२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘गुफाबाट भागेर खेल्न गएँ’

सीमा आभास

पहिलो महिनावारी
पहिलोपटक महिनावारी हुँदा म १० वर्षकी थिएँ। सुरुमा खुन देखा मात्र परेको रहेछ। त्यसरी खुन आउँछ भन्ने मलाई थाहा रहेनछ। त्यसैले थोरै आएको खुनमा मैले हेक्का राखिनँ।

अहिले थाहा पाउँदै छु। महिलाको शरीरको आ–आफ्नै किसिमको स्वभाव हुँदो रहेछ। कसैको खुब पेट दुख्छ, कसैलाई सुरुदेखि नै खुन बढी आउँछ, कसैको खुन देखा मात्र पर्छ, कसैको सामान्य रहन्छ। कसैलाई खुब गाह्रो हुने गरी ढाड–पेट दुख्छ, कसैलाई केही हुँदैन।

एक नम्बर चकचके थिएँ, दिनको उज्यालो हुँदासम्म एकछिन घरमा बस्दिनथेँ, स्कुल जानुअघि र फर्केपछि धेरैजसो बाहिर खेल्न निस्किरहन्थेँ।

त्यतिबेला, बिहे गरेको मान्छे मात्र महिनावारी हुन्छन् भन्ने लाग्थ्यो, मेरो बिहे नभएकाले त्यस्तो शंकै गरिनँ। केटाकेटी बुद्धि थियो। महिनावारी हुँदा खुन आउँछ भन्ने थाहा पाएकी रहिनछु क्यार।

तेस्रो दिन, अलिक बढी पेट र तिघ्रा दुखेको थियो। घरको मूल ओछ्यानमा गएर सुतेँ। जाडोको बेला, गाउँमा बिहे थियो। एकछिन सुतेर बिहे हेर्न गएँ। सुरुवाल साह्रै चिसो भयो। घर आएर हेरेको सुरुवालभरि रगत लागेछ। मरिन्छ होला भनेर डराएँ। अनि रुन थालेँ। घरमुनि खरको कुन्यु थियो। त्यहीँ बसेर रोइरहेकी थिएँ। दिउँसो ११–१२ बजेतिर आमा आउनु भयो। आमालाई सुरुवाल देखाएँ। आमाले ‘मरिछे, नछुने भइछ’ भन्नु भयो। बिहे नै नभई नछुने भएँ भनेर म फेरि रोएँ। ‘यो विदेशीजस्ती छे’ भनेर आमा कराउनु भयो। म यति बिन्दास थिएँ कि कुनै कुराको मतलब थिएन। त्यसैले महिनावारीको बारेमा ज्ञान राखिनँछु। नछुने भएको भनेपछि हच्किएकी थिएँ कि जस्तो लाग्छ। तर यकिन भन्न सक्दिनँ।

२२ दिनसम्म मलाई गुफा राखियो। बाहुनकी छोरीलाई आफ्नो घरमा राख्ने होइन, अर्काको घरमा गएर बस्नुपर्ने चलन थियो। म अर्काको घरमा जान मानिनँ, त्यसैले मटानमा गुफाजस्तै गरेर राखियो, परालको कुन्युमा। घाम हेर्न पाइनँ। एक महिनाजस्तो लाग्छ घरमा पानी छुन नदिएको।

रातमा मसँग सुत्न साहिँली बहिनी आउँथी। ऊ मभन्दा ५ वर्ष कान्छी थिई। दिउँसो ऊ स्कुल र अन्य काममा जाने भएकाले म एक्लै हुन्थेँ। बाहिर निस्केर खेल्न मन लाग्थ्यो।

महिनावारी हुँदा महिलाले बार्नुपर्छ भन्ने थाहा थियो, आमा, हजुरआमा र अरुले बारेको देखेकी थिएँ। तर, बिहे नभएका पनि ‘नछुने हुन्छन्’ भन्ने थाहा थिएन।

गुफा बस्दा खाना आमाले ल्याइदिनुहुन्थ्यो। पाँच दिनको दिनजस्तो लाग्छ, पिताजीले भात र मासु ल्याइदिनुभएको थियो। उहाँलाई देखेपछि बेसरी रोएँ। उहाँले मलाई सुमसुम्याएर माया व्यक्त गर्नु भयो र आफैँ भक्कानिनुभयो, म त्यसरी बसेको देखेर।

