२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सामुदायिक विद्यालय सबै मिलेर सुधारौं : मुख्यमन्त्री पौडेल

मकवानपुर - प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संस्थागत(निजी) विद्यालयलाई गाली गर्नुको सट्टा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन्। उत्तरी मकवानपुरको थाहा नगरपालिका ७, डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयको नयाँ भवनको बुधबार उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि सबै सरोकारवाला जिम्मेवार हुनुपर्नेमा जोड दिए।

‘निजी विद्यालयलाई गाली गरेर मात्र हुँदैन,’ उनले भने, ‘सामुदायिक विद्यालय साँच्चै राम्रोसँग सञ्चालन भएपछि बोर्डिङ जान आफैं कम हुन्छ।’ भौतिक पूर्वाधार भएपनि गुणस्तरीय शिक्षा नदिए पूर्वाधारको मात्र औचित्य नहुने भन्दै उनले एकै ठाउँमा स्रोत, साधनलाई एकत्रित गरेर मात्र गुणस्तर वृद्धि गर्न सकिने जिकिर गरे।

व्यवस्थापन पक्ष जिम्मेवार भए विद्यालयको चार गुणा बढी विकास हुने भन्दै उनले भने, ‘विद्यालय व्यवस्थापन समिति जिम्मेवार भए मात्र पनि शिक्षा क्षेत्रमा धेरै परिवर्तन आउँछ।’ शिक्षा नीतिमा आमूल परिवर्तनको आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री पौडेलले प्राविधिक शिक्षामा उल्लेख्य जोड दिनुपर्ने बताए। ‘अब ९० प्रतिशत प्राविधिक शिक्षा र १० प्रतिशत मात्र अन्य शिक्षा दिनुपर्छ,’ उनले भने, ‘हामी प्रदेशका प्रत्येक गाउँपालिकामा प्राविधिक विद्यालय खोल्ने तयारीमा छांै।’

तर प्रत्येक गाउँ–टोलमा प्राविधिक शिक्षालय खोल्दा समस्या आउने भन्दै उनले जनशक्ति, शिक्षक लगायतको समस्या हुने भएकाले निश्चित ठाउँमा मात्र खोल्नुपर्ने तर्क गरे। संघीय सरकारले शिक्षा ऐन नबनाएका कारण प्रदेशमा अन्यौलता छाएको भन्दै उनले ५० वर्षमा लोभलाग्दा विद्यालयहरुको भवनसहित पूर्वाधार बनेकाले गुणस्तर वृद्धि हुनेमा आशा पनि ब्यक्त गरे।

कार्यक्रममा प्रदेश सांसद कुमारी मोक्तान, थाहा नगरपालिकाका मेयर लवशेर बिष्ट, जिल्ला शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख बद्रीबहादुर पाठकलगायतले शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय निकाय, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक लगायत जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।

चार करोडको भवन हस्तान्तरण
थाहा नगरपालिका ७, डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयमा निर्मित तीन तले पक्की नौ कोठे भवन र शौचालय बुधबारै हस्तान्तरण गरिएको छ। करिब चार करोड छ लाख रुपैयाँको लागतमा अन्तराष्ट्रिय दातृ निकाय जाइकाको आर्थिक सहयोगमा निर्माण गरिएको हो।

भवन र शौचालय निर्माणबाट विद्यालयका चार सय ६१ विद्यार्थी लाभान्वित भएको प्रधानध्यापक प्रतापसिंह गोलले बताए। स्वछन्द जेभी खानी कन्ट्रक्सनले सम्झौता मिति सकिनुभन्दा छ महिनाअघि नै भवन निर्माण गरेको हो।
उत्तरी मकवानपुरको थाहा नगरपालिका ७, डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत। तस्बिरः अशोकसुजन÷नागरिक

प्रकाशित: ५ भाद्र २०७६ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App