१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘एनआरएनए’ कला प्रदर्शनी सुरु

काठमाडौं – नेपाली चित्रकला तथा मूर्तिकलालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु-याउने उद्देश्यले ठमेलस्थित क्यानभास आर्ट ग्यालरीले पहिलोपटक एनआरएनए शीर्षकको कला प्रदर्शनी सुरु गरेको छ। ग्यालरीले असोज २७ गते सोमबारबाट नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ३९ जना चित्रकार र मूर्तिकारका कलालाई प्रदर्शनीमा राखेको हो।

क्यानभास आर्ट ग्यालरीका सञ्चालन तथा कला प्रदर्शनीका आयोजक लालकाजी लामाले उक्त प्रदर्शनी पहिलोपटक सञ्चालनमा ल्याएको हुनाले प्रदर्शनीको शीर्षक नै ‘फस्ट एनआरएनए कला प्रदर्शनी’ राखेको बताए। यस वर्षदेखि सुरु गरेको प्रदर्शनी हरेक वर्ष सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।

यस प्रकारको प्रदर्शनीबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) सँगको सम्बन्धलाई विस्तार गर्दै लैजान सहयोग पुग्ने लामाले जानकारी गराए। आयोजक समूहले कला क्षेत्रमा लामो समयदेखि सहयोग पु-याउँदै आएका एनआरएनए आसिसीका अध्यक्ष राजु मानन्धर र ललितकला केन्द्रीय विभागका प्राध्यापक उमाशंकर शाहलाई सोमबार सम्मान गरेको थियो।

प्रदर्शनीमा मूर्त तथा अमूर्त रूपका विभिन्न भाव बोकेका साथै नेपाली संस्कार र संस्कृति र प्राकतिक दृश्यलाई झल्काउने चित्र समावेश छन्। १२ जना मूर्तिकारका १५ थान मूर्ति र २७ जना चित्रकारका ४४ वटा चित्रकला प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा मूर्त तथा अमूर्त रूपका विभिन्न भाव बोकेका साथै नेपाली संस्कार र संस्कृति र प्राकतिक दृश्यलाई झल्काउने चित्र समावेश छन्।

मूर्तिकलातर्फ मूर्ति प्रमुखका रूपमा समेत रहेका चित्रकार लालकाजी लामाको ‘प्रकृति’ शीर्षकको मूर्तिकला निकै कलात्मक देखिन्छ। मूर्तिमा उनले नारीलाई प्रकृतिसँग तुलना गरेका छन्। नारी स्वतन्त्रता पक्षको भाव व्यक्त गर्दै बनाएको उनको मूर्तिले नारीलाई प्रकृतिजस्तै स्वतन्त्रता दिनुपर्छ भन्ने भाव बोकेको छ।

मूर्तिसँगै उनका दुईवटा चित्रकला पनि प्रदर्शनीमा राखिएका छन्। ‘मेरो देश’ शीर्षकको चित्रले नेपालको मठमन्दिर, प्रकृति र ग्रामीण समुदायका घरको दृश्यलाई चित्रित गर्दै एउटा स्वर्गजस्तो देशको परिकल्पना गरिएको छ। त्यससँगै आफ्नो कलामार्फत २०७२ सालको भूकम्पपछिको दृश्यलाई समेटी त्यस्ता खालका प्राकृतिक प्रकोपबाट सचेत हुनपर्ने सन्देश प्रवाह गर्न खोजेको चित्रकार लामा बताउँछन्।

त्यसैगरी, प्रायःजसो वाटर कलरको प्रयोग गर्न रुचाउने चित्रकार एनबी गुरुङका दुईवटा चित्र प्रदर्शनीमा समेटिएको छ। ‘कम्पोजिसन’ शीर्षक राखेर वाटर कलरको प्रयोग गरी बनाइएको अमूर्त खालको उनको चित्रले मानिसका विभिन्न खाले भावलाई व्यक्त गरेको छ।

‘आधुनिक युगमा आएर मानिस धेरै नै व्यस्त हुन थाले,’ चित्रकार गुरुङ भन्छन्, ‘त्यही मानिसको व्यस्त समय दौडधुप, मानसिकता हुने चाप र निराशतालाई विभिन्न कलरमार्फत देखाउन खोजेको हुँ।’ त्यस्तै ‘प्रोटेट अफ योङ वुमन’ शीर्षकको चित्रमा उनले लिम्बुनी महिलाले छपक्कै लगाएको गहना, उसको हाउभाउ र जीवनशैलीलाई प्रस्तुत गरेका छन्।

चित्रकार विपिनकुमार घिमिरेका रंगीविरंगी रुपमा बनेका दुईवटा अमूर्त खालका चित्रलाई प्रदर्शनीमा राखिएको छ। ‘प्रेम’ र ‘ज्योति’ शीर्षक राखिएका दुवै चित्रमा देखाउन खोजको विषयलाई भने स्पष्ट पारिएको छैन। तर, चित्रमा प्रयोग गरिएको रङ भने निकै सुन्दर देखिन्छ। ‘चित्रमा प्रयोग गरिने कलरको सुन्दरताबाट मन छुने कला नै अमूर्त कला हो,’ घिमिरे भन्छन्, ‘कलामार्फत व्यक्त गर्न खोजिएको भाव चित्र आफैँले बोल्न सक्नुपर्छ।’

‘शान्ति’ शीर्षक राखेर बनाइएको चित्रकार किशोर नकरामीको बुद्धको आकृति आकर्षक देखिन्छ। उनले शिक्षा र उपदेशको पाठ सिकाउँदै गरेका बुद्धको आकृतिलाई चित्रमा उतार्दै विश्वभर शान्तिको कामना गरेका छन्। त्यस्तै, ‘गणेश’ शीर्षक दिइएको चित्रकार सुस्मा राजभण्डारीको चित्रमा संसारभर प्रचलित विभिन्न विनायकलाई एउटै क्यानभासमा उतारिएको छ। उनले हरियो, निलो, पहेँलो रङ प्रयोग गरी चर्चित गणेशको आकृतिलाई आफ्नो कलामा समेटेको बताउँछिन्।

चित्रकार मिथिलादेवी यादवले मिथिला कलाको प्रयोग गरी भगवान्का आकृतिलाई समावेश गरेकी छन्। लामो समयदेखि मिथिला कलाशैलीमा चित्रहरू कोर्दै आएकी उनले गणेशको आकृतिलाई दृश्यचित्रमा उतारेकी छन्। यसरी प्रदर्शनी राखिएका सम्पूर्ण चित्र तथा मूर्तिले नेपाल र नेपालीको रहनसहन, धर्म, संस्कृति र नेपाली पहिचानलाई उजागर गरेको छ। प्रदर्शनी ३ कात्तिकसम्म जारी रहनेछ।

प्रकाशित: २९ आश्विन २०७६ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App