२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कृषि बालीमा फौजी कीराको प्रकोप

रामेछाप – जिल्लाको खाँडादेवी गाउँपालिका–३ को भीरपानीको लाक्पा र डब्खाआसपासको क्षेत्रमा एक्कासि फौजी कीराको प्रकोप बढेपछि बालीनाली नष्ट भएको छ। बारीमा एक्कासि देखापरेको फौजी कीराको प्रकोपले बाली नै नष्ट भएपछि किसानहरू चिन्तित बनेका छन्। उनीहरूले कीरा नियन्त्रणका लागि विभिन्न निकायमा हारगुहार गरेका छन्। 

फौजी कीराको प्रकोपबाट त्यस क्षेत्रका अधिकांश बाली सखाप भएका छन्। मकैलगायतका अन्य खाद्यबाली र डालेघाँससमेत फौजी कीराका कारण नासिएको स्थानीयले बताए। एक लटका बाली नष्ट भएपछि किसान अर्को बाली लगाउने तयारीमा जुटेका छन्। तर पनि, फौजीको प्रकोप रहिरहे अवस्था उस्तै हुने डरले कीरा नियन्त्रण गरिदिन स्थानीयले माग गरेका छन्।

कतिपयले थाहा नै नपाई कीराले मकै खाएपछि पुनः दोहो-याएर मकै छरेका थिए। पछि सबैकोमा फैलिएपछि कीराको प्रकोप नै रहेछ भन्ने थाहा भयो। पछि छरेको मकैको समेत अवस्था उस्तै रहेको स्थानीय दुर्गा माझीले बताए। बालीमा लाग्ने गवरा रोगजस्तो कीराले भित्रभित्रै गुबो खाने गरेको किसानहरू बताउँछन्। कीरा नियन्त्रणका लागि किसान आफैंले विषादी किनेर छर्दा पनि कुनै नियन्त्रण हुन नसकेको र झनै बढ्दै गएको उनीहरूको भनाइ छ।

कीराको प्रकोपका बारेमा पालिकामा समेत किसानहरूले जानकारी गराएको र नियन्त्रणका लागि अनुरोध गरेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तमाङले जानकारी दिए। तामाङले उक्त कीरा परीक्षण गरेर हेर्दा अमेरिकन फौजी कीरा भन्ने पहिचान भएको बताए। कीरा नियन्त्रणका लागि पालिकामा सम्भव नभएपछि कृषि अनुसन्धान परिषद्बाट आएको औषधिसहितको प्राविधिक टोलीले सम्बन्धित क्षेत्रमा विषादी छर्ने काममा लागेको तामाङले जानकारी दिए।

तर, प्राविधिक आएर विषादी छर्ने काम गरे पनि पूर्णरूपमा नियन्त्रणमा आउन सक्ने अवस्था नभएको स्थानीय झनक श्रेष्ठले जानकारी दिए। उनले कीराले बाली पूर्णरूपमा नष्ट गरिदिएपछि सबै चिन्तित बनेको बताए।

यता कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख दिनेश आचार्यले कीरा नियन्त्रणका लागि आवश्यकता हेरी विषादी वितरण गर्ने बताए। अचार्यले सम्पूर्ण कीरा नष्ट गर्न निकै कठिन रहने समेत जानकारी दिए। उनले अघिल्ला वर्षहरूमा भारतमा देखापरेको यस किसिमको प्रकोप पछिल्लो समय नेपालका विभिन्न जिल्लामा बाक्लै देखिन थालेको बताए।

एक गाउँ एक प्राविधिकका रूपमा  काम गर्दै आएकी कमला सुनुवारले कीरा नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग गरेर विषादी छर्कनुपर्ने अवस्थासमेत आउन सक्ने बताइन्। उक्त फौजी कीरा एक सय मिटर परसम्म उडेर जाने र रातको समयमा बालीनाली खाने भएकाले नियन्त्रणमा समस्या देखिएको गाउँपालिका अध्यक्ष तमाङले बताए।

प्रकाशित: ४ भाद्र २०७६ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App