२२ दिनसम्म मलाई गुफा राखियो। पाँचौँ दिन होला, पिताजीले भात र मासु ल्याइदिनुभएको थियो। उहाँलाई देखेपछि बेसरी रोएँ। उहाँले मलाई सुमसुम्याएर माया व्यक्त गर्नुभयो र आफैँ भक्कानिनुभयो, म त्यसरी बसेको देखेर।

त्यतिबेलासम्म आफैँ नुहाउने गरेकी थिइनँ, आमाले नुहाइदिनुहुन्थ्यो, महिनावारी भएका बेला पनि आमाले नुहाइदिनुभयो। महिनावारी भएका बेला बार्नु ठीक हो वा होइन भन्ने मलाई थाह थिएन, त्यस्ता प्रश्न वा तर्क गर्ने उमेर पनि थिएन। तर महिनावारीपछि स्कुल जाँदा र खेल्न जाँदा खुब लाज लागेको थियो।

मलाई साथीहरूसँग खेल्न खुब मन लाग्थ्यो। मोजाको भकुण्डो बनाएर खेल्ने चलन थियो। मेरा मिल्ने साथी केटा थिए। छिमेकी बडीआमाले नछुने भएपछि गर्न नहुने कुरा, टाला लगाउने तरिका सिकाउनुभयो। केटाहरूसँग त्यसरी अब खेल्नु हुँदैन भनेर बताउनु भयो।

गुफा बस्दा खेल्ने साथी कराएको सुन्थेँ। एक दिन खेल्न भनेर भागेँ। आमाले समातेर ल्याउनुभयो, अनि धुलाइ खाएको चाहिँ याद छ।

सीमा आभास

पश्चिमको छाउपडी र सहरमा नछुने बार्ने कुरा उही हो। केही फरक छैन। मानसिकता उही हो। हामी समय र चेतनासँगै बदलिनुपर्छ, बदलिँदै गएको पनि छ। म जब डेरामा बस्न थालेँ, त्यसबेलादेखि आजसम्म महिनावारी बारेकी छुइनँ। यसरी नबार्दा आफन्तले निको मान्दैनन् र म कसैकहाँ जान्न। हुन त अघि–पछि पनि म खासै अरुकहाँ जाने गर्दिनँ।

पहिलो महिनावारीका बेला पिताजी भेट्न आएपछि मेरो मनोबल बढ्यो सायद, आमाले भनेको टेर्न छाडेकी थिएँ। कहिले पराल भित्रबाट बाहिर सुन्ने गरी कराउँथे, कहिले भाग्थेँ। एक दिन त आमालाई परालको मुठाले हानेँ। मैले पहिलो र अन्तिमचोटि आमामाथि हात उठाएको त्यही हो।

भाइ तीन वर्षको थियो। घर र मटान आमने–सामने भएकाले आँगनमा परिवारका सदस्य  बोलेको सुनिन्थ्यो। एकदिन भाइले मेरो नाम लिएर बोलाइरहेको थियो। म मटानको दोस्रो तलामा परालको कुन्युभित्र थिएँ। बिस्तारै झरेँ भुँइतलामा। मटानको मुखमा लाउरी भैँसी बाँध्ने गरेको थियो।

भैँसीको पछाडि लुकेर भाइलाई बोलाएँ। भाइलाई हे-यो भने भाइ मासिन्छ भनेर आमाले सम्झाउनुभएको थियो। मैले टेरिनँ। मैले बोलाएको भाइले मात्र सुनेन, आमाले पनि सुन्नुभयो। आमाले मलाई फेरि ठटाउनुभयो। त्यतिबेला साँच्चिकै भाइ मासिएला भन्ने डर लागेको थियो।

महिनावारी नबार्दा केही हुँदैन। यो मेरो अनुभव हो। तर, हाम्रो कलिलो मस्तिष्कमा ‘महिनावारी पाप हो, बार्नुपर्छ’ भनेर भरिदिइएको छ। बाल मस्तिष्कमा भरिएको कुरा कसैगरी मेटिँदैन। त्यसैले अहिले पनि महिलाले पूजाआजा, कुनै देवकार्य, पितृकार्यमा अनिवार्य बार्छन्। हामीमध्ये अधिकांशले भान्सामा बारेका हुन्छौँ।

