१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

चित्लाङमा पटकथा लेखन कार्यशाला, बलिउड र हलिउडकर्मी सहभागी

काठमाडौं- बुुधबारबाट मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा पटकथा लेखन कार्यशाला सुरु भएको छ। पटकथा सिकाउन बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान चित्लाङ आइपुगेका छन्।

चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको कार्यशालाको उद्घाटन प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए। मन्त्री जम्कट्टेलले कार्यशाला आयोजनाको प्रशंसा गर्दै राज्यले नेपाली फिल्मका लागि आवश्यक लगानी र महत्व नदिएको स्वीकार गरे।

‘फिल्म समाजको प्रतिबिम्ब हो, यसले सांस्कृतिक संरक्षणमा मद्दत पु-याउँछ,’ उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘तर, यसका लागि राज्यले जति ध्यान दिनुपर्ने हो त्यति नदिएको गुनासो सुन्ने गरिन्छ। हामी यो गुनासो सम्बोधन गर्न सकरात्मक छौं। त्यसैले दोलखामा फिल्म सिटी बनाउने कार्यलाई पनि तिब्रता दिने तर्खरमा छौं।’

त्यस्तै वरिष्ठ अभिनेता निर शाहले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता वर्कशपले सहयोग पु-याउने बताए। 

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्मको पटकथा सुधारका लागि यो वकर्शपले भूमिका खेल्ने आशा व्यक्त गरे।

कार्यशालामा सहभागी प्रशिक्षक भट्टले ७० बढी बलिउड फिल्म लेखेका छन्। उनले हिट हिन्दी फिल्महरु ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि लेखेका हुन्। त्यस्तै जेफ भने अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीमा पढाउँछन्। । ‘नेपाल आउने रहर पहिला देखि नै थियो। आफ्नो लेखनयात्रा नेपालका लेखकसँग बाँड्न पाउँदा म साँच्चिकै उत्साहित छु,’ प्रशिक्षक भट्टले भने।

जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका शैली, अभ्यास र व्याकरण सिकाउँदै छन्।

आयोजक एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला आयोजना गरेको बताए।

कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइएको छ। उत्कृष्ट हुने पटकथालाई छोटो फिल्म बनाउनका लागि १ लाख नगद उपलब्ध गराउने अध्यक्ष पाठकले बताए। कार्यशाला भदौ १० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ४ भाद्र २०७६ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App