२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘पलेँटी’ मा लेकाली–परिवार

काठमाडौं  – यस महिनाको ‘पलेँटी’ शृखला नामक सांगीतिक कार्यक्रममा लेकाली–परिवारको प्रस्तुति हुने भएको छ । आगामी भदौ १३ देखि कालिकास्थानस्थित ‘आर’ शालामा आयोजना हुने ‘पलेँटी शृखला’ मा सांगीतिक प्रस्तुति दिन लेकाली–परिवारका गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ रिहर्सलमा जुटेका छन् ।

५२ वर्षअघि स्थापना भएको लेकाली–परिवार नामक सांगीतिक समूहमा गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठबाहेक निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ र नवीन किशोर संलग्न छन् । विसं. २०२५ मा लेकाली– परिवारले महेन्द्र पुलिस क्लबमा ‘छहाराको गीत’ शीर्षक दिएर आफ्नो औपचारिक सुरुवात गरेको थियो । कार्यक्रममा गाइएका ‘लहरा पहरा’, ‘ट्याम्के डाँडा’ ‘ए है है’, ‘काफल पाक्यो’, गीतहरूले चर्चा कमाएका थिए ।

विगतको सृजनाकर्मको दिनहरू सम्झँदै गणेश रसिक भन्छन्, ‘हामी गोठाले जीवन बिताएका मान्छे । राजधानी टेकेपछि तिनै गोठाले शब्दहरूलाई भाकामा गाइयोस् सुन्नेले लोकगीतकै दर्जा दिए ।’

तीन दिन चल्ने ‘पलेँटी’ मा लेकाली–परिवारले संगीतकार सांगीतिक यात्राको सम्झना गर्दै प्रस्तुति दिनेछन् । ‘पलेँटीमार्फत लेकाली – परिवारलाई वर्तमान समयमा सुन्न र सुनाउन पाउनु ऐतिहासिक सांगीतिक घटना हो । लेकालीले अंगालेको सांगीतिक बाटो नेपाली संगीत संसारको पृथक बाटो थियो,’ पलेँटी संयोजक आभासले भने ।

प्रकाशित: ९ भाद्र २०७६ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App