२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

थापाकाे 'हिरासत' चिरायु अस्पताल

नरेशकुमार थापा

काठमाडौं – पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालमा भर्ना भएका हुन्। ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ।’

ब्युरो स्रोतका अनुसार गत बुधबारदेखि नै थापा बिरामी भएको बहानामा अस्पताल भर्ना भएका हुन्। उनले त्यहाँ एउटा क्याबिन रुम लिएका छन्। मंगलबार सिआइबीले बयानका लागि कार्यालयमा बोलाएपछि आफैं गएका थापा त्यहाँ एक रात मात्रै बसेका थिए। त्यसपछि यता अस्पताललाई नै उनले ‘हिरासत’ बनाउँदै आइरहेका छन्। ब्युरो प्रमुख डिआइजी निरजकुमार शाहीले पनि थापा अस्पतालमा भएको पुष्टि गरे। ‘बिरामी भएपछि उहाँ मात्र होइन, अरू पनि अस्पताल भर्ना हुन्छन्। बिरामी हुने कुरा प्रहरीको वशमा नरहने भएकाले चिकित्सकले जे भन्छन्, त्यही नै गर्ने हो। अस्पतालमा हाम्रा सुरक्षाकर्मी भने हुन्छन्,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो। बिरामी भएपछि जाँच गराउन लानुपर्छ। चिकित्सकले अस्पतालमै राखेर उपचार गर्नुपर्छ भन्यो भने हामीले सुरक्षा दिनेबाहेक अर्को उपाय हुन्न।’ अदालतको आदेशमै उनलाई न्यायिक हिरासतमा राखेको जनाइएको छ।

प्रहरीले उनलाई अस्पतालबाटै बयानका लागि बिहीबारदेखि काठमाडौ जिल्ला अदालतमा लैजाने गरेको छ। बिहीबार उनी मुखमा ‘मेडिकल मास्क’ लगाएर अदालत गएका थिए। बिहीबार उनलाई ३ बजेसम्म इजलास नं. ४ मा उपस्थित गराइएको थियो। आइतबार पनि प्रहरीले उनलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। सोमबार १२ बजे मात्रै उनको बयान भएको थियो। उनले करिब एक घण्टा इजलासमा सरकारी वकिलले उठाएको प्रश्नको जवाफ दिएका थिए। उनीलगायत आपराधिक लाभ तथा संगठित अपराधमा पक्राउ परेका अन्य सातजनाकै बयान सकिएपछि सोमबारबाटै थुनछेक बहस सुरु भएको छ। थुनछेकको बहस मंगलबार पनि जारी रहने अदालतले जनाएको छ।

थापाले प्रहरीसँगको कागजी बयानमा इन्कार गरे पनि अनौपचारिक कुराकानीमा भने आफू जग्गा कारोबारी रहेको र त्यसक्रममा समीरलाई भेट्न कारगार गएको स्वीकार गरेका थिए। प्रहरीसँग अनौपचारिक रूपमा स्वीकार गरेपछि अन्य प्रमाण पनि प्रहरीले जुटाएको थियो। प्रहरी स्रोतका अनुसार पक्राउ परेका शैलेश प्रजापति पूर्वमाओवादी कार्यकर्ता पनि हुन्। प्रजापतिलाई खड्काले प्रयोग गरिरहेका थिए भने प्रजापतिले समीरसम्म पुग्ने बाटो खोलिदिएको प्रहरी स्रोतको दाबी छ। समीरको योजनाअनुसार बाहिर बसेर खड्काले थापालाई पैसा उठाउने र खर्च गर्ने विषयमा बुझाएर समीर ग्याङमा प्रवेश गराएको प्रहरी स्रोतको दाबी छ।

पक्राउ पर्नेमा गृहमन्त्री थापाका भाइसहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई र मनबहादुर पुन मगर छन्। उनीहरू सबैको बयान सकिएको छ। अदालतमा थापाले इन्कारी बयान दिएको छ अदालत स्रोतको भनाइ छ। ‘प्रहरीमा जे बयान दिएका थिए, त्यसकै निरन्तरता जस्तो देखिन्छ,’ स्रोतले भन्यो।

केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्न्यातसँग मिलेर निर्माण व्यवसायीहरूसँग पैसा उठाएको, जेलमै गएर समीरलाई भेटेको र व्यवसायीहरूलाई धम्क्याएको आरोपमा प्रहरीले थापालाई पक्राउ गरी आपराधिक लाभ तथा संगठित अपराधमामा मुद्दा लगाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो। सो सिफारिसअनुसार सरकारी वकिलको कार्यालयले उनीविरुद्ध काठमाडांै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

पक्राउ परेकामध्ये स्युचाटारका पवन खड्का र भेडासिंहका शैलेश प्रजापतिले थापाको निर्देशनअनुसार व्यापारीलाई धम्क्याएको बताएपछि सिआइबीले उनको मोबाइल ‘कल डिटेल’ निकालेर अनुसन्धान सुरु गरेको थियो। थापा आफैं केन्द्रीय कारागारमा समीरलाई भेट्न गएको पुष्टि भएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान गरिएको हो। ‘कोहीसँगै परिचय गर्नुपर्दा थापा आफ्नो नाम नबताएर आफूलाई गृहमन्त्रीको भाइ भन्दै परिचय दिँदा रहेछन्। सुरुमा हामीले अनुसन्धान लागि बोलाउँदा पनि ठूलै मेहनत गर्नुपरेको थियो,’ सिआइबी स्रोतले भन्यो।

थापाले प्रहरीसँगको कागजी बयानमा इन्कार गरे पनि अनौपचारिक कुराकानीमा भने आफू जग्गा कारोबारी रहेको र त्यसक्रममा समीरलाई भेट्न कारगार गएको स्वीकार गरेका थिए। प्रहरीसँग अनौपचारिक रूपमा स्वीकार गरेपछि अन्य प्रमाण पनि प्रहरीले जुटाएको थियो। प्रहरी स्रोतका अनुसार पक्राउ परेका शैलेश प्रजापति पूर्वमाओवादी कार्यकर्ता पनि हुन्। प्रजापतिलाई खड्काले प्रयोग गरिरहेका थिए भने प्रजापतिले समीरसम्म पुग्ने बाटो खोलिदिएको प्रहरी स्रोतको दाबी छ। समीरको योजनाअनुसार बाहिर बसेर खड्काले थापालाई पैसा उठाउने र खर्च गर्ने विषयमा बुझाएर समीर ग्याङमा प्रवेश गराएको प्रहरी स्रोतको दाबी छ।

गृहमन्त्रीका आफ्नै भाइ भए पनि उनको सचिवालय भने यो विषयमा मौन छ। ‘धेरै दिनदेखि उहाँ मन्त्रालयमा आउनुभएको थिएन। बाहिर उहाँको के के काम छन् भन्नेबारे हामीलाई जानकारी हुँदैन,’ गृहमन्त्रीको सचिवालय स्रोतले भन्यो। सिआइबीले ठेकेदार जयराम लामिछाने, दीपक गौतम, लाक्पा नुरु शेर्पासहित २५ जनाको सामूहिक जाहेरीका आधारमा उनीहरूविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई सिफारिस गरेको थियो।

प्रहरीका अनुसार केन्द्रीय कारागारमा रहेका समीरले करिब सयजना निर्माण व्यवसायी र व्यापारीका नाम, निजी कार्यालय र घरको फोन नम्बर र उनीहरूको व्यापार ठेक्का विवरणसहितको कागजात दिएर खड्कालाई पैसा उठाउने जिम्मा दिएका थिए। सो कागजात उनले सुरेन नगरकोटीमार्फत दुबईमा रहेको जे भनिने जावेद अनवदिनलाई उपलब्ध गराएर पैसा उठाउने कार्य सुरु गरेको प्रहरी दाबी छ। निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्न रहेको आरोपमा कैद भुक्तान गरिरहेका समीरले जेलबाटै निर्माण व्यवसायीहरूलाई धम्क्याउने गरेका थिए।

प्रकाशित: ३१ भाद्र २०७६ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App