१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कार्तिक नाचमा 'नृसिंह अवतार'

ललितपुर- ललितपुर पाटनस्थित कार्तिक डबलीमा जारी कार्तिक नाचमा शनिबार नरसिंह अवतारसम्बन्धी नाच प्रस्तुत गरियो। यो नाच भगवान विष्णु, ऋषिमुनि, अप्सरा, देवी सरस्वती, देवी लक्ष्मी, दानव हिरण्यकश्यपु र उनको छोरा प्रह्लादको कथामा केन्द्रीत छ।

नाचको पृष्ठभूमि खोतल्दै नाचका खोजकर्ता तथा कार्तिक नाच संरक्षण उपाध्यक्ष प्रतापधर शर्माले नाचको पहिलो चरणमा भगवान विष्णु, दोश्रो चरणमा ऋषिमुनि र तेश्रो चरणमा दैत्य र दानवको उपस्थिति हुने बताए।

शर्माका अनुसार दानव, ऋषिमुनि र भगवान विष्णु एकै स्थानमा भेला भइसकेपछि हिरण्यकश्यपुको छोरा प्रह्लादलाई पढाउन ऋषिमुनिको जिम्मा लगाउने निर्णय हुन्छ। निर्णयपश्चात् प्रह्लादलाई ऋषिमुनिको जिम्मा लगाइन्छ र उनीहरूले अध्यापन गराउन प्रह्लादलाई आफ्ना आश्रम लैजान्छन्।

यो नाच नेपाल संवत ६७१ मा राजा सिंद्धिनरसिंह मल्लले सुरु गरेका थिए। नाचको बाँकी कथाबारे कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार भन्छन्, 'प्रह्लाद भगवान विष्णुका भक्त हुन् भने उनका बाबु हिरण्यकश्यपु शिवभक्त हुन्। अध्यापन गराउन आफ्नो जिम्मा लगाइएका प्रह्लादलाई ऋषिमुनिले शिक्षा दिन थाल्छन्। अध्यापन क्रममा ऋषिमुनिले प्रह्लादलाई ओम नम शिवाय भन्न लगाउँछन्, तर प्रह्लादले कसै गरे पनि ओम नम शिवाय भन्दैनन्।' ऋषिमुनीहरुले जतिसुकै फकाउँदा पनि प्रह्लादले यो वाक्य उच्चारण गर्दैनन्।

आफूले सिकाउँदा नपढेपछि ऋषिमुनिले प्रह्लादलाई उनका बाबु हिरण्यकश्यपुकहाँ लैजान्छन्। बाबुकै अगाडि राखेर सिकाउँदा समेत प्रह्लादले त्यो वाक्य उच्चारण गर्दैनन्। त्यहाँ पनि नपढेपछि हिरण्यकश्यपुले आफ्ना मन्त्री डाकेर प्रह्लादलाई जिम्मा लगाउँछन्। त्यसपछि मन्त्रीले प्रह्लादलाई खम्बामा बाँधेर राख्छन्।

प्रह्लाद पहिलेदेखि नै आफ्नो भक्त भएकाले बाँधेको समाचार भगवान विष्णुको कानमा पुग्छ। भगवान विष्णु नरसिंहको अवतार लिएर पाटनको कार्तिक डबलीमा प्रह्लादको उद्धार गर्न आएको र उनी त्यहाँ आएपछि कार्तिक डबली नाचगान सुरु भएको ऐतिहासिक कथन पाटन चपाछेंका हरिराम नातित बताउँछन्। उनका अनुसार कार्तिक नाचअन्तर्गत देखाइने यो नाचमा देवी देवता र राक्षस सम्बन्ध उजागर गरिएको छ।

अध्यक्ष चित्रकारका अनुसार नरसिंह त्यहाँ आएपछि डबलीमा नाचगान सुरु हुने र नाचगानकै क्रममा नरसिंहले दैत्यलाई छुन पुग्छन्। नरसिंहले छोएपछि दैत्य मुर्छित हुन्छन्। मुर्छित भएपछि उनका साथीले दैत्य ब्युँझाउन पाटन मंगलबजार कृष्ण मन्दिर र तलेजु मन्दिरका पुजारी वर्गसँग आग्रह गर्छन्। पुजारीहरूले कृष्ण मन्दिर अगाडिको ढुंगेधाराको पानी खुवाउँछन् र ३ घन्टापछि दैत्य जाग्छन् अनि त्यहाँबाट पुजारीहरू बाहिरिन्छन्।

दैत्य ब्युँताएको भन्दै नरसिंह रिसले चूर भएका हुन्छन्। उनको रिस शान्त पार्न पुजारीहरूले अप्सरा र संगिनीको नाच देखाउँछन्। नाच सकिएपछि लक्ष्मी, सरस्वती, नरसिंह र प्रह्लाद एकै स्थानमा भेला भएर आफ्नो वासस्थानतर्फ हिँडेपछि कथा टुँगिन्छ।

नरसिंह नाच प्रस्तुत गर्दा त्यसमा चरित्र निर्वाह गर्ने पात्रले नाच नसकिउन्जेल निराहार बस्नुपर्ने प्रचलन रहेको समितिका उपाध्यक्ष शर्मा बताउँछन्। यो नाच नरसिंह अवतारमा केेन्द्रीत भएकाले अरु नाचभन्दा भिन्न मानिन्छ।

प्रकाशित: २९ कार्तिक २०७३ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App