१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेता कार्यकर्तालाई बाहिर राखेर कडा सुरक्षाबीच नेकपाको सपथग्रहण

सर्लाहीको बागमतीमा नेकपाको सपथग्रहण समारोहमा उपस्थित नेताहरु । तस्बिरः टंक/नागरिक

सर्लाही- अधिकांश नेता कार्यकर्तालाई बाहिरै राखेर कडा सुरक्षा घेराबीच सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम बुधबार दिउँसो सम्पन्न भएको छ।

नेकपाका एक नेताका अनुसार जिल्ला कमिटीमा नपरेका र अतिथिबाहेक पार्टी भित्रैका नेता कार्यकर्तालाई समेत सभाहलमा प्रवेश गर्न दिईएको थिएन। कार्यक्रममा विवाद हुँदै झडपसमेत हुनसक्ने आशंकासहित जिल्ला नेतृत्वले सपथग्रहण गर्ने सभाहलभित्र प्रवेश गर्नका लागि जिल्ला कमिटीभित्र परेका सदस्य तथा अतिथिहरुलाई कुपन वितरण गरेको थियो।

पार्टीका स्वयंसेवक सदस्यले कडाईका साथ चेकजाँच गरेपछि मात्र जिल्ला कमिटीका अध्यक्ष एवं सदस्य तथा अतिथिहरुले सभाहल भित्र प्रवेश गर्न पाएका थिए। सपथग्रहण भव्य बनाउन गएका अधिकांश नेता कार्यकर्ताहरु कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पूर्व–पश्चिम राजमार्गस्थित वरपिपल चौतारामा बसेका देखिन्थे।

सपथ खाएका एक जिल्ला कमिटी सदस्यले कार्यक्रम स्थलमा प्रवेशका लागि पाएको कुपन देखाउँदै भने, ‘यस्तो कुपन नपाउने पार्टीका जो कोहीलाई पनि कार्यक्रम स्थलमा प्रवेश निषेध थियो।’ सपथग्रहण कार्यक्रम सम्पन्न सानो सभाहल बाहिर भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका उल्लेख्य सुरक्षाकर्मी तैनाथ थिए।

जिल्लाको उत्तर–पश्चिम क्षेत्रस्थित बागमतीमा नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका अध्यक्ष एवं सदस्यहरुलाई बुधबार सपथग्रहण गराईएको हो। जिल्ला कमिटीमा सचिवनै मनोनित नभएपनि पार्टीले सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार बर्दिबासमा सर्लाहीसहित छ जिल्लाको सपथ ग्रहण कार्यक्रम राखिएपनि अन्तिम समयमा विवाद भई कुटाकुटसमेत भएको थियो। सर्लाही ईन्चार्ज डाचाराज वाग्ले र अध्यक्ष रेवती पन्त पक्षबीच चरम विवाद देखिएकाले बुधबार सर्लाहीमा पनि नेकपा नेताकार्यकर्ताबीच झडप हुनसक्ने आँकलन गरिएको थियो।

शपथ ग्रहण स्थलमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु समेत उल्लेख्य संख्यामा खटिएका थिए। प्रनाउ राठौरले सुरक्षा व्यवस्था मिलाउनका लागि सपथग्रहण स्थलमा आएको बताए। प्रहरी स्रोतका अनुसार प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईसमेत सिभिलमा आएर सपथग्रहण स्थलको ‘रेकी’ गरेका थिए।

यसअघि साउन २१ गते प्रदेश कमिटीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं महासचिव विष्णु पोखरेलको विशेष आतिथ्यतामा राखिएको आयोजना गरिएको सपथग्रहण कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो। त्यस्तै भदौ २४ गते बर्दिबासमा राखिएको सपथग्रहण कार्यक्रममा समेत सर्लाहीलाई अन्तिम समयमा हटाईएको थियो। एक्कासी मंगलबारी राति तय गरेर रातारात खबर गर्दै बुधबार दिउँसो बागमतीमा सत्ताधारी नेकपाको जिल्ला कमिटीको सपथग्रहण कार्यक्रम सुटुक्क सम्पन्न गरिएको छ।

नेकपाका प्रदेश नं. २ का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहको अध्यक्षता एवं पार्टीका प्रदेश ईन्चार्ज सत्यनारायण मण्डलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदेश सचिव सुमन प्याकुरेललगायत नेताहरुको उपस्थिती रहेको थियो।

तत्कालिन नेकपा एमालेबाट अध्यक्षसहित ८१ जना तथा माओवादी केन्द्रबाट सचिवसहित ८४ जना गरी १६५ जनाको जिल्ला कमिटीलाई सपथग्रहण गराईएको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिए। नेकपा सर्लाही ईन्चार्ज डाचाराज वाग्लेले पनि सपथग्रहण सौहार्दपूर्ण रुपमा सम्पन्न भएको दाबी गरे। कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष प्रभु साहले सर्लाहीको सपथग्रहण कार्यक्रमले नेकपामा एकढिक्का देखिएको भन्दै जिल्ला नेतृत्वको प्रशंसा गरे।

प्रकाशित: २५ भाद्र २०७६ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App