१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘मिटर ब्याजी’ प्रदेशीको बयान हुँदै

सर्लाही-  ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम प्रदेशी भन्ने श्याम कृष्ण साह कलवारको अहिले सर्लाही अदालत मलंगवामा बयान भईरहेको छ। केहीबेरपछि थुनछेकको बहस सूरु हुने अदालत स्रोतले जनाएको छ।

एक नम्बर जिल्ला न्यायाधीश कृष्णराम कोईरालाको बेन्चले उनको मुद्दा हेरिरहेको छ। भोली शनिबार सार्वजनिक बिदा परेको र आईतबारबाट अदालतमा दशैं विदा सूरु हुने भएकाले आजै साँझसम्म आदेश आउने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायधिवक्ता प्रकाश कोइरालाले जानकारी दिए।

कलवार विरुद्ध ठगी, अपराधिक लाभ लगायत आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयले विहिबार नै जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो। जिल्ला प्रहरी कार्यालयको टोलीले कलवारलाई गत भदौ १५ गते साँझ मलंगवाबाट पक्राउ गरेको थियो। लालबन्दी नगरपालिका–४ निवासी रुकमिणी चौधरीले दिएको जाहेरीको आधारमा कलवारलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही प्रकृया अगाडि बढाईएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार साँढेचार लाख रुपैंया ऋण लिएको र ब्याज सहित पटक पटक गरेर नौलाख रुपैंया तिरिसक्दा समेत अझै १५ लाखको कागज रहेको भन्दै साहले आफू र श्रीमानलाई मुद्दा हाल्ने धम्की दिएको चौधरीको जाहेरीमा उल्लेख छ।

चर्को (मिटर) ब्याज लिएर ऋण लगानी गर्दै ठगी गरेको आरोपमा पक्राउ परेका ५६ वर्षीय साह विरुद्ध सम्पति शुद्धिकरणमा समेत अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। सम्पति शुद्धिकरण विभागले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई त्यस सम्बन्धी अनुसन्धान गर्न पत्र नै पठाएको थियो।

मिटर ब्याजी (सुदखोर) को रुपमा चर्चा कमाएका साह विरुद्ध केही दिनअघि ऋणपीडितहरुले काठमाडौंमै निरन्तर दबाबमूलक प्रदर्शन गरेका थिए। एक पटक लिएको ऋणको ५ वटासम्म छुट्टाछुट्टै तमसुक बनाएर ५ गुणा बढी ऋण देखाउने गरेको पीडितहरुको आरोप छ।

ल्याप्चे हानिएको तमसुक नै भएपछि प्रदेशी कानूनी रुपमा बलियो रहेको र अदालतबाट धमाधम मुद्दा जितिरहेको र ऋणीहरु भने धमाधम जेल जान बाध्य भईरहेका थिए। महिला त्यसमाथि निरक्षर ऋणीलाई चार पाँचवटा कागजमा सहीछाप गराउने गरेको पीडितहरुले आरोप लगाउँदै आएका छन्।

प्रदेशीले कतिपय ऋणीलाई मिनाहाका लागि यौन आशयको प्रस्ताव समेत गर्ने गरेको पीडितहरुले खुलेआम आरोप लगाउँदै आएका छन्। प्रदेशीले २ सय ९९ जना ऋणी विरुद्ध अदालतमा मुद्दा दिएको र त्यसमध्ये कतिपय ऋणी जेल गईसकेका छन् भने कतिपयको नाममा पक्राउ पूर्जी जारी भएको छ। पक्राउ पूर्जी जारी भएका प्रदेशीका दर्जनौं ऋणीहरु लुकेर बस्न बाध्य छन्।

केही वर्षअघि आफ्नै घरमा काम गर्ने एक बालिकालाई जवर्जस्ती करणी गरेको आरोप समेत लाग्यो प्रदेशीमाथी। तर पीडित परिवारलाई आर्थिक प्रलोभनमा पारेर अदालतको बयानमा बालिकालाई ‘होस्टाईल’ (बयान फेर्ने) गराईएपछि साह थुनामुक्त भएको प्रहरी स्रोतले जनायो।

यता प्रदेशीले भने आफू विरुद्ध ऋण तिर्न नचाहनेहरुको भिड संगठित भई लागेको बताउँदै आएका छन्। ‘मैले पटक–पटक ताकेता गर्दा पनि सावा र ब्याज नै नतिरेपछि बाध्य भएर अदालतमा मुद्दा हालेको हुँ’, साहले भने, ‘मलाई पनि यो मुद्दामामलाको लफडा गर्ने रहर कहाँ छ र ?’ ऋणीहरुलाई ऋण लिए भन्दा बढाएर ४–५ वटा कागजमा सहीछाप नगराउने गरेको समेत उनले दाबी गर्दै आएका छन्।

प्रकाशित: १० आश्विन २०७६ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App