१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ट्वाइलेटबाटै चुहिन्छ गोप्य सूचना

काठमाडौं- सेयर बजारमा गोप्य सूचना चुहाउँदा कारोबार प्रभावित हुने गरेको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै 'आफन्त' लाई गोप्य सूचना चुहाउने गरेको दाबी स्रोतको छ। सूचीकृत कम्पनी सञ्चालक समिति बैठक प्रायः सेयर कारोबार भइरहेकै बेला बस्छ। बैठकका महŒवपूर्ण निर्णय सञ्चालकले सुटुक्क 'आफन्त' लाई दिने र त्यसै आधारमा सूचना पाउनेले सेयर किनबेच गरेको पाइएको छ। सूचीकृत कम्पनी सञ्चालकबाट उत्साहजनक सूचना पाउनेले सेयर किन्न थाल्छन्, निराशाजनक निर्णय भएको सुइँको पाए बेच्न थाल्छन्।

बैठक चलिरहेकै बेला सूचीकृत कम्पनी सञ्चालक ट्वाइलेट जान्छन् र सुटुक्क आफन्तलाई सूचना दिएर सेयर किनबेच गराउँछन्।

पछिल्लोपटक एभरेस्ट बैंक र नेसनल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा यस्तै चलखेल भएको खुलेको छ। गोप्य सूचना चुहिएकै आधारमा दुई कम्पनीको सेयर माग एकैछिनमा अकासिएको एक लगानीकर्ताले बताए। बुधबार सञ्चालक समितिको बैठक बसिरहेकै बेला एभरेस्ट बैंकले बम्पर लाभांश घोषणा गर्दैछ भन्ने सूचना सेयर बजारमा चुहियो। गोप्य सूचना सार्वजनिक हुनेबित्तिकै सेयर माग बढ्यो, माग बढेपछि मूल्य पनि बढ्यो। 'बैंक सञ्चालक समितिले ७० प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर प्रस्ताव गर्दैछ भन्ने गोप्य सूचना चुहिएको थियो,' ती लगानीकर्ताले भने, 'त्यसपछि किन्न खोज्दा पनि पाइएन।'

बजार बन्द हुनेबित्तिकै उक्त बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई ७० प्रतिशत बोनस सेयर र बोनसपछि ३३.३३ प्र्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको सूचना पठायो। नेप्सेले बैंकको सूचना वेेबसाइटमा राखेको छ। बुधबार उक्त बैंकको ३८ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको तथ्यले पनि गोप्य सूचना चुहाइएको पुष्टि हुन्छ। सेयर मूल्य पनि ८९ रुपैयाँले बढेर प्रतिकित्ता अधिकतम ३ हजार ९ सय रुपैयाँ पुगेको छ। 

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको पनि मंगलबारको कारोबारअघि नै गोप्य सूचना सार्वजनिक भएको लगानीकर्ता बताउँछन्। उक्त कम्पनीले पनि ३० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद जारी गर्ने घोषणा गर्दैछ भन्ने सूचना बाहिर आयो। मंगलबार उक्त कम्पनीको सेयर मूल्य ५९ रुपैयाँले बढेर कारोबार भएको थियो। कारोबार बन्द भएपछि पहिले गरिएको हल्ला अनुसारकै ३० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय भएको सूचना सार्वजनिक भयो।

गोप्य सूचना चुहाएर सेयरमा चलखेल गर्नु अपराध भएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए। 'भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भएको ठहर गरे बिगोबमोजिम कारबाही हुन्छ,' उनले भने, 'भित्री कारोबार बिग क्राइम हो।'

कसले बिक्री गर्‍यो र कसले खरिद गर्‍यो, त्यसैका आधारमा मात्रै भित्री कारोबार भएको हो वा होइन भन्ने पत्ता लाग्ने उनले बताए। 'भित्री कारोबार हुँदैन भन्न सकिदैन्,' उनले भने, 'भित्री कारोबार हुन्छ भनिन्छ तर, अहिलेसम्म कसैलाई पनि कारबाही भएको छैन।'

एभरेष्ट बैंकको सेयर भित्री कारोबार भएको हो भन्ने कुरा आएको तर पुष्टि हुने आधार नभएको उनले बताए। 'बैंकले यति लाभांश दिन्छ भन्नेबारे साता दिनदेखि अनुमान गरिँदै आएको हो,' उनले भने, 'त्यसै आधारमा मूल्य बढेको हुनुपर्छ।' चुक्ता पुँजी र उसले गरेको आम्दानी आधारमा अनुमान गरेर सेयर मूल्य बढेको हुनुपर्छ।' भित्री कारोबार भएको ठहर भए कारबाही हुन्छ, भित्री कारोबार गर्न पाइँदैन, गरे धितोपत्र ऐनअनुसार कारबाही हुन्छ।

गोप्य सूचना सार्वजनिक भएकै कारण मंगलबार र बुधबार नेसनल लाइफ इन्स्योरेन्स र एभरेस्ट बैंकको सेयर मूल्य र कारोबार रकम बढ्न पुगेको छ। नेसनल लाइफको बुधबार २२ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कुल कारोबार एक अर्ब १९ करोड रुपैयाँमा यी दुई कम्पनीको हिस्सा ६१ करोड ७० लाख रुपैयाँ छ।

एकै दिन एक अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। सरदर दैनिक ७० करोड रुपैयाँको सेयर कारोबार हुँदै आएकोमा बुधबार बढेर एकै दिन उक्त रकम बराबर किनबेच भयो।

दसैंपछि सेयर बजारमा यति ठूलो रकमको सेयर कारोबार भएको बुधबार पहिलो दिन हो। कारोबार रकममा सुधार आए पनि सेयर सूचक भने ओरालो लागेको छ। बजार ३.०१ बिन्दुले झरेर फेरि १६९८.९० बिन्दुमा आइपुगेको छ।

वाणिज्य बैंक, विकास बैंक र जलविद्युत समूहको सूचक घटेको छ। बैकिङ समूहको ५.६१, विकास बैंक समूहकोे १३.६९ र जलविद्युत समूहको २३.९४ बिन्दुले झरेको छ।

होटल समूहको ४२.६८, फाइनान्स समूहको १.३१, बिमा समूहको ६२.५८ र अन्य समूहको १.१६ बिन्दुले बढेको छ। बजार घट्दासमेत सिर्जना फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ। यसपछि अरुण फाइनान्सको साढे ७ प्रतिशतले मूल्य बढेको छ। एक सय ३४ कम्पनीको १० लाख सात सय २७ कित्ता सेयर किनबेच भएको छ।

सबैभन्दा बढी गुमाउनेमा आइएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य नौ प्रतिशतले झरेको छ।

प्रकाशित: २ मंसिर २०७३ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App