१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा दर्ता, बयान सुरु

चितवन– शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवी लामिछानेसहित तीन जनाविरुद्ध आइतबार मुद्दा दर्ता गरिएको छ। मुद्दा एक नम्बर इजलासमा रहेका न्यायधीश हेमन्त रावलले हेर्ने तय भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले जानकारी दिए। लामिछानेसहित युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहन अन्तर्गत मुद्दा दर्ता गरिएको हो। 

सरकारी वकिल कार्यालयले मुद्दामा अभियुक्त तीनै जनालाई पाँच वर्ष कैद र पचास हजार रुपैयाँ जरिवानाको माग दावी गर्दै मुद्दा दर्ता गराएको हो। प्रहरीले तीनै जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन र प्रमाणहरु आइतबार बिहान सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। सरकारी वकिल कार्यालयले अनुसन्धान फाइल अध्ययन गरेर अभियोग पत्र तयार गरी मुद्दा दर्ता गरेको हो। मुद्दामा अहिले अभियुक्तहरुको बयान लिने काम अदालतले सुरु गरेको छ। 

अहिले सुरुमा अस्मिता कार्कीको बयान लिने काम भैराखेको छ। बयान लिने काम सकिएपछि मुद्दामा थुनछेक बहस सुरु हुने गिरीले जानकारी दिए। थुनछेक बहसपछि मात्र साधारण तारेख, धन जमानी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश हुनेछ। अदालती समय पाँच बजेसम्म मात्र भएकाले आज नै थुनछेक बहस सकिने सम्भावना भने न्यून रहेको छ। लामिछानेका समर्थकले बिहानैदेखि भरतपुरको चौबिसकोठी र जिल्ला प्रहरी कार्यालय अगाडि समेत प्रदर्शन गरिरहेका छन्। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा साउन २० गते राती मृत फेला परेका थिए।

प्रकाशित: ८ भाद्र २०७६ ०९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App