हामीले छोरीहरूलाई सुरुकै महिनावारीबाट छुवाछुत गर्न सिकाएनौँ भने उनीहरूले छुवाछुत नगर्न सक्छन्। तर, जसले सुरुकै अवस्थामा यो पाप हो भनेर सिके, त्यस्ताले पूर्णरूपमा नकार्न सक्तैनन्।

महिनावारी सामान्य प्राकृतिक चक्र हो भनेर ग्रहण गर्न सकिन्छ भने छुँदा हुन्छ। छुने तर केही होला कि भनेर डरायो भने पाप लाग्ने चाहिँ हैन नकारात्मक मानसिक असर पर्छ होला जस्तो लाग्छ। महिनावारी हुनु र छुनु पाप होइन भनेर पहिला आफू तयार हुनुपर्छ। परिवार, समाजले महिनावारी नबार्न अभियान चलाउनुपर्छ।

खासमा महिनावारी हुँदाको बेलामा हामीभित्र विशेष शक्ति हुन्छ जस्तो लाग्छ मलाई। महिनावारी महिलालाई प्रकृतिले दिएको विशेष उपहार हो। हरेक महिना महिलाको शरीरबाट खुन बगेर शुद्धता पाइरहेको हुन्छ। सृष्टि सिर्जनाको मूल कारक महिनावारीलाई ‘कमजोरी हो, पाप हो’ भनेर पुरुषसत्ता, यसलाई प्रश्रय दिने हाम्रा किंवदन्ती र कथाहरूले महिलामाथि अक्षम्य अपराध गरेका छन्। ती पुरुषहरू, जसका आमाहरू महिनावारी नभएका भए कसरी जन्मन्थे ?

महिनावारी पाप हुन्थ्यो भने त्यही महिनावारीबाट जन्मिएका समस्त मानवहरू पापका उपज हुन्। स्त्री जातिहरू सबैभन्दा बढी शक्तिशाली मासिकश्राव भएको बेलामा हुन्छन्। उनीहरूको शक्तिलाई निस्तेज पार्नलाई ‘फटाहा विद्वान्’ले पापसँग जोडेर स्त्रीको अथाह शक्तिलाई निस्तेज पारेको हो।

मानव सभ्यतामा काँचो खुनको खुबै महत्व छ। वैदिककालदेखि नै प्राणीको होस् या मानवको काँचो खुनलाई पवित्र मानिन्छ। त्यसैले अद्यापि भाकलका नाममा, देवालीका नाममा पशुबलि प्रथा जीवित छ। कुनै बेला नरबलि प्रथा पनि थियो भन्ने कथा हामीले पढेका छौँ।

त्यति मात्र हैन, देशमा सत्ता परिवर्तनका लागि व्यवस्था परिवर्तनका लागि सहादत दिने व्यक्तिलाई सहिद भनिन्छ। सहिद बनाउनु भनेको नरबलिको परिमार्जित रूप हैन र ?

आफ्नै शरीरको काँचो खुनले नुहाउने स्त्रीहरू कति शक्तिशाली हुन्छन् ! मासिकश्राव स्त्री शक्ति र पवित्रताको प्रतीक हो।

हाम्रा शास्त्रमा हामीले शक्तिको रूपमा पूज्ने गरेका काली, चण्डी, उग्रचण्डी, दुर्गाहरूले आफ्नो जुन खास रूप लिएर बसेका छन्, त्यो शक्तिको रूप भनेको महिनावारी भएको बेलाको अवस्था हो जस्तो लाग्छ। प्रायः सबै देवीलाई खुनको बलि चढाइन्छ। र, शक्तिको रूपमा उतारिन्छ।

त्यो शक्ति आर्जन गर्न पहिला उनीहरूले आफ्नै खुनले नुहाएको मिथ कतै हुन सक्छ। पुरुषहरू देवी नभएर स्त्री नै देवी हुने कारण पनि मासिकश्राव नै हो। पुरुष र स्त्रीबीचको तात्विक अन्तर नै मासिक धर्मसँग जोडिन्छ। सुरुमा मासिक धर्मलाई उत्सवको रूपमा मनाइएको हुन्छ। जसको कारणले देवीहरू स्थापना गरियो।

