१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चरेससहित तीन भारतीय हेटौंडामा पक्राउ

मकवानपुर– अवैध लागूऔषध चरेस कारमा लुकाई लगिरहेको अवस्थामा तीन जना भारतीय पक्राउ परेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तरगत हेटौंडा उपमहानगरपालिका १५, रातोमाटेबाट बिआर ०१ पीएफ ७९९८ नम्बरको भारतीय कारमा चरेस लुकाएर लैजाँदै गर्दा तीन भारतीय युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कार चालक भारतको बिहार मजुफ्फरपुर जिरोमाईल रोड दादरका २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानीकुमार पासवान र बिहारको शिवहर तरिहानी छपराका २४ वर्षीय राजु महतो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए।
‘हेटौंडाबाट बिरगञ्जतर्फ जाँदै गरेको कारलाई जाँच गर्दा अगाडी पट्टीको एसीको भागमा फल्स बटम बनाई चरेस लुकाएको भेटियो,’ उनले भने, ‘‘शनिबार करिब १० बजे प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएका हुन्।’ दश वटा पोकामा चार किलो नौ सय ग्राम चरेस भारत निकासी गर्ने क्रममा पक्राउ गरी अनुसन्धान गरिरहेको बताउँदै उनले कारलाई नियन्त्रणमा लिईएको जनाए।

लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार पक्राउ परेकाहरुलाई जनही एकदेखि तीन वर्ष कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
त्यस्तै, मकवानपुरको राक्सीराङ गाउँपालिका–४, कालिका दोभानबाट १२ किलो चार सय ग्राम लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कैलाश गाउँपालिका–८ का २६ वर्षीय राजकुमार थिङ, २१ वर्षीय दिपेश थिङलाई पक्राउ गरेको हो।

झोला बोकेर शंकास्पद रुपमा हिडिरहेको उनीहरुलाई जाँच गर्दा गाँजा फेला परेको थियो। प्रहरीका अनुसार राजकुमारको झोलामा चार किलो आठ सय ग्राम र दिपेशको झोलामा सात किलो छ सय ग्राम गाँजा फेला परेको छ। लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार पक्राउ उनीहरुलाई जनही दुईदेखि १० बर्ष कैद र १५ हजारदेखी एक लाख रुपैंयासम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

तीन विगाहाको गाँजाको बोट नष्ट
साथै, मकवानपुरको लागूऔषध अति प्रभावित राक्सिराङ गाउँपालिका २, कालीधाप, चनौटा र मिग्रानमा तीन विगाहा दुई कठ्ठा जग्गामा लगाईएको गाँजाको बोटहरु प्रहरीले नष्ट गरेको छ। प्रहरी उपरीक्षक सिंहको नेतृृत्वमा खटिएको प्रहरी टोलीले समुदाय–प्रहरी साझेदारी अन्तर्गत दोस्रो चरणमा गाँजा फडानी गरी नष्ट गरेको जनाईएको छ।

यसैबीच, मकवानपुर प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै पूर्वी मकवानपुरको बकैया गाउँपालिका ६, जुईना खोलाबाट ना ६ त ६५१९, ना ४ त ८०८२ र अनटेष्टगरी तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। प्रहरी चौकी हात्तीसुडेका प्रहरी सहायक निरिक्षक कृष्णराज गौतमको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको तीन वटै ट्याक्टर जिल्ला प्रहरी कार्यालयमार्फत् जिल्ला समन्वय समितिमा पठाईएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ भाद्र २०७६ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App