१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

क्यानभासमा चार देशका कला

अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा राखिएको महिलाहरूको जीवनशैली झल्काउने चित्रकला। तस्बिरःनागरिक

काठमाडौं – दिनँहू घरायसी कामकाजमा जुटिरहने महिलाहरूको जीवनशैली झल्काउने चित्रकला नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानको कक्षमा आयोजित चार देशका कलाकारहरू सहभागी ‘एमिटी’ नामक अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा राखिएको छ। शनिबारदेखि सुरू भएको कला प्रदर्शनीमा झुन्डिइएको महिलाको जीवनशैली झल्काउने चित्रकलालाई देवेन्द्र पौडेलले जलरङको प्रयोग गरेर बनाएका थिए।

प्रदर्शनीमा नेपालसहित भारत, चीन र बंगलादेशका ८० जना कलाकारहरूले बनाएका कलाहरू समावेश गरिएको थियो। अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले प्रदर्शनीको आयोजना गरेको थियो। ‘कलाका माध्यमबाट नेपालसहित चार देशबीच सम्बन्धलाई प्रगाड गर्न प्रदर्शनीका आयोजना गरिएको हो,’ अन्तर्राष्ट्रिय जलरङ समाज, नेपालका अध्यक्ष एनबी गुरुङले भने, ‘यस्ता प्रदर्शनीले सहभागी देशबीचको आपसी सम्बन्ध विस्तार भएर नेपाली कलाकारिताको स्तर बढाएर नेपालको कलालाई विदेशसम्म पु-याउने सहयोग पुग्नेमा आशावादी छौं।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीमा चार देशको संस्कृति र परम्परा झल्काउने चित्रकलाहरू समावेश गरिएका छन्। ‘कला संस्कृतिको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्,’ ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले भने।’

 चित्रकार सुरेश स्याङ्ग्तानले नेपालको मौलिकता झल्काउने पशुपति क्षेत्रको प्यागोडा शैलीका कलालाई चित्रकलामार्फत प्रस्तुत गरेका थिए। ‘प्यागोडा शैलीको मन्दिरले नेपाली जनजीवनको झल्को दिने भएकाले तुलनात्मक रूपमा अरू देशको कलाभन्दा पृथक छ। कलामार्फत नेपालको सांस्कृतिक सम्पदाको जगेर्ना गर्न आग्रह गरिएको छ, ’उनले भने।

चीनको कलाकार पङ्ग गोले खोलामा बल्ने पानीको प्राकृतिक सुन्दरतालाई बयान गर्दै चित्रकला क्यानभासमा उतारेका छन्। चीनको प्रतिनिधित्व गरेका कलाकारहरू चीन र नेपालको जीवनशैली झल्काउने चित्रहरू क्यानभासमा कोरेका थिए। कलाकारले नेपालको जीवनशैलीसँग तुलना गरेर चीनको संस्कृति झल्काउने ग्रामीण क्षेत्रको घरमा मकै झुन्डाएर राख्ने  पुरानो शैलीलाई चित्रमा प्रस्तुत गरेका छन्।

भारतका कलाकार विक्रान्त सिटोलले विनानकारी भूकम्पले ध्वस्त नेपालको धार्मिक सम्पदालाई क्यानभासमा उतारेका छन्। बसन्तपुर आसपासको धार्मिक सम्पदाहरू टेकोको सहारामा राखिएको मार्मिक दृश्य उनको चित्रकलामा समावेश भएको छ। अर्की कलाकार हिना भट्टले बसन्तपुर आपसापको रमनीय दृश्यलाई क्यानभासमा स्थान दिएकी छिन्। विदेशी पर्यटक भएर नेपालको धार्मिक सम्पदा अवलोकन गर्दाको स्थितिलाई उनले हुबहु चित्रमार्फत प्रस्तुत गरेकी छिन्।

बंगलादेशका चित्रकार मासुद अहमदले समुन्द्रको जीवनशैलीलाई क्यानभासमा समेटेका छन्। बंगलादेशको समुन्द्रमा रहेको डुङ्गा र पानीको रोचक दृश्यलाई मापन गर्ने प्रयास उनले गरेका छन्। समुन्दको महत्वलाई उनले आफ्नो चित्रकलामा मुख्य पाटो दिएका छन्।

चित्रकार शहानूर ममोनले समुन्द्रमा व्यस्त रहने जीवनशैलीको प्रतिनिधित्व गर्ने चित्रलाई क्यानभासमा उतारेका छन्। समुन्द्रमा रहेका डुङ्गाहरूमा सवार मानिसहरू एक स्थानबाट अर्को स्थान जाँदैछन् भने कोही माछा मारेर जीविकोपार्जन गर्न सक्रिय देखिन्छन्। प्रदर्शनी आगामी भदौ १७ सम्म चल्नेछ।

प्रकाशित: १० भाद्र २०७६ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App