आधुनिक पुरेतहरू फटाहा भएर महिलाका हरेक प्राकृतिक गुणलाई अपव्याख्या, कुव्याख्या गरेर समाज दुषित बनाए। त्यही कुव्याख्यामा टेकेर सामाजिक नीति–नियम, कानुन बने। त्यसैले त समाज तहसनहस हुने बाटोमा हिँडिरहेको छ।

पहिलो सन्तान
२०६७ सालमा पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएँ। मुलुक बाबुलाई मैले काठमाडौंको ओम अस्पतालमा जन्म दिएकी हुँ। त्यतिबेला मेरो साथमा भाइ, बहिनी, आमाबुबा र श्रीमान् थिए।

कान्छो छोरो विराटनगरमा जन्मदा भने मेरो हेरचाह गर्ने श्रीमान् मात्र हुनुहुन्थ्यो। सुत्केरी अवधिभर मेरो र बच्चाको हेरचाहमा उहाँ एक्लै गर्नुभएको हो। असाध्यै केयर गरेर सुत्केरी उतार्नु भयो।

भाइ तीन वर्षको थियो। भैँसीको पछाडि लुकेर भाइलाई बोलाएँ। भाइलाई हे-यो भने भाइ मासिन्छ भनेर आमाले सम्झाउनुभएको थियो। मैले टेरिनँ। भाइलाई हेरेको भनेर आमाले मलाई  ठटाउनुभयो।

बिहेअघि कीर्तिपुरमा पढ्दै थिएँ। त्यसबेला मलाई बच्चा जन्माउने रहर थियो, तर बिहे गर्न मन थिएन। कोठामा आउँदा बच्चा होस् र उसले ‘आमा’ भनोस् भन्ने रहर लाग्थ्यो। बिहे भए पनि, नभए पनि एउटा निश्चित उमेरमा आइपुगेपछि महिलालाई आमा हुने रहर हुन्छ जस्तो लाग्छ। तर, समाजका अगाडि बोल्न नसक्नु अलग कुरा हो। डर, लाज, संस्कारले थिचेर हामीलाई हाम्रो रहर र चाहनाको बारेमा थाहा नै हुँदैन।

जवान भएसँगै सन्तान जन्माउने कुरा सोचेर रमाइलो महसुस हुन्थ्यो। खै किन हो, कम्तीमा तीनवटा सन्तान जन्माउनुपर्छ भन्ने लाग्थ्यो, अहिले पनि लाग्छ। तर जन्माउन र हुर्काउन एकदमै गाह्रो छ। यो रहर मात्र हो। सबै रहर पूरा हुँदैनन्।

मैले बिहेअघि नै कसैले सन्तान जन्माउँदै गरेको प्रत्यक्ष देखेकी थिएँ। त्यो सुत्केरीलाई उसको लोग्नेले गरेको व्यवहार देखेर लोग्नेमान्छेप्रति चरम घृणा जागेको थियो। अलिपछि बिहे भएका केटा साथीहरूसँग संगत हुँदै गयो। बिहे भएका लोग्नेमान्छे असल पनि हुन्छन्। श्रीमतीलाई माया पनि गर्छन् भन्ने थाहा पाएँ। त्यसअघि लोग्नेमान्छे खराब र अमानवीय हुन् भन्ने छाप परेको थियो। अझ मलाई लोग्नेको असल स्वरूप पनि हुन्छ र ? भन्ने लाग्थ्यो। लोग्ने भनेको अमानवीय र अत्याचारको अर्को रूप हो भनेर बुझेकी थिएँ। अहिले बुझ्दै छु खराब लोग्नेहरू अझै पनि छन्। स्वास्नीलाई हिँड्न बोल्न नदिने, अरु त अरु फेसबुकको स्टाटसमा समेत प्रतिबन्ध लगाउने पढालेखा लोग्ने पनि छन्। स्वास्नीलाई दासकै दायरामा राख्न चाहनेको जमात अझै छ। मैले भने अहिलेसम्म असल व्यवहार गर्ने श्रीमान् पाएकी छु। मेरो व्यक्तिगत स्वतन्त्रतामा कुनै प्रश्न नगर्दा निर्धक्क भएर लेख्न र बोल्नका लागि विद्रोह गर्नुपरेको छैन।
(कुराकानीमा आधारित)

प्रकाशित: ४ आश्विन २०७६ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App