१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटक आगमन बढ्यो

रसुवा - रसुवाको पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ। पर्यटकीय सिजन सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटक भित्रने क्रम बढेको हो। पर्यटक आउने क्रम सुरु भएसँगै जिल्लामा सञ्चालित तीनवटै पदमार्गका होटल भरिन थालेका छन्। सदरमुकाम धुन्चेसहित लाङटाङ पदमार्ग, गोसाइँकुण्ड पदमार्ग र तामाङ सम्पदा मार्गमा पर्यटक पुग्ने क्रम बढेको छ।

जिल्लामा अहिले दैनिक दुई सय हाराहारी पर्यटक आइरहेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। यहाँ आएका पर्यटकमध्ये लाङटाङ र गोसाइँकुण्ड जाने बढी छन्। विदेशी पर्यटकको पहिलो रोजाइ लाङटाङ र स्वदेशी पर्यटकको रोजाइ गोसाइँकुण्ड पर्ने गरेको छ। दुवैतिर जाने स्वदेशी र विदेशी पनि उत्तिकै छन्। प्रत्येक वर्ष पर्यटक आउने क्रम बढ्दै गएको होटल व्यवसायी निशान गजुरेलले बताए।

‘सिजनको पहिलो महिनामा नेपाली पर्यटक आउने क्रम बढेको छ,’ उनले भने, ‘दसैं–तिहारको समयमा नेपाली बढी आउँछन्।’ काठमाडौंबाट नजिक भएको र पछिल्लो समय नेपाली पनि आफ्नै देशको विभिन्न स्थानमा घुम्ने क्रम बढेकोले यहाँ पर्यटक बढेका हुन्।

निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्।

असोज १५ गतेदेखि कात्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउँछन्। जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम आउने निकुञ्जले जनाएको छ।

गाइड र पोर्टरबिना समेत जान सकिने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढेको हो।  ‘लाङटाङ क्षेत्रमा ट्रेकिङका लागि पर्यटक आउने गरेका छन्,’ गजुरेलले भने, ‘पदयात्रा छोटो र सहज भएकाले पर्यटक थप आकर्षित भएका हुन्।’

इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, कोरिया, सिंगापुरलगायतका पर्यटक यता आउने गरेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत लाङटाङ पुग्छन्।

निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायत एक दर्जन हिमशृंखला, गोसाइँकुण्ड लगायत विभिन्न कुण्ड, ऐतिहासिकस्थल रसुवागढी पर्छ भने विश्वको दुर्लभ रेडपान्डा, हिम चितुवालगायत जनावर पनि देख्न सकिन्छ।

हराएका विदेशी मृत भेटिए

यसैबीच, रसुवाको पर्यटकीय क्षेत्र थुमनबाट हराएका दुईजना विदेशीमध्ये एकजना मृत भेटिएका छन्। नेदरल्यान्डका २७ वर्षीय थोमस व्येक्स हराएको १७ दिनपछि मृत भेटिएका हुन्।

गत भदौ २७ गते थुमन पुगेका उनीसहित दक्षिण कोरियाका ४२ वर्षीय जिसङ चाङ असोज १ गतेदेखि बेपत्ता भएका थिए। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–१, रिछर जंगलमा व्येक्सको लास फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। दुवैजनाको खोजी गर्न एउटा हेलिकप्टर र तीनवटा तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो।

खोजी कार्यका लागि आठजना निजी खोज, उद्धारकर्ता, १५ जना प्रहरी, पर्यटक प्रहरी र स्थानीयसहित ३० जना परिचालन गरिएको थियो। चाङको खोजी भइरहेको छ।

प्रकाशित: २६ आश्विन २०७६ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App