१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पतिको कुटाइले महिलाको मृत्यु, खर्च नहुँदा अस्पतालले पनि हेरेन

बुटवल- घरेलु हिंसामा परेकी रोल्पा थवाङ–८ की ४८ वर्षीय सुनकुमारी नेपालीको बेलैमा राम्रो उपचार हुन नपाएपछि भैरहवामा उपचार गर्दागर्दै मृत्यु भएको छ। भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार गर्र्दागर्दै शनिबार साँझ उनको मृत्यु भएको हो।

सुनकुमारीलाई गत असोज २६ गते पति धु्रव नेपाली र बहिनी नाता पर्ने जाला नेपालीले मरणाशन्न हुने गरी कुटपिट गरेका थिए। घाइते सुनकुमारीलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो। जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रमुख डिएसपी रामप्रसाद घर्तीका अनुसार असोज २६ गते सुनकुमारी, धु्रव र पाहुना हुन आएकी जाला खाना खाएर सुते। राति सुनकुमारीले पतिसँग सल्किएको भन्दै जालालाई गाली गरिन्। भनाभनले उग्र रुप लियो। सुनकुमारीले पतिसँग सल्किएको भन्दै गाली गरेपछि पति धु्रव र जाला मिलेर ढुंगाको लोहोराले शरिरभरि हिर्काए। रगताम्मे भएर ढलेपछि धु्रव र जाला राति नै घरबाट निस्के। ‘भोलिपल्ट घर सुनसान भएपछि छिमेकी र प्रहरी पुग्दा सुनकुमारीको रगताम्मे शरीर भेटिएपछि प्रहरीले नै घर्तीगाउँस्थित स्वास्थ्यकेन्द्र पुर्‍याएको हो, त्यहाँ उपचार हुन नसकेपछि एम्बुलेन्सको व्यवस्था गरी भैरहवासम्म हामीले नै पठाएका हौं,' डिएसपी घर्तीले भने।

आर्थिक अभाव भएकी विपन्न परिवारकी सुनकुमारीको उपचारका लागि २५ हजार रुपैयाँ प्रहरीले नै व्यवस्था गरेको घर्तीले जानकारी दिए। भैरहवा ल्याइएपछि आर्थिक अभावकै कारण उनको उपचार राम्ररी  हुन सकेन। गम्भीर घाइते सुनकुमारीको उपचार गर्न मेडिकल कलेजले पनि गम्भीरता देखाएन, आइसियुमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई सामान्य वार्डमा राखियो। २२ दिनसम्म सामान्य वार्डमा राखेर उपचार गरेको अस्पतालले उपचारमा पत्रकारको संस्था लुम्बिनी प्रेस क्लबले चासो देखाएपछि बल्ल आइसियुमा राखेर उपचार गरेको थियो।

‘सुरुमै आइसियुमा राखेर उपचार गरेको भए सम्भवतः उनलाई बचाउन सकिन्थ्यो, ढिलो आइसियुमा राखियो, यसमा अस्पतालको कमजोरी देखिन्छ,' क्लबका महासचिव नरेश केसीले भने। आमाको उपचार गर्न पैसा नभएपछि कुरुवा बसेकी १३ वर्षीया छोरी अनिता नेपाली अस्पताल छाडेर हिँडेकी थिइन्। कयौं दिन भोकभोकै अस्पतालमा बस्नुपर्ने बाध्यता भएपछि उनी आफन्तको घर खोज्दै बुटवल पुगेकी  थिइन्। प्रहरीले खोजेर अस्पतालमा कुरुवा राखेको थियो।

घरेलु  हिंसामा परेकी एक महिला पैसा अभावमा अस्पतालमा राम्रो उपचार नपाएको बारे स्थानीय प्रशासन बेखबरजस्तै थियो। सञ्चार माध्यममा समाचार आएपछि र प्रेस क्लबले उपचारका लागि सहयोग संकलन गर्न थालेपछि स्थानीय प्रशासन र अस्पताल प्रशासनले उपचारका लागि चासो दिएको थियो।

पछिल्लोपल्ट उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले उपचारका लागि सहयोग संकलन गरेका थिए। फेसबुकमार्फत र शुभेच्छुकबाट संकलन गरेको तीन लाख रुपैयाँ बोकेर शनिबार बिहान उनी काठमाडौंबाट भैरहवा पुगेका थिए। साँझ अस्पतालले मृत घोषणा गरेको थियो।

‘घरेलु हिंसामा परेकी महिलालाई बचाउन सकिन्छ कि भनेर केही पैसा बोकेर आएको थिएँ, बचाउन सकिएन,' दिपेशले नागरिकलाई भने। दाहसंस्कार लगायतका काम व्यवस्थापन गर्न उनी भैरहवामै छन्। रोल्पाबाट दाजुभाइ खलक आएपछि सोमबार सुनकुमारीको दाहसंस्कार हुनेछ।

सुनकुमारीलाई निर्घात कुट्ने पति धु्रव र बहिनी जालालाई प्रहरीले घटनाको भोलिपल्टै गाउँनजिकैबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। ‘घटनाबारे सबै विवरण नियन्त्रणमा लिएको पाँच दिनमा खुलेको हो,' डिएसपी घर्तीले भने। अहिले दुवै जना पुर्पक्षका लागि थुनामा गइसकेको घर्तीले जानकारी दिए।

अस्पतालले भने प्रहरी प्रशासनले समयमै आवश्यक समन्वय नगर्दा सुनकुमारीको मृत्यु भएको बताएको छ। 'धेरै समय अलमल भयो, प्रहरी प्रशासनले बेलैमा उपचार समन्वय गरेको भए बचाउन सकिन्थ्यो होला,' प्रशासन संयोजक तेज केसीले नागरिकसँग भने।

प्रकाशित: २९ कार्तिक २०७३ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App