१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वडाध्यक्षले आत्मसमर्पण गरेलगत्तै जेल चलान

उदयपुर– अदालतबाट दोषी करार भएर फरार सूचीमा रहेका उदयपुरका एक वडाध्यक्षले आत्मसमर्पण गरेका छन्। दुइ दिन कैद र २७ हजार १ सय ६८ रुपैंया जरिवानाको फैसला भएकोमा फरार रहेका चौदण्डीगढी नगरपालिका ९ का वडाध्यक्ष प्रकाशकुमार राउत बुधबार जिल्ला अदालत हाजीर भएर आत्मसमर्पण गरेका हुन्। 

आत्मसमर्पण गरेलगत्तै अदालतले राउतलाई २ दिनका लागि जेल चलान गरेको स्रेस्तेदार राजकुमार आचार्यले बताए। तत्कालीन नेकपा (एमाले)बाट वडाध्यक्ष निर्वाचत राउतलाई स्थानीय हरियाली समुदायिक वन उपभोक्ता समूह हडियाको वन पैदाबारमा हानी नोक्सानी पु¥याएको आरोपमा ०७१ असार ४ गते जिल्ला वन कार्यालय उदयपुरले अदालतमा मुद्धा दायर गरेको थियो। सो मुद्धाउपर अदालतले तत्कालीन जिल्ला न्यायाधीश भोजराज शर्माको इजालसले ०७१ भदौ २ गते राउतलाई ११ दिन कैद तथा १३ हजार ५ सय ८४ रुपैयाँको दोब्बर २७ हजार १ सय ६८ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

मुद्दा परेपछि वन कार्यालयले राउतलाई त्यतिबेलै पक्राउ गरी ९ दिन हिरासतमा राखेको थियो। ९ दिन हिरासत बसेपछि वन कार्यालयबाट २१ हजार धरौटीमा तारेखमा छाडेकोमा अदालतको फैसला गरेको ११ दिनमध्ये हिरासतमा काटेको ९ दिन कटाएर बाँकी २ दिन कैद सजाय कटाउनुपर्नेमा उनी फरार थिए। स्रेस्तेदार आचार्यले धरौटीबाहेक बिगो रकम ६ हजार १ सय ६६ रुपैया पनि राउतले तिर्नुपर्ने अदालतको स्रेस्तामा देखिएको बताएका छन्।

तोकिए बमोजिमको सजाय काट्न बाँकी देखिएको भन्दै आलोचना बढेपछि राउत आफै हाजीर भएर आत्मसमर्पण गरेर इमान्दारीता प्रदर्शन गरेको आचार्यले बताए। ‘जनप्रतिनिधिजस्तो मान्छेलाई हामीले प्रहरी लगाएर पक्राउ गरी बक्यौता सजाय असुल गर्नुपर्ने बाध्यता थियो’ स्रेस्तेदार आचार्यले भने ‘तर, उहाँ आफै हाजीर भएर इमान्दार चरित्र प्रदर्शन गर्नुभयो। ४८ घण्टापछि उहाँ छुटिहाल्नुहुन्छ।’

अदालतले मुलुकी फौजदारी संहिताको दफा १६० को उपदफा ५ अनुसार ‘सजाय भुक्तान नभएकाको लगत कट्टा भएको व्यक्तिले त्यस्तो लगत ठेकिने गरी भएको फैसला बमोजिम सजाय भुक्तान नगरेसम्म प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि निज कुनै पनि सार्वजनिक जवाफदेहिताको पदमा नियुक्ति वा मनोनित हुन, तोकिन वा निर्वाचित हुन अयोग्य भएको मानिनेछ’ भन्ने वाक्य उल्लेख छ । स्रेस्तेदार राउतले यही आधारमा राउतले आत्मसमर्पण गरेर राम्रो काम गरेको बताए। 

०७३ असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्ष निर्वाचित उनको सजाय बक्यौताबारे यसअघि धेरैलाई जानकारी नभएकाले उम्मेदवार हँुदा कसैले दावी विरोध नगरेको स्थानीय बताउँछन्। नेकपाकै नेता तथा चौदण्डीगढी २ का वडाध्यक्ष सन्तोष सुवेदीले उम्मेदवारी दिएर निर्वाचन प्रचार प्रसार गर्दा वास्तै नगरेकाले उनी चुनाव जित्न सफल भएको तर, अदालतको सजाय बक्यौता विषयमा पार्टी र आफुहरुलाई अहिले मात्र थाहा भएको प्रतिक्रिया दिए। उनले जनप्रतिनिधिको सानोसानो कमजोरी पनि खोजीखोजी पत्ता लगाएर संघीयतामाथि चौतर्फी प्रहार गर्न खोजिएकोमा चिन्ता व्यक्त गर्दै विधिको शासन र कानुनी राज्यको पक्षमा उभिन राउतले आत्मसमर्पण गरेको बताए।

प्रकाशित: १९ भाद्र २०७६ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App