१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘मदन भण्डारी लोकमार्गः गाईघाट–बेलटार खण्ड दसैंअघि सकिने

राष्ट्रिय गौरवको मदन भण्डारी लोकमार्गअन्तरगत गाईघाट–बेलटार खण्डमा कालोपत्रे गर्दै सडक मजदुर । तस्बिरः महेश्वर/ नागरिक

उदयपुर– उदयपुरको सामाजिक तथा अर्थ राजनीतिमा महत्वपूर्ण योगदान पु-याउने निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना ‘मदन भण्डारी लोकमार्ग’को गाईघाट–बेलटार खण्डमा दसैंअगावै कालोपत्रे सक्ने गरी धमाधम काम भईरहेको छ। सदरमुकाम त्रियुगा नगरपालिका केन्द्र गाईघाटसँग पूर्वी चौदण्डीगढी नगरपालिकाको व्यापारिक नाका बेलटार र बसाहा हुँदै बेलका नगरपालिका केन्द्र रामपुर खण्डमा दसैं अगावै आउजाउ सहज बनाउने गरी युद्धस्तरमा कालोपत्रे काम भईरहेको लोकमार्ग आयोजना कार्यालय गाईघाटले जनाएको छ।

आयोजना कार्यालयका प्रमुख इन्जिनियर (डिई) ललिजन खनालले गाईघाटदेखि बेलटार जोड्ने २१ किलोमिटर खण्डमा दसैंअघि नै कालोपत्रे गरिसक्ने लक्ष्य लिएर निर्माण कम्पनीलाई काम गर्न लगाइएको बताए। गाईघाट–बेलटार खण्डका खोला खहरेमा निर्माणाधीन पुल तथा बन्न बाँकी पुल आसपास (पुल एप्रोच) बाहेकमा कालोपत्रेको काम भईरहेको उनले बताए। ‘हामी सकभर दसैं–तिहारका बेला कालोपत्रे गरेको सडकमा सरर गुड्न पाइयोस् भनेर दु्रतगतिमा काम गर्न लगाएका छौं’ डिई खनालले भने ‘त्यसै अनुसार काम भईरहेको पनि छ। पुल एप्रोचबाहेकमा कालोपत्रे गर्न प्राईम राखिसकेर सँगसँगै पिचको काम भईरहेको छ।’

डिई खनालले गाईघाट बजारभन्दा पूर्व र पश्चिमी खण्डमा ४५ किलोमिटर कालोपत्रे सकिईसकेको जानकारी दिए। पश्चिमतर्फ गाईघाट–चुहाडे–चिसापानी खण्डको १७ किलोमिटर र पूर्वतर्फ त्रियुगा र चौदण्डीगढी नगरपालिका सीमाना इक्राहासम्म १३ किलोमिटरमा गत असारभित्रै कालोपत्रे भईसकेको थियो। साउन अन्तिमदेखि सुचारु भएको कालोपत्रे काम भदौमा पटक पटक पानी परेपछि दुईसाता समय भने काममा बाधा पुगेर सोँचेजस्तो छिटो गर्न समस्या भएको छ।

लोकमार्ग निर्माणको जिम्मा पाएको जेडआईईसी÷शर्मा÷लामा जेवीका परियोजना उप प्रबन्धक (डिपिएम) सीताराम दाहालले दसैंअघि नै गाईघाट–बेलटार–बसाहा खण्डान कालोपत्रे सक्ने गरी साउन अन्तिम सातादेखि काम थालिएको बताए। तर, असोज पहिलो साताभित्र सकिने काम भदौमा पटक पटक भएको वर्षाले १७ दिन काम रोकिँदा लक्ष्य अनुरुप गर्न बाधा पुगेको उनले बताए। ‘हामीले असोज पहिलो साताभित्रै गाईघाटलाई बेलटार र बसाहासँग कालोपत्रेलेले जोडिसक्ने गरी काम थालेका थियौं’ डिपिएम दाहालले भने ‘तर, भदौ सुरुदेखि पटक पटक वर्षा हुँदा १७ दिन काम गर्न पाइएन। त्यसैले सोँचेजस्तो हुन सकेन। त्यसैले अब दसैं–तिहारसम्ममा सकिएला कि भन्ने छ।’

