१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपालगन्ज घटनाको विरोधमा कांग्रेसद्वारा संसद अवरुद्ध, गृहमन्त्रीसँग सांसदको सवाल जवाफ

फाइल तस्बिर

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर संसद बैठक अवरुद्ध गरेको छ। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्। 

बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरि राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराइएको आरोप लगाए। जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनावद्ध ढंगले बाँके घटना गराइएको उल्लेख गर्दै असंवैधानिक र विधि विपरितका क्रियाकलापको निन्दा र भत्सर्ना गरे। 

भदौ २६ गते बाँकेको खजुरा गाउपालिका वडा नम्बर १ स्थित सितापुरमा नेपाली कांग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले अंरिगालको जसरी प्रवेश गरि कार्यक्रम विथोल्नुको साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको दाबी उनले गरे।

गृहमन्त्री रामबहादुर थापाले बाँके घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दे दोषीलाई कारवाही हुने प्रतिबद्धता जनाएका थिए। उनले बाँके घटनामा संलग्न निर्मल खत्री, रोशन सिंह ठकुरी र लोक बहादुर शाहीलाई २८ गते राती नै नियन्त्रणमा लिइएको र संलग्न अन्यको खोजी तीब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी गराए।

उनले खजुरा गाउँपालिका वडा नम्बर १ मा हेमन्त थापा, लोकबहादुर शाही लगायत ६ जनाको समूहले कार्यक्रमलाई विथोल्ने प्रयास गरेको, होहल्लाको क्रममा सभापति किरण कोइरालाको हात भाँच्चिएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनालाई राजनीतिक विषयको रुपमा नलिन आग्रह गरे। उनले सरकारले आफ्नो कारवाहीको प्रक्रियालाई अगाडि बढाइसकेको भन्दै कानुन मिच्ने र शान्ति प्रक्रियालाई खलल पुर्याउनेलाई कडा कारवाही गर्न सरकार दृढ रहेको बताए।

गृहमन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै सांसद दिलेन्द्र प्रसाद बडूले सत्तारुढ दलका वडाध्यक्ष सुमन मल्लको घटनामा प्रमुख भूमिका रहेको दाबी गर्दै सरकारले नै घटनालाई राजनीतिकरण गरेको जिकिर गरे। त्यसैगरी, सांसद अमरेश कुमार सिंह लगायत कांग्रेसका सांसदहरुले किटानी जाहेरी दिएका सत्तारुढ दलका कार्यकर्तालाई कारवाही हुन्छ कि हुँदैन भनी प्रश्न गरेका थिए।

राम बहादुर विष्टले सरकार कमजोर भएर प्रतिपक्षी दलमाथि अरिंगाल प्रयोग गर्ने काम भएको आरोप लगाए। उनले भने, ‘पञ्चालयत कालमा सरकार कमजोर भयो भने मण्डलेहरुलाई अघि सारिन्थ्यो। अहिले सरकार कमजोर भएर हो कि अरिंगालहरुलाई अघि सारिँदैछ। अरिंगाल र मण्डले एकै हुन कि फरक फरक हुन?’

सांसद गगन थापाले घटनाको तथ्यलाई सरकारले तोडमोड गरेर अपराधीको नाम समेत लुकाएको आरोप लगाए। गृहमन्त्री थापाले घटना संलग्नहरु नेपाल कम्युनिस्ट पार्टीका सदस्य थिए र पक्राउ पर्छन् भन्ने प्रतिवद्धता नजनाएसम्म सदन संञ्चालन हुन नसक्ने बताए।

गृहमन्त्री थापाको जवाफ चित्तबुझ्दो नभएको भन्दै सचेतक पुष्पा भुसाल गौतमले बाँके घटनालाई सामान्य रुपमा लिन नसकिने भन्दै गृहमन्त्रीको जवाफमा प्रतिकार गरिन्। उनले भने, ‘यो सत्ताको उन्मादले हो कि सरकार असफल भएको कुण्ठाले हो? नेपाली कांग्रेसको जनजागरण अभियानका क्रममा बाँकेका सभापति र केन्द्रीय प्रतिनिधिमाथि सांघातिक आक्रमण भएको कुरालाई साधारण भन्न मिल्दैन यसलाई प्रमुख प्रतिपक्षी दलले घोर भत्र्सना गर्दछ। १० जनाको विरुद्धमा किटानी जाहेरी गएको छ। दर्ता गर्नका लागि निर्देशन नदिएसम्म सदनको कारवाही अघि बढ्न सक्दैन।’

प्रकाशित: २९ भाद्र २०७६ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App