७ वैशाख २०८१ शुक्रबार
अन्य

हिमाल डेउडा रत्न

स्रष्टा अन्तराम विष्ट।

काठमाडौंको हिमाल डेन्टल अस्पतालले आयोजना गरेको सुदूरपश्चिमका नृत्य निर्देशक देवु वोराको एकल नृत्य साँझमा सुदूरकै एक स्रष्टा अन्तराम विष्टलाई पचास हजार रुपैयाँ नगद र सम्मानपत्र सहित ‘हिमाल डेउडा रत्न’बाट पुरष्कृत गरेको छ।

लामो समयदेखि सुदूरपश्चिमको लोक गायनमा समर्पित विष्टको योगदानको कदर गर्दै सम्मानित गरिएको अस्पतालका अध्यक्ष डा. राजेन्द्र भट्टले बताए। बिष्ट ‘हाइ तेरा घोप्टे जुँगा तन तेरा घोप्टे जुँगा’ जस्ता चर्चित डेउडा गीतका गायक हुन्।

विष्ट ०५१ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरी ‘तो कैले दियो चुनेली मखमलका झुपा’ बोलको गीत रेकर्ड भए पछि गायन क्षेत्रमा होमिएका हुन्। उनका २४ वटा गीति एल्बम निस्केका छन्। उनले करिब ७ सय जति गीत गाएका छन्।

सुदूरपश्चिममा रेकर्डिङ स्टुडियो संचालन गर्ने पहिलो व्यक्ति पनि हुन् विष्ट। अल्का डिजिटल रेकर्डिङ स्टुडियो संचालनका दौरानमा काठमाडौंदेखि कृष्णभक्त राई, कुन्दन राई जस्ता संगीतकार तथा प्राविधिक झिकाएर सुदूरपश्चिममा दक्ष जनशक्ति उत्पादन गरेका थिए उनले।

पुख्र्यौली थलो बैतडी भएका विष्ट अचेल कञ्चनपुरको एउटा गाउँमा विद्यालय चलाएर बसेका छन्। बुधबार काठमाडौंमा भएको कार्यक्रममा सम्मानित भएर विष्ट कर्मथलो फर्किसकेका छन्।

बिष्टको छनोट सांस्कृतिक अध्येता हेमन्त विवशको समूहले गरेको थियो। अस्पतालका अध्यक्ष भट्टले हरेक वर्ष पुरस्कार राशी बढाउँदै लाने घोषणा गरेका छन्। लोकसंस्कृति संरक्षणमा अस्पतालको प्रयास उदाहरणीय बनेको छ।

प्रकाशित: १३ आश्विन २०७६ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App