दाहालका अनुसार गाईघाट–बेलटार खण्डमा कालोपत्रे गर्न पुल एप्रोचको भागबाहेक सबै ठाउँमा कालोपत्रे गर्नुपूर्वको प्राईम छर्किसकिएको छ र सँगसँगै कालोपत्रे पनि हुँदैछ। सो खण्डमा पर्ने असारी खोला, भातीखर्क, खैराहा, देवधार, भिमा र ज्यामिरे खोला–खहरेको पुल एप्रोचको एक किलोमिटरबाहेक २० किलोमिटरमध्ये १७ किलोमिटर हाराहारी कालोपत्रे सकिएको दाहालले बताएका छन्। बाँकी ३ किलोमिटरमा पनि प्राईम छर्कने काम सकिएकाले लगातार कालोपत्रे हुँदै गरेको छ। वर्षाले धोका नदिए दसैंअगाडि पुरै काम सकिने उनको भनाई छ।

बेलटार–बसाहा खण्डको ९ किलोमिटर भने कालोपत्रे गर्न चाहिने फाउण्डेसनको काम भईरहेको छ। उदयपुर र सुनसरीको सीमास्थल सप्तकोसी नदी चतारादेखि बसाहा हुँदै सप्तरी कन्चनपुरसम्मको नदाहा–फत्तेपुर–कन्चनपुर कालोपत्रेसहितको सडक भने दुईवर्षअघि नै कालिका कन्स्ट्रक्सनले निर्माण गरिसकेको छ। त्यसैले बसाहादेखि बेलटार–गाईघाट हुँदै कटारी–सिन्धुली–हेटौडा सडकको उदयपुर खण्डमा कालोपत्रेको काम भईरहेको हो । योजना कार्यालयले असारभित्र ५० किलोमिटर खण्डमा कालोपत्रे गर्ने लक्ष्य राखे पनि वर्षा र कच्चा पदार्थको समस्याले ३० किलोमिटर मात्र गरेको थियो।

गाईघाट–बेलटार–बसाहा खण्डमा पर्ने बिभिन्न खोला खहरेहरुमा ४ वटा पक्की पुलहरु निर्माणाधीन अवस्थामा छन् भने बाँकी ६ वटा चालु वर्ष निर्माण गर्नेगरी टेण्डर प्रक्रियाको तयारी भईरहेको लोकमार्ग कार्यालयले जनाएको छ । त्रियुगा १३ को भातीखर्कको पुल अन्तिम चरणमा पुगेको छ भने चौदण्डीगढी ९ को देवधार र चौदण्डीगढीकै बसाहाका तीनवटा खहरेमा सुरु चरणमा पुल निर्माण भईरहेको छ । त्रियुगा १३ कै असारी, चौदण्डीगढी नगरभित्र पर्ने खैराहा, ज्यामिरे, लामा खोलालगायत खहरेहरुमा यसैवर्ष पुल बनाउने योजना रहेको डिई खनालले बताएका छन्।

५ वर्षअघि विस्तृत परियोजना प्रतिबेदन तयार भएको तत्कालीन धरान–चतारा–गाईघाट–सिन्धुली–हेटौडा जोड्ने १ सय ७९ किलोमिटर लामो बैकल्पिक लोकमार्गको निर्माण कार्य ०७७ कात्तिक मसान्तभित्र सक्नेगरी ०७४ कात्तिकमा सम्झौता भएको हो। जसका लागि सडकतर्फ ४ अर्ब ५० करोड र पुलतर्फ १ अर्ब ५० करोड गरी ६ अर्बको समझौता भएको मदन भण्डारी लोकमार्ग निर्देशनालय ललितपुरका सुपरिटेण्डेन्ट इन्जिनियर (सुई) उमेशविन्दु श्रष्ठले बताए।

तर, गतवर्ष मात्र सरकारले सो लोकमार्गलाई राष्ट्रिय लोकमार्गको रुपमा विकास गर्दै पूर्वमा झापाको बाहुनडाँगी शान्तिनगरदेखि पश्चिममा डढेल्धुराको रुपालसम्म बिस्तार गर्ने निर्णय गरेको सुई श्रेष्ठले बताए। उनका अनुसार बिस्तार भएसँगै लोकमार्गको लम्बाई १ हजार २ सय ५० किलोमिटर लामो हुन पुगेको छ। लोकमार्ग बिस्तार गर्ने क्रममा चतारादेखि सिन्धुलीसम्मका बिभिन्न खोला खहरेमा ११ वटा पक्की पुल कल्भर्ट निर्माण गर्नुपर्ने आवश्यक्ता देखिएपछि थप पुल बनाउने योजना अघि सारिएको सुई श्रेष्ठले बताएका छन्।

प्रकाशित: ८ आश्विन २०७६ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App