१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीले बढायो सीमा क्षेत्रमा सक्रियता

प्रहरीले नियन्त्रणमा लिएको भन्सार छली गरेर भित्र्याईएको सामानका पोका । तस्बिरः टंक/नागरिक

सर्लाही– सर्लाही प्रहरीले पछिल्लो समय भारतीय सिमा क्षेत्रमा हुने अवैध आयात निर्यातमा कडाई गरेको छ। प्रहरीले कडाई गरेसँगै भन्सार छली गरेर भित्र्याईएका विभिन्न सामान तथा तस्करीमा संलग्नसमेत नियन्त्रणमा पर्न थालेका छन्।

साउन यतामात्रै ९१ लाख ५३ हजार २० रुपैंया बराबरको भन्सार छली गरेर भित्र्याईएका सामान तथा त्यस्ता सामान बोकेका सवारी साधन प्रहरीले भन्सार कार्यालयमा बुझाईसकेको छ। जबकी अघिल्लो आर्थिक वर्ष भरीमै एक करोड भन्दा कम मुल्यांकनको सामान भन्सार बुझाएको प्रहरीले चालू आर्थिक वर्षको दुई महिना नबित्दै झण्डै एककरोड बराबरको सामान भन्सार बुझाएको छ।

बुधबार बिहान प्रहरीले भन्सार छलेर भातरबाट मोटरसाइकलमा नेपालतर्फ तस्करी भइरहेको लाखौंको सामानसहित अवैध ओसारपसारमा संलग्न पाँचजनालाई समेत नियन्त्रणमा लिएको छ। मलंगवा नगरपालिका–८ तथा ब्रम्हपुरी गाउँपालिका–६ बाट बुधबार बिहान पाँच बजे विभिन्न किसिमका लत्ताकपडा, हार्डवेयरका सामान, धनिया र सूर्ती नेपालतर्फ मोटरसाईकलमा भित्र्याईरहेको अवस्थामा बरामद गरिएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

बरामद् सामान र उक्त सामान ओसार्न प्रयोग भएको चारवटा मोटरसाइकलको चार लाख ७९ हजार ५ सय रुपैयाँ मुल्यांकनसहित बुधबार बिहानै भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सामान ओसार्दै गरेको अवस्थामा पक्राउ परेका सर्लाही ब्रम्हपुरी गाउँपालिका–६ निवासी ४५ वर्षीय मनोज यादव, सोही ठाउँका २४ वर्षीय रमेश महतो, भारत सितामाढी सोनवर्षा निवासी २६ वर्षीय प्रदेश कुमार, २७ वर्षीय अजयकुमार दास र २३ वर्षीय विमल कुमारलाई समेत आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पेश गरिएको प्रहरीले जनाएको छ। बिगो बराबरको रकम धरौटी राखेर अभियुक्तहरु भन्सार कार्यालयबाट रिहा भएका छन्।

चाडबाडको समय सूरु भएसँगै भारतबाट नेपालतर्फ लत्ताकपडा, तेल, चिनी, हार्डवेयर सामग्री, किराना सामान, विद्युतीय सामानलगायत विभिन्न खाले सामानहरु भन्सार छली गरेर लुकाई छिपाई नेपालतर्फ भित्र्याउने गिरोह सक्रिय हुने भएकाले सिमा क्षेत्रमा कडाई गरिएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए। केही महिना अघिसम्म भारतबाट खुलेआम रुपमा भन्सार छलीका सामानहरु तस्करी भइरहेको गुनासो बढेको थियो। पछिल्लो समय भने प्रहरीले सिमा क्षेत्रमा सक्रियता बढाएसँगै तस्करीका सामान र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्। 

नेपाल प्रहरीको प्रदेश २ का प्रमुखको रुपमा डिआईजी प्रद्युम्न कार्कीले जिम्मेवारी सम्हालेसँगै सिमाक्षेत्रमा हुने तस्करी नियन्त्रणमा प्रदेश भित्रका ८ वटै जिल्लामा प्रहरीले कडाई गरेको एक जानकारले बताए। प्रहरी संगठनभित्र कडा मिजासका मानिने डिआईजी कार्कीले तस्करीको लाइन दिने वा अन्य अवैध काममा प्रोत्साहन गर्ने प्रहरी अधिकृतलाई जागिरै खाइदिनेसम्मको चेतावनी दिएकाले पछिल्लो समय सिमामा हुने तस्करीका सामान भटाभट पक्राउ पर्न थालेको एक प्रहरी अधिकृतले जानकारी दिए।

प्रकाशित: १९ भाद्र २०७६ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App