१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उच्च लाभांशले पनि तान्न सकेन लगानीकर्ता

काठमाडौं – पुँजीबजार लगातार पाँचौं दिन पनि घट्न पुगेको छ। अघिल्लो साताको बिहीबारदेखि नै नेप्सेको ओरालो यात्रा जारी छ। बुधबार बजार खुल्दा ११६६.६७ मा रहेको नेप्से बजार बन्द हुँदा ३.४६ बिन्दुले घटेर ११६३.२१ मा आइपुगेको छ। सूचीकृत कम्पनीले धमाधम उच्च दरमा लाभांश घोषणा गर्दा पनि त्यसले लगानीकर्तालाई तान्न सकेको छैन। बुधबारै उच्च दरमा बोनससहितको लाभांश घोषणा गरेको छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्यसमेत ओरालो लागेको छ। यस कम्पनीले २७.१ प्रतिशत बोनस सेयर र १७.२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। यसै दिन लाभांश घोषणा गरेको लक्ष्मी लघुवित्तको सेयर मूल्य पनि ओरालो लागेको छ।

सम्बन्धित सरकारी निकायका उच्च अधिकारीले पुँजीबजारमा असर पर्नेगरी बारम्बार अभिव्यक्ति दिएका कारण लगानीकर्ता बजारप्रति आश्वस्त हुन नसकेको विश्लेषण गरिएको छ। अर्थमन्त्री युवराज खतिवडाले नेपालको सेयर बजारमा ‘घोस्ट’ र ‘डेमोन्स’ रहेको अभिव्यक्ति मंगलबार आयोजित एक कार्यक्रममा दिएका थिए।

यस्तै, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कालो धन भित्रिन छाडेपछि सेयर बजार घटेको अभिव्यक्ति दुई दिनअघि सार्वजनिक गरेका थिए। नियामक निकायका उच्च अधिकारीबाट यस्तो अभिव्यक्ति आउनु पदीय गरिमाअनुकूल नभएको भन्दै लगानीकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्।

होटल्स र निर्जीवन बिमामा उच्च गिरावट
बुधबार नेप्से ०.३ प्रतिशतले ओरालो लाग्दा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि ०.३ प्रतिशतकै गिरावट आएको छ। यस दिन कारोबार भएका १२ समूहमध्ये म्युचुअल फन्ड झिनो अंकले हरियो छ भने अरु सबै समूहमा रातो पोतिएको छ। सबैभन्दा बढी गिरावट होटल्स समूहमा देखिएको छ। यो समूहको सूचक १.८ प्रतिशतले ओरालो लागी १८९९.१२ मा आइपुगेको छ। यस्तै निर्जीवन बिमा समूह पनि एक प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। बिन्दुगत आधारमा हेर्दा सबैभन्दा बढी झर्नेमा निर्जीवन बिमा समूह नै परेको छ। यो समूह ४९.०३ बिन्दुले झरेको छ। यस्तै होटल्स ३४.८४, जीवन बिमा ३१.४७, उत्पादनमूलक समूह ८.६६, लघुवित्त ५.८१, र विकास बैंक समूह ४.७८ बिन्दुले ओरालो लागेका छन्। लघुवित्त २.५९, बैंकिङ १.७५, व्यापार ०.४२ र अन्य तथा वित्त समूह समान ०.३२ बिन्दुले झरेका छन्।

सम्बन्धित सरकारी निकायका उच्च अधिकारीले पुँजीबजारमा असर पर्ने गरी बारम्बार अभिव्यक्ति दिएका कारण लगानीकर्ता आश्वस्त हुन सकेका छैनन्।

कारोबार रकममा सुधार
नेप्से घटे पनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ। यस दिन ३४ करोड १७ लाख ४५ हजार एक सय ३६ रुपैयाँको सेयर खरिदबिक्री भएको छ। यो अघिल्लो दिनको तुलनामा ४३.६ प्रतिशत बढी हो। मंगलबार २३ करोड ७९ लाख ५९ हजार ६ सय ५३ रुपैयाँको कारोबार भएको थियो। गत बिहीबारदेखि नै कारोबार रकम लगातार गिर्दो क्रममा थियो।

कारोबार रकमका आधारमा बुधबार सोल्टी होटल अगाडि देखिएको छ। यस कम्पनीको चार करोड ५५ लाख ५१ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ। कारोबार रकमका आधारमा दोस्रोदेखि पाँचौंसम्म क्रमशः लक्ष्मी बैंक प्रमोटर सेयर, छिमेक लघुवित्त विकास बैंक, नेपाल बैंक र नेपाल लाइफ इन्सुरेन्स छन्। यस्तै प्रभु बैंक, साना किसान विकास बैंक, एनआइसी एसिया, कृषि विकास बैंक र एनसिसी बैंक पनि कारोबार रकमका हिसाबले उत्कृष्ट १० कम्पनीमा परेका छन्।

कारोबार भएको सेयर संख्याका आधारमा दुई लाख आठ हजार आठ सय ६० कित्तासँगै सोल्टी होटल नै अगाडि छ। कारोबार संख्याका आधारमा भने पाँच सय एक कारोबारसहित सान्जेन जलविद्युत् आयोजना पहिलो स्थानमा छ।

यस दिन सबैभन्दा बढी गुमाउनेमा नबिल इक्विटी फन्डका लगानीकर्ता परेका छन्। यो फन्डको मूल्य ६.७ प्रतिशतले झरेको छ। यस्तै लक्ष्मी लघुवित्त, दिव्येश्वरी हाइड्रोपावर, रिडी हाइड्रोपावर र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य पनि चार प्रतिशतभन्दा बढीले झरेको छ। उच्च मूल्य घट्ने १० कम्पनीमा पाँचवटा जलविद्युत् कम्पनी छन्।

घट्दो बजारमा पनि यस दिन घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ४.४१ प्रतिशतले बढेको छ। यस्तै अरुण भ्याली हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र नयाँ नेपाल लघुवित्तको मूल्य पनि तीन प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

प्रकाशित: २६ भाद्र २०७६ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App