरिएको हो।

निर्माणाधीन पुलको लम्बाइ ८० मिटर छ। वर्षात्को समयमा काम गर्न अवरोध भएको पुल निर्माणको काम अहिले तीव्र रूपमा भइरहेको उनी बताउँछन्। सडक विस्तारको काम सकेपछि आयोजनाले हेर्दै आएको चारवटा पुलमा तीन वटाको निर्माण सकिएकाले अहिले जलबिरे पुलमा मात्र केन्द्रित भएर काम अघि बढिरहेको उनको भनाइ छ। सडक विभागले अहिले सो सडकखण्डमा १५ वटा पुल निर्माणका लागि बोलपत्र आह्वानको सूचना निकालेको छ। त्यसका लागि डिजाइनसहित बोलपत्र आह्वान गरिएको छ।

सडक विभागले अहिले सो सडकखण्डमा १५ वटा पुल निर्माणका लागि बोलपत्र आह्वानको सूचना निकालेको छ।

विस्तार गर्नुपर्ने पुलकोे संख्या १४ वटा भए पनि विभागले एउटा पुल थप गरेर बोलपत्र आह्वान गरेको हो। जलबिरेको जस्तै घुम्ती भएको स्थानलाई सीधा बनाएर जोड्न एउटा पुल थप भएको हो। विभागले निकालेको सूचनाअनुसार सेती दोभानमा रहेको घुम्तीमा पुल बनाएर सडक सीधा बनाइनेछ। सबै पुल विस्तार नहुँदा सडक फराकिलो बने पनि पुरानै अवस्थाका साँघुरा पुलका कारण यातायात आवागमन सहज हुन सकेको छैन।

गोरखा–नारायणगढ सडकका रूपमा चीन सरकारको सहयोगमा २०३६ सालमा नारायणगढ–मुग्लिन सडक बनाइएको थियो। त्यतिबेला बनाइएका प्रायः पुल ६ मिटर चौडाइका छन्। ‘इन्टरमिडियट लेन’को पुलमा दुइटा गाडी मुस्किलले एकैपटक कट्न सक्ने खनालले बताए। सडक विस्तार गरेर नौ मिटरदेखि ११ मिटर फराकिलो बनाइएको छ। सडकखण्डमा रहेका पुल भने करिब ६ मिटर फराकिला छन्। निर्माण पूरा भएका तीन र निर्माणाधीन एक पुलको चौडाइ भने ११ मिटर फराकिलो छ। जसमा सात मिटर गाडी गुड्ने भाग र दुईतर्फ डेढ÷डेढ मिटर फुटपाथ छन्।

बाँकी पुल निर्माणका लागि आएका बोलपत्रमध्येबाट छनोट गरेर सम्झौता गरिएपछि सडकखण्डका बाँकी पुल विस्तारको काम पनि अघि बढ्नेछ। ठेक्का प्राप्त गर्ने कम्पनीले पहिले पुलको नक्सांकन गरेर दिएको नक्सा स्वीकृत भएपछि पुल निर्माणको काम अघि बढाउनेछ। केही पुल नौ मिटर र अन्य पुल ११ मिटर चौडाइका बन्नेछन्। निर्माण गर्न अप्ठ्यारो पर्ने स्थानका पुल नौ मिटर र अन्य पुल ११ मिटर फराकिलो बनाइनेछ। पुुल बनाइसक्न करिब तीन वर्ष लाग्ने अनुमान सडक विभाग पुल महाशाखाले गरेको छ। सम्झौतापछि मात्र निर्माण रेखदेखको जिम्मेवारी आयोजनालाई आउने इन्जिनियर खनाल बताउँछन्। नारायणगढ–मुग्लिन सडकखण्ड भएर दैनिक १० हजारको संख्यामा सवारीसाधन चल्छन्।

नारायणगढ–मुग्लिन सडकखण्डमा रहेको पुरानो पुलसँगै नयाँ निर्माण गरिएको खानी पुल। तस्बिर ः सबिता÷नागरिक

प्रकाशित: ३० आश्विन २०७६ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App