१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्य आमा समूहको सक्रियताले फाइदैफाइदा

रसुवा - गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुमा रहेको कोमिन स्वास्थ्य आमा समूहमा अहिले ३५ सदस्य छन्। यो समूह अहिले निकै सक्रिय छ। समूहमा मासिक रूपमा स्वास्थ्य तथा पोषणको विषयमा छलफल गरिन्छ। समूहमा हुने छलफलले गर्भावस्थामा धेरै फाइदा पुगेको समूहकी सदस्य आइतीमाया तामाङले बताइन्। ‘बैठकमा हजारदिने आमा र बच्चाको स्वास्थ्य तथा पोषणबारे छलफल हुन्छ,’ उनले भनिन्, ‘यसले गर्भ रहेको अवस्थामा ख्याल गर्नुपर्ने कुराले धेरै सहज बनाएको छ।’

स्वास्थ्य आमा समूहको बैठकमा स्वयंसेविका, हजारदिने आमा, स्वास्थ्यकर्मी तथा महिला सहभागी हुन्छन् भने कहिलेकाहीं परिवारका पुरुष सदस्य पनि सहभागी भएको देखिन्छ। समूहमा मासिक रूपमा बैठक बस्ने काम मात्रै हुँदैन, यसमा बचत गर्ने तथा ऋण लगानी गर्ने क्रम पनि सुरु भएको छ।

हरेक महिना बस्ने बैठकमा हजारदिने आमा र बच्चाको स्वास्थ्य पोषण तथा सरसफाइसम्बन्धी छलफल हुँदा यसले सहभागी सबैलाई फाइदा पुग्ने स्याफ्रुकी माया तामाङको भनाइ छ। ‘थोरै समय हुने छलफलले पनि धेरै कुरा सिकिने रहेछ,’ उनले भनिन्, ‘यसमा कुरा सुन्ने मात्रै नभई आफ्नो अनुभव र दुःखसुखबारे जानकारी लिन सकिन्छ।’ समूहका पुराना सदस्यले नयाँ आएका सदस्यलाई समूहबारे जानकारी दिनुका साथै आफ्ना सुखदुःख तथा आफ्ना पुराना अनुभव पनि बाँड्ने गरेको स्याफ्रुकी पासाङ छोमो तामाङले बताइन्। ‘पहिलो बच्चा जन्माउने समयमा समूह गठन भएको थिएन,’ उनले भनिन्, ‘त्यतिबेला आफ्नो र बच्चाका बारेमा धेरै ख्याल गर्न सकिएन।’

रसुवाको पाँचवटै गाउँपालिका गरी अहिले दुई सय ४५ जना स्वास्थ्य स्वयंसेविका यस जिल्लामा कार्यरत छन्। २०७५ मंसिरदेखि यो समूहमा स्वास्थ्यकर्मीसमेत सहभागी भएर हजारदिने आमा तथा परिवारका सदस्यलाई स्वास्थ्यसम्बन्धी आवश्यक सल्लाह र परामर्श दिन थालिएपछि अहिले सबै आमा समूह झन् सक्रिय भएर लागेका छन्। समूहको बैठक हरेक महिना बस्ने र समूहमा स्वास्थ्य र पोषणको विषयमा छलफल गर्ने बानीले अहिले यहाँका हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार हुँदै गएको छ।

प्रकाशित: २७ आश्विन २०७